पर्वत । पर्वतको मोदी गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्रको रूपमा रहेको भमरकोटसम्म पुग्न पदमार्ग निर्माण गर्न थालिएको छ । जिल्लाकै उच्च स्थानमा रहेको, वनक्षेत्र सहित समथर र भिरालो घाँसे मैदानसहित रहेको भमरकोट विभिन्न ठाउँ नियाल्न सकिने भएकाले पर्यटकीय क्षेत्रको रूपमा रहेको छ । पर्यटकीय सम्भावना बोकेको ठाउँमा पदमार्गबाट पर्यटक आकर्षण गर्न करिब ६ किलोमिटर लामो पदमार्ग निर्माण शुरू गरिएको हो ।
मोदी गाउँपालिकाको केन्द्र रहेको पातीचौरबाट शुरू हुने पदमार्ग देउपुरकोट हुँदै भमरकोटसम्म पुग्नेछ । पदमार्ग निर्माणको बिहीवार संविधानसभा सदस्य तथा नेकपा एमालेकी केन्द्रीय सदस्य कल्पना चापागाईंले शिलान्यास गरेकी छिन् । उनले आफ्नो तर्फबाट एउटा चौतारी निर्माण गर्ने र पाँचओटा ‘श्री’ लेखाउने उद्घोष गरेकी छिन् । निर्माण समितिका अनुसार एउटा चौतारी निर्माणका लागि ४० हजार रुपैयाँ लगानी हुनेछ ।
मोदी गाउँपालिका–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार पदमार्गको दुवैपट्टिको भागमा फूल लगाइनेछ भने छेउको भागमा रेलिङ राखिनेछ । आवश्यक ठाउँमा बर र पिपलका १०८ ओटा एकै खालका चौतारा समेत निर्माण गरिनेछ । ठाउँठाउँमा खानेपानीका धारा राखिनेछ । पदमार्गीहरु हिँडेरहेको बेला वर्षा भएमा समस्या हुने भएकाले पदमार्गको केही ठाउँमा ओत बस्न एकतले पक्की संरचना निर्माण गरिने बताइएको छ ।
अहिलेसम्म ३२२ ओटा सिढीका लागि सहयोगदाताले प्रतिबद्धता व्यक्त गरेका छन भने आठओटा चौतारीको निर्माण प्रतिबद्धता आएको छ ।
पदमार्ग निर्माणको लागि संबिधानसभा सदस्य चापागाईंको पहलमा ७ लाख रुपैयाँ विनियोजन भएको थियो । थप रकम जुटाउन अभियान थालिएको छ । पदमार्गको डिजाइनको काम चलिरहेकाले कुल लागत यकिन नभएको वडाध्यक्ष तिमिल्सिनाले बताए ।