म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–थासाङ खण्ड फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले कोरिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएकाले फागुन १ गतेदेखि उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको बताए ।
जिल्ला सुरक्षा समितिको निर्णयले आगामी फागुन १ देखि फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ ढकालले जानकारी दिए । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो ।
थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टानको ट्र्याक नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी चौडा गर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात अवरुद्ध हुने भएको उनले जानकारी दिनुभएको छ ।
‘फागुन १ देखि १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर काभ्रे र बादरजुङको कडा चट्टान फुटाउनुपर्ने भएको छ । यो अवधिमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारीसाधन रोकिनेछन्,’ सहायक प्रजिअ ढकालले भने, ‘आवश्यक सहयोगका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरी चौकी घाँसा र तत्कालको सहयोगका लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिनेछ ।’