ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से २७०० मा : कुल बजार पूँजीकरण रू. १ खर्ब ४१ अर्बले घट्यो

२०७८ फागुन, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । फागुन महीनाको पहिलो कारोबार दिन नेपालको धितोपत्र बजारको पूँजीकरण रू. १ खर्ब ४१ अर्ब ८३ करोडले घटेको छ । आइतवार बैंक तथा वित्तीय संस्थाले बढाएको निक्षेपको ब्याजदरका कारण लगानीकर्ता आत्तिएर शेयर विक्री गर्दा बजारमा नकारात्मक असर परेको हो ।

अघिल्लो कारोबार दिन बिहीवार कुल बजार पूँजीकरण रू. ३९ खर्ब ५९ अर्ब ६४ करोड रहेकोमा आइतवार यो रकम रू. ३८ खर्ब १७ अर्ब ८१ करोडमा झरेको हो ।

आइतवार नेप्से परिसूचक ३ दशमलव ५९ प्रतिशत अर्थात् १०० दशमलव ६७ अंकले घटेर २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । गत बिहीवार रू. ३ अर्ब ८२ करोड बराबरको शेयर कारोबार भएकोमा आइतवार कारोबार रकम रू. ५ अर्ब ९७ करोड पुग्यो ।

धितोपत्र बजार र बैंक तथा वित्तीय संस्थाको ब्याजदरका बीच उल्टो सम्बन्ध रहँदै आएको छ । आइतवारदेखि नै लागू हुने गरी बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएका छन् । तर, बजार विश्लेषकहरूले भने ब्याजदर वृद्धिका कारण आइतवार लगानीकर्ता आत्तिनुपर्ने कारण नभएको बताएका छन् । बजार विश्लेषक हेमन्त बस्यालले बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउने कुरा पहिले नै थाहा भइसकेको भए पनि लगानीकर्ता सूचनाको पासोमा परेको टिप्पणी गरेका छन् ।

माघ महीनामा ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरूले लगानीयोग्य पूँजीको अभाब हुँदै जाँदा फागुनमा ब्याजदर बढाउने कुरा लगानीकर्ताले अनुमान गरिसकेका थिए । आइतवार कारोबार रकम बढेकाले सोझा लगानीकर्ता सूचनाको पासोमा परेको उनको भनाइ छ ।

बजार घट्नुको पछाडि ब्याजदर वृद्धि मात्रै नभएर राजनीतिक अस्थिरतासमेत जोडिएको तर्क बस्यालको छ । स्थानीय निर्वाचनको समय नजिकिँदै जाँदा बजारमा तरलता भित्रिने निश्चित रहेको अवस्थामा अहिले बढेको ब्याजदर कायम रहने अवस्था नरहेको उनले बताए ।

चुनावका बेला नेपालमा मात्र होइन, जुनसुकै देशमा बजार उतारचढाव हुने भन्दै यसलाई गम्भीर रूपमा नलिन र बजारमा देखिएको अवसरको सदुपयोग गर्नसमेत विश्लेषक बस्यालले सुझाव दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)