ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कम्पनीको नाफामा ऐनविपरीत तेस्रोपटक कर

कम्पनीहरूले नै बेवास्ता गर्दा मारमा लगानीकर्ता

२०७८ माघ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । लाभांश आम्दानी (डिभिडेन्ड इनकम) गर्ने कम्पनीहरूले दिने लाभांशमा शेयरधनीहरूले ऐनविपरीत नै तेस्रोपटक कर तिर्दै आएको पाइएको छ । बैंक, इन्भेष्टमेन्ट कम्पनी, हाइड्रो पावर कम्पनीलगायत कम्पनीका शेयरधनीहरू यस्तो मारमा पर्दै आएका हुन् ।

तर, यो विषयमा लगानीकर्ता तथा कम्पनीहरू पनि त्यति जानकार छैनन् । फलस्वरूप शेयर लगानीकर्ता यसको मारमा परेका हुन् ।

नेपालका बैंक, इन्भेष्टमेन्ट कम्पनी र केही हाइड्रोपावर कम्पनीहरूले आफ्नै सहायक कम्पनी तथा अन्य कम्पनीमा शेयर लगानी गर्दै आएका छन् । र, त्यसबाट वर्षेनि लाभांश आम्दानी गरिरहेका छन् । त्यस क्रममा लगानी गरिएको सहायक तथा अन्य कम्पनीले पहिलोपटक आयकर अर्थात् कर्पोरेट ट्याक्स तिर्छन् । त्यसपछि लगानीकर्ता कम्पनीहरूले त्यहाँबाट पाउने लाभांशमा थप ५ प्रतिशत लाभकार तिर्छन् ।

आयकर ऐनअनुसार त्यस्तो आम्दानीमा थप कर भने लाग्दैन । तर, त्यस्ता कम्पनीका शेयरधनीहरूले अप्रत्यक्ष रूपमा त्यस्तो आम्दानीमा पनि लाभकर तिर्दै आएका छन् ।

सम्बन्धी कम्पनीहरूले लाभांशबापत आएको आम्दानीबाट छुट्टै लाभांशको रूपमा डिक्लीयर गरेमा कर लाग्दैन । कम्पनीका शेयरधनीहरूले त्यसबापतको लाभांश विनाकर स्वतः रूपमा लैजान पाउँछन् । तर, कम्पनीहरूले त्यस्तो आम्दानीलाई छुट्टै लाभांशका रूपमा घोषणा गर्ने गरेका छैनन् । त्यस्तो आम्दानी सीधै नाफा नोक्सान खातामा नै समावेश गर्ने गरेका छन् । अर्थात् कम्पनीहरूको त्यस्तो लाभांशलाई पनि कुल लाभांशमा नै जोडर वितरण गर्ने गरेका छन् ।

फलस्वरूप कर नै तिर्न नपर्ने लाभांशमा समेत शेयरधनीहरूले कर तिर्दै आएको जानकारहरू बताउँछन् । यद्यपि, कम्पनीहरूहले त्यस्तो आम्दानीमा कर्पोरेट ट्याक्स भने तिरेका छैनन् ।

धितोबजारसम्बन्धी अध्येता अधिवक्ता ज्योति दाहालले लाभांश आम्दानी गर्ने कम्पनीका लगानीकर्ता साँच्चै दोहोरो करको मारमा परेको बताए । विशेषगरी कम्पनीहरूले नै बेवास्ता गर्दा उनीहरू यस्तो मारमा परेको उनको भनाइ छ ।

‘डिभिडेन्ड इनकम गर्ने कम्पनीहरूले सोही आम्दानी शेयरधनीहरूलाई विनाकर वितरण गर्न सक्छन् । त्यसका लागि कम्पनीहरूले छुट्टै लेखापरिक्षण गर्नुपर्छ,’ उनले भने, ‘तर, कम्पनीहरूले त्यस्तो आम्दानीमा छुट्टै लेखापरीक्षण गरेका छ्र्रैनन् । फलस्वरूप कर नै तिर्ने नपर्ने लाभांशमा समेत शेयर लगानीकर्ताले कर तिनुपरेको छ ।’

कम्पनीहरूले यस विषयमा बेवास्ता गर्दा यस्तो भएको उनको भनाइ छ । ‘यो सरकारको इस्यु नभएर कम्पनीको इस्यु हो ।

कम्पनीहरूले यस विषयमा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘यद्यपि, सरकारले पनि यसमा सहजीकरण आवश्यक हुन सक्छ ।’ लाभांश आम्दानी गर्ने कम्पनीका अधिकारीहरू पनि यस विषयलाई स्वीकार गरेको देखिन्छ । अभियानसँगको कुराकानीमा केही कम्पनीका प्रतिनिधिहरूले लाभांशबापत हुने आम्दानीको छुट्टै लेखापरीक्षण गर्ने नगरेको बताए । फलस्वरूप त्यस्तो आम्दानीमा तेस्रो पटक पनि कर लाग्ने गरेको उनीहरूले स्वीकार गरेका छन् ।

‘त्यस्तो आम्दानीको कर्पोरेट ट्याक्स भने तिर्दैनौं नै । तर, लाभांश भने एकमुष्ट रूपमा नै घोषणा हुने गरेको छ,’ एक कम्पनीका अधिकारीले भने, ‘त्यो क्रममा लाभांशबापत हुने आम्दानीबाट दिइने लाभांशमा पनि लाभकर लाग्ने गरेको छ ।’ त्यस्तो आम्दानीको छुट्टै लेखापरीक्षण गर्न सकेमा यस्तो समस्या नहुने कम्पनीहरूको भनाइ छ । अब यस विषयलाई ध्यान दिइने केही कम्पनीका अधिकारीहरूको प्रतिबद्धता रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)