काठमाडौं । आयातमा कडाइ गर्दा पनि विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ । आयातकै कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले केही वस्तुको आयात गर्न प्रतीतपत्र खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । तर पनि विदेशी मुद्रा सञ्चिति घट्ने क्रम भने रोकिएको छैन ।
नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आवको पुस मसान्तसम्म अर्थात् ६ महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार पुसमा थप १४ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चिति घटेको छ ।
गत मङ्सिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १० अर्ब ३ करोड डलर रहेको थियो, पुस मसान्तसम्म आउँदा त्यो घटेर ९ अर्ब ८९ करोड डलरमा सीमित भएको छ । उक्त विदेशी मुद्राले ६ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले पुसको पहिलो सातादेखि नै चाँदी, सवारीसाधनजस्ता विलासी वस्तुको आयात गर्ने प्रयोजनका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । त्यसपछि त्यस्ता वस्तुको आयातमा कमी त आएको छ । तर, विदेशी मुद्रा सञ्चिति घट्ने क्रम भने नियन्त्रणमा नआएको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पुष्टि गरेको छ ।
पछिल्लो ६ महीनामा मात्र विदेशी विनिमय सञ्चिति झन्डै १६ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ११ अर्ब ७५ करोड डलर रहेको थियो । पुस मसान्तसम्म त्यो १ अर्ब ८६ करोड डलरले घटेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘विदेशी मुद्रा घटेको विषयमा आत्तिनै हाल्नुपर्ने अवस्था होइन । किनकि ६/७ महीनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चितिलाई राम्रै मानिन्छ ।’
पुस मसान्तसम्म आउँदा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) मा भने कमी आएको छ । गत मङ्सिरमा ५ वर्षयताकै उच्च विन्दु ७ दशमलव ११ प्रतिशतमा पुगेको मूल्यवृद्धि पुसमा भने ५ दशमलव ६५ प्रतिशतमा झरेको छ । पछिल्लो १ महीनामै मूल्यृवद्धि १ दशमलव ४६ प्रतिशत विन्दुले घटेको देखिन्छ । पुस पनि विप्रेषण घट्ने क्रमले निरन्तरता पाएको छ ।
यसैगरी शोधनान्तर घाटा, चालू खाता घाटा, व्यापारघाटा झन् बढेको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.भट्टले अझै पनि अर्थतन्त्रका मुख्य सूचकहरूमा सुधार नेदेखिएको बताए । आयात नै बढी हँुदा विदेशी सञ्चिति, शोधनान्तर स्थिति झन् बिग्रँदै गएको उनको भनाइ छ ।
पुस मसान्तसम्म आउँदा शोधनान्तर घाटा रू.२ खर्ब ४१ अर्ब २३ करोड पुगेको छ । चालू खाता घाटा पनि बढेर रू.३ खर्ब ५४ अर्ब ७ करोड पुगेको छ । गत मङ्सिर मसान्तसम्म शोधनान्तर घाटा रू. १ खर्ब ९५ अर्ब र चालू खाता घाटा ३ खर्ब रहेको थियो । गत आवको पुस मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा थियो । चालू खाता घाटा पनि ५१ अर्ब ६८ करोड मात्र रहेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव ५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा ४ खर्ब ६८ अर्ब ४५ करोड विप्रेषण आएको तथ्यांकमा देखिन्छ ।
समीक्षा अवधिमा वस्तु व्यापारघाटा ४६ दशमलव ६ प्रतिशतले वृद्धि भई रू.८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ५ दशमलव ८ प्रतिशतले घटेको थियो । यद्यपि अघिल्ला महीनाहरूको तुलनामा व्यापारघाटाको बढ्दो दरमा भने कमी आएको देखिन्छ । समीक्षा अवधिमा वस्तु आयात ५१ दशमलव १ प्रतिशतले बढेर रू.९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । १ खर्ब १८ अर्ब ८५ करोडको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा वस्तु निर्यात ९५ दशमलव ५ प्रतिशतले बढेको छ । चीनतर्फको निर्यात भने १० दशमलव २ प्रतिशत घटेको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी भने ४८ प्रतिशतले वृद्धि भई रू.११ अर्ब ३४ करोड पुगेको छ । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २०७ दशमलव ५ प्रतिशतले वृद्धि भई रू. १० अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू.३ अर्ब ३३ करोड रहेको थियो ।
यस्तै, भम्रण व्यय ९५ दशमलव ८ प्रतिशतले बढेर रू.२९ अर्ब ७२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रू. १७ अर्ब ४८ करोड रहेको छ ।