ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३५% नेपालीमा पुग्यो जीवन बीमा

२०७८ फागुन, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशत विन्दुले बढेको देखिएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । गत आवको पुस मसान्तसम्म २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । सावधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् ।

संख्याको आधारमा पछिल्लो १ वर्षमा ३१ लाख ५७ हजार ८६९ जना नेपाली बीमाको दायरामा जोडिएका छन् । गत आवको पुस मसान्तसम्म ७३ लाख ७६ हजार ६६० जना नेपाली बीमाको दायरामा थिए । चालू आवको पुस मसान्तसम्म त्यो संख्या १ करोड ५ लाख ३४ हजार ५२९ पुगेको तथ्यांकमा उल्लेख छ ।

बीमाको पहुँचसम्बन्धी यो तथ्यांक सरकारले लिएको लक्ष्यभन्दा बढी हो । सरकारले चालू आवको असार मसान्तभित्र ३३ दशमलव ३३ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो । तर, पुस मसान्तभित्र नै बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा पुगेको समितिको तथ्यांकले पुष्टि गरेको छ ।

चालू आवको असार मसान्तसम्ममा ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने समितिको अनुमान रहेको छ ।

सम्भावित दोहोरोपन हटाएर त्यस बराबरको जनसंख्यामा बीमाको पहुँच पुगेको समितिको भनाइ छ । एउटै व्यक्तिले पनि २ वा त्यसभन्दा बढी पटक बीमा गरेका पनि हुन्छन् । सोही अवस्थालाई दृष्टिगत गर्दै कुल बीमालेखमा ५ प्रतिशत घटाएर बीमाको गणना गर्ने अन्तरराष्ट्रिय अभ्यास छ । यसैअनुसार बीमाको पहुँच गणना गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

समितिका अनुसार हालसम्म १ करोड १० लाख ४१ हजार ८८ ओटा जीवन बीमालेख जारी भएका छन् । त्यसमा ५ प्रतिशत बीमालेखको संख्या घटाएर यस्तो गणना गरिएको पौडेलको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या (२ करोड ९१ लाख) को आधारमा ३६ प्रतिशतभन्दा बढी नेपालीमा बीमाको पहुँच पुगेको देखिन्छ । तर, जनगणनाको अन्तिम तथ्यांक सार्वजनिक भएपछि मात्रा सोहीअनुसार बीमाको पहुँच गणना गरिने समितिको भनाइ छ ।

नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झन्डै ५ दशक भएको छ । तर, लामो समयसम्म यसको दायरा बढ्न भने सकेको थिएन ।

तर, पछिल्ला ४/५ वर्ष यता भने बीमाको बजारसँगै पहुँच पनि ह्वात्तै बढेको छ । ५ वर्षअघि बीमाको पहुँच ७ प्रतिशत नेपालीमा मात्र पुगेको थियो ।

पछिल्लो समय म्यादी बीमा गर्ने व्यक्तिको संख्या उच्च मात्रामा बढेको छ । पछिल्लो १ वर्षमा यस्तो बीमा गर्ने व्यक्तिको संख्या झन्डै ४५ प्रतिशतले बढेको छ । सावधिक बीमा गर्ने व्यक्तिको संख्या पनि उच्च मात्रामा बढेको छ । फलस्वरूप बीमाको पहुँच पनि उच्च मात्रामा बढेको पौडेलले बताए ।

यसअघि सामूहिक बीमालेखलाई एउटा व्यक्तिको रूपमा गणना गरिएको थियो । तर, त्यसमा २ भन्दा बढी व्यक्तिहरू आबद्ध भएका हुन्थे, जुन बीमाको पहुँच गणना गर्दा समावेश हुने थिएनन् । यसपालि भने सामूहिक बीमालेखमा आबद्ध भएका सबै व्यक्तिलाई नै समावेश गरेर यस्तो गणना गरिएको छ, त्यसकारण पनि बीमाको पहुँच बढेको पौडेल बताउँछन् । आगामी असारसम्म बीमाको पहुँच ४० प्रतिशत जनतामा पुग्ने उनको अनुमान छ । पौडेलले भने, ‘आगामी असारसम्म ४० प्रतिशत जनतामा बीमाको पहुँच पुर्‍याउने गरी काम गर्छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)