ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज नाका : आयातमा पेट्रोलियम पदार्थ र सवारीसाधनको वर्चस्व

२०७८ माघ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । आयात निर्यात परिमाणका हिसाबले मुख्य नाका वीरगञ्जबाट पेट्रोलियम पदार्थ र सवारीसाधन अधिक परिमाणमा भित्रिएको देखिएको छ । बितेको ६ महीनामा वीरगञ्ज भन्सार हुँदै आयातित वस्तुको मुख्य सूचीमा यस्ता वस्तुको वर्चस्व रहेको हो ।

भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि पुससम्मको अवधिमा आयातित मुख्य २० वस्तुको अग्रस्थानमा पेट्रोलियम पदार्थ र सवारीसाधन नै परेका छन् । वीरगञ्ज भन्सारले उठाएको राजस्वमा पनि यस्तै वस्तुको योगदान प्रमुख रहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

भन्सारको कुल राजस्वमा पेट्रोलियम पदार्थ र सवारीका साधनको मात्रै करीब ६२ प्रतिशत योगदान देखिन्छ । पेट्रोलियम पदार्थको आयातबाट ३७ दशमलव ४ र सवारीसाधनबाट २४ दशमलव ४ प्रतिशत योगदान रहेको भन्सार प्रमुख पौडेलले जानकारी दिए । वीरगञ्ज भन्सार कार्यालयले ६ महीनामा १ खर्ब ५ अर्ब रुपैयाँ राजस्व उठाएको थियो ।

यो नाकाबाट भित्रिएका मुख्य पाँच वस्तुमा क्रमशः डिजेल, जीप/कार भ्यान, पेट्रोल, मोटरसाइकल र एलपी ग्यास छन् । चालू आव पहिलो अर्धवार्षिक अवधिमा यो नाकाबाट ४४ अर्ब ४१ करोड रुपैयाँबराबरको ६ लाख १४ हजार किलोलिटर डिजेल भित्रिएको छ । यो परिमाण अघिल्लो आव २०७७/७८ को समीक्षा अवधिको तुलनामा २२ प्रतिशत बढी हो ।

आयात सूचीको दोस्रो नम्बरमा परेको जीप/कार र भ्यानको आयात पनि ४३ प्रतिशतले बढेको छ । चालू आवको ६ महीनामै ४ अर्ब ९० करोड रुपैयाँबराबरको ४ हजार २९ ओटा यस्ता साधन भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ ।

तेस्रो स्थानमा रहेको पेट्रोल २ लाख ५ हजार किलोलिटर आयात भएको देखिन्छ । पेट्रोल आयात परिमाणका हिसाबले अघिल्लो २५ प्रतिशत बढी हो । सरकारले विद्युत् खपत बढाएर एलपी ग्यासको आयात घटाउने बताइरहँदा यस्तो आयात पनि १५ प्रतिशतले बढेको छ । बितेको ६ महीनामा १ लाख ३७ हजार मेट्रिकटन एलपी ग्यास भित्रिएको देखिन्छ । वीरगञ्ज नाका पेट्रोलियम पदार्थ भित्रिने मुख्य नाका हो । कुल खपतको करीब आधा परिमाण यही नाकाबाट आउने भन्सार अधिकारीहरू बताउँछन् ।

मुख्य आयात सूचीको चौथो स्थानमा रहेको मोटरसाइकलको आयात भने घटेको छ । यो वर्षको शुरुआती ६ महीनामा मोटरसाइकलको आयातमा ३२ प्रतिशतले कमी आएको छ ।

विगतमा वीरगञ्ज नाकाबाट मोटरसाइकल भित्र्याउने केही आयातकर्ता अहिले भैरहवा भन्सारतिर गएकोले वीरगञ्जबाट आायात घटेको भन्सार अधिकारीहरूको दाबी छ । स्वदेशमै मोटरसाइकल एसेम्बल हुन थालेकाले पनि यस्तो आयात घटेको अनुमान उनीहरूको छ ।  

यो ६ महीनामा अनएसेम्बल्ड मोटरसाइकलको आयात ८१९ प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाउँछ । गत आवको पुससम्ममा ८६८ ओटा यस्ता मोटरसाइकल आयात भएको थियो । अहिले यो संख्या ७ हजार ९७९ पुगिसकेको छ ।

यो नाकाबाट कोइला, मोबिल, हवाई इन्धन, अलकत्रा, फर्नेस आयल, बेस आयललगायत पेट्रोलियम पदार्थ भित्रिएको छ । सवारीसाधनतर्फ ट्रक, बस र डम्पर पनि उल्लेख्य परिमाणमा आयात भएको देखिन्छ । तयारी कपडा र अर्ध प्रशोधित तेल, फलामलगायत औद्योगिक कच्चा पदार्थ यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्ने भन्सारको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)