ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालको जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४८०

जनसंख्या वृद्धिदर घट्यो

२०७८ माघ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यो संख्या १० वर्षअगाडि गरिएको गणनाभन्दा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । १० वर्षअघि २०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षको सरदर जनसंख्या वृद्धिदर वार्षिक शून्य दशमलव ९३ प्रतिशत देखिएको छ । १० वर्षअघि गरिएको जनगणनामा यस्तो वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो ।

१९८७ सालपछि जनसंख्याको वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम भएको यो पहिलोपटक हो । १९७८ र १९८८ सालमा भने जनसंख्याको वार्षिक वृद्धिदर नै नकारात्मक भएको थियो । २०२८ देखि २०६८ सालसम्म हरेक वर्ष औसतमा जनसंख्याको वार्षिक वृद्धिदर २ प्रतिशतभन्दा धेरै रहेको देखिन्छ ।

अहिले गरिएको जनगणनाअनुसार कुल जनसंख्यामा १ करोड ४९ लाख १ हजार १६९ जना महिला र १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष रहेका छन् ।

प्रतिशतका आधारमा अंश महिलाको ५१ दशमलव शून्य ४ र पुरुषको ४८ दशमलव ९६ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा पुरुष ४८ दशमलव ५ र महिलाको अंश ५१ दशमलव ५ प्रतिशत थियो । प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोवास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवार ५६ लाख ४३ हजार ९ सय ४५ ओटा घरमा बसेका देखिएको विभागले जानकारी दिएको छ ।

हालको परिवार संख्या १० वर्षअघिको भन्दा करीब २४ दशमलव ५७ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७ सय ५७ ओटा परिवार थप भएको छ । ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा २० लाख १७ हजार रहेको छ ।

सबै भन्दा कम जनसंख्या मनाङमा ५ हजार ६४५ रहेको प्रारम्भिक गणना विभागले सार्वजनिक गरेको छ । ३२ ओटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ ।

नेपालको कुल जनसंख्यामध्ये प्रदेशगत आधारमा मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २ सय ८८ रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ । लैंगिक अनुपातमा सबैभन्दा धेरै मधेश प्रदेशमा १ सय १ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर सातओटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रतिवर्ष १ दशमलव २५ र सबैभन्दा कम गण्डकी प्रदेशमा शून्य दशमलव ३० प्रतिशत रहेको विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ नेपालको बाह्रौं र विसं २०७२ मा जारी भएको नेपालको संविधानपछिको पहिलो जनगणना हो । जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणको कात्तिक २५ देखि २०७८ मङ्सिर ९ सम्म गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)