ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजमार्गका सडकमा ‘एनिमल कोरिडोर’ : डाटा बैंक र अध्ययन नहुँदा निर्माणमा ढिलासुस्ती

२०७८ माघ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । आइतवार चितवन राष्ट्रिय निकुञ्जको बरण्डाभार वन क्षेत्रमा निर्माणाधीन सडकको नालीको खाडलमा परेर दुर्लभ एकसिंगे गैंडा मरेको छ । सडक निर्माण गर्दा र त्यसका सहायक संरचना बनाउँदा जंगल तथा निकुञ्ज आसपास हुँदै जाने राजमार्ग तथा सडकमा हिँड्ने तथा घिस्रने जनावरका लागि एनिमल कोरिडोर बनाउनुपर्ने विषयलाई यसले चर्चामा ल्याएको छ

सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल पहिला सडक सवारीसाधनलाई मात्रै भन्ने रहेकोमा अहिले वन्यजन्तुलगायत अरूलाई पनि असर नगर्ने गरी निर्माणको अवधारणा आएको बताउँछन् । पहिलोपटक नारायणगढ–मुग्लिन सडक विस्तार गर्दा चार स्थानमा एनिमल पास भनेर ससाना कल्भर्टहरू बनाइएको थियो । त्यहाँ क्यामेराहरू पनि राखेर जनावरहरू कत्तिको हिँड्छन् भन्ने विषयलाई पनि हेरिएको थियो ।

‘एनिमल पास वे पहिला सरोकारकै विषय थिएन,’ नेपालले भने, ‘केही समयदेखि भने एनिमल पास वे तथा एनिमल कोरिडोरहरूको अध्ययन र बनाउनुपर्छ भन्ने अवधारणा आएको छ ।’

अहिले एनिमल कोरिडोर बनाउने भन्ने विषय अघि आए पनि मुख्य समस्या भनेको तथ्यांककै भएको उनको भनाइ छ । जनावरहरू एउटै कोरिडोर र कुन सिजनमा हिँड्छन् भन्ने विषयमा नै अध्ययन भइसकेको छैन । पहिला राजमार्ग तथा सडक बनाउँदा सीधै जंगलबाट लगिएको तर अहिले आएर जंगलको खण्डीकरण हुँदा वन्यजन्तुको वासस्थानमा कमी आएको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा यो अवधारणा आएको भए पनि तथ्यांक नै नहुँदा कुन स्थानमा कसरी संरचना बनाउने भन्ने विषय नै अन्योल छ । सडक विभागको मुख्य काम नभए पनि निकुञ्ज तथा आरक्ष कार्यालयहरूले समन्वय गरेमा एनिमल कोरिडोरहरू बनाउन सकिने विभागको भनाइ छ ।

बुटवल–नारायणगढको गैंडाकोट, पथलैया–ढल्केबर–कमला सडक विस्तारमा पनि एनिमल पास वेजस्ता संरचना बनाउने योजना रहेको नेपालले बताए । ‘तर, कुन समयमा, कुन बिन्दु भएर वन्यजन्तुहरू वारपार गर्छन् भन्ने प्रभावकारी तथ्यांक नै छैन,’ उनले भने । अहिले सडक इन्जिनीयर, परामर्शदातालगायतलाई निकुञ्ज तथा जंगलको बाटो हुँदै जाने सडकमा एनिमल क्रशिङ तथा कोरिडोरहरू बनाउन आवश्यक रहेछ भन्ने सोच आइसकेको उनले बताए ।

विश्व बैंकको सहयोगमा बन्ने पथलैया–ढल्केवर सडक विस्तार पर्सा राष्ट्रिय निकुञ्ज (बारा/पर्सा)मा पर्ने हुँदा यहाँ पनि यो विषय उठेको छ । उक्त क्षेत्र संवेदनशील रहेको हुँदा यहाँ एनिमल कोरिडोरहरू बढी आवश्यक देखिएको भन्दै उनले अहिले डिजाइनको चरणमा रहेकाले त्यसमा यकिन तथ्य उल्लेख हुने बताए ।

अहिले नेपालमा बाघ, हात्ती हिँड्ने स्थानका विषयमा केही अध्ययन भए पनि अन्य जनवारका सम्बन्धमा भने अध्ययन भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कुनकुन सडकले वन्यजन्तुको मुभमेन्टमा असर गरेको छ ? कुनकुन सिजनमा समस्या पार्छ भन्ने तथ्यांक दिएमा सडक विभागले सहयोग गर्ने र त्यस्ता खालका संरचना बनाउनमा सहकार्य हुने उनको भनाइ छ ।

‘विभागले अनुरोध गर्नुपर्छ, खाली ईआईए गर्दा मात्रै होइन कि उहाँहरूले शुरूमै यस्ता कुरा शेयर गरे वन्यजन्तुहरूलाई दुर्घटनाबाट बचाउन सकिन्छ,’ उनले भने, ‘सडक निर्माण तथा विस्तार गर्नुपूर्व गरिने प्रारम्भिक वातावरण परीक्षण (आईई) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्दाखेरी नै वनबाट नै स्वीकृति लिनुपर्छ, त्यति बेला वनले यी स्थानमा कोरिडोर आवश्यक छ भने योजना डिजाइन गर्दा नै ती विषयलाई राख्न सकिन्छ ।’

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख हरिभद्र आचार्यले गैंडा दुर्घटना भएको स्थानमा सडक डिभिजनले निकुञ्ज तथा वनसँग समन्वय नै नगरेको बताए ।
सडक विस्तारका क्रममा कस्तो संरचना निर्माण गर्ने कसरी गर्ने भन्ने विषयमा पनि समन्वय नभएको उनको भनाइ छ । केही स्थानहरूमा एनिमल पास वेको अभ्यास र अन्य स्थानहरूमा पनि भर्खर अध्ययन शुरू भइरहेको जानकारी दिए । मुग्लिन–नारायणगढ सडकखण्डको रामनगर क्षेत्रका दुईओटा बिन्दुमा अन्डरपास शुरू भइसकेको छ । यद्यपि एनिमल पास वेको मापदण्ड भने पूरा हुन नसकेको उनको तर्क छ । यसैगरी विस्तार हुँदै गरेको नारायणगढ–बुटवल सडक खण्डमा पनि वन्यजन्तु सडक वारपार गर्नका लागि अन्डरपास बनाउने तयारी भएको छ ।

‘राजमार्गका सडक तथा अन्य सहायक सडकहरूमा विविध कारणले वन्यजन्तुहरू मर्ने गरेका र दुर्घटनाहरू बढिरहेका छन्,’ आचार्यले भने, ‘निकुञ्ज हुँदै जाने बाटोहरूमा वन्यजन्तुहरू दुर्घटनामा पर्ने समस्या छ, भने अहिले केही स्थानमा अभ्यास गरिएका अन्डरपास तथा एनिमल पास वेहरू त्यति धेरै प्रभावकारी छैनन् ।’

वन्यजन्तुहरू वारपार गर्ने अन्डरपास वेहरू फराकिलो हुनुपर्नेमा अहिलेसम्म बनेका पास वेहरू साँघुरा रहेको उनको भनाइ छ । ‘विकास निर्माण गर्ने जति पनि संस्थाहरू छन्, उनीहरूले आयोजनाहरू बनाउने शुरूकै चरणमा समन्वय र विशेष ध्यान दिन जरुरी छ,’ उनले भने, ‘खासगरी सडक, सिँचाइ, जलविद्युत्, रेल, प्रसारणलाइनजस्ता आयोजनाहरूकोे संरचना बनाउँदा शुरूकै चरणमा समन्वय गर्नुपर्छ ।’

संवेदनशील क्षेत्रमा वन्यजन्तुहरूका लागि उपयुक्त संरचना विकास हुनुपर्नेमा जोड दिइएको छ । बाघ, गैंडा, चित्तल, जरायो, घस्रिने प्रजातिका जीवहरू बढी दुर्घटनामा पर्ने गरेको उनले बताए । चितवन, बाँके, बर्दिया पर्सा, शुल्काफाँटजस्ता निकुञ्ज तथा आरक्ष क्षेत्रमा सडक तथा राजमार्गहरू छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)