ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँदर जान नसक्ने भीरमा आधा अर्ब लगानी : ८०० फिटको उचाईमा स्काई क्याफे सञ्चालन

२०७८ फागुन, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

फागुन ४, काठमाडौं‍ । बागलुङ र पर्वतको सिमानदी कालिगण्कीको खोँचमा एउटा अनौठा क्याफे सञ्चालनमा छ । 

स्काई क्याफे भनेर चिनिने यो क्याफे नदीको गहिराईदेखी साढे ८०० फिटको उचाईंमा अवस्थित छ ।

फलामे डोरीमा झुण्डिएको अनौठो क्याफेको अवधारणा भने सोहि ठाउँमा बञ्जी सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले ल्याएको हो । 

पर्यटन व्यवसायमा लगानी गरिरहेको कम्पनीले बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई साहासिक खेलको हव बनाउने योजना सहित शूरु भएको थियो । 

शरीर नै जिरिङ्ग हुने भीमकाय भीर, जहाँ सजिलै बाँदर पनि जान सक्दैन । तर यहाँका व्यवसायीले भने यहि भीरमा अवसर देखेर आधा अर्ब रुपैयाँ लगानी गरेका छन् ।
अहिले यस स्थानमा रिसोर्ट, क्याफे, बञ्जी, स्वीङ, स्काई साईकिलिङ, पीङ  लगायतका साहसिक खेल र पर्यटकिय व्यवसाय सञ्चालन भएका छन् । 

बञ्जी जम्प, स्वीङ, स्काई साईकिलिङ लगायतका साहासिक खेल सञ्चालन गरेको कम्पनीले हालै मात्रै स्काई क्याफे सञ्चालनमा ल्याएको हो । करीब एक महिनादेखि क्याफे सञ्चालनमा आएपनि यसको आधिकारिक शुभारम्भ भने गरिएको छैन । यस प्रकारको क्याफे नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको हो । 

स्काई साइक्लिङका लागि राखिने फलामे तार सँगसँगै थप फालमे तार राखेर क्याफे सञ्चालन गरिएको छ ।

एउटा टेवल सहित बस्ने बेन्चलाई फलामे तारमा झुण्ड्याइएको छ । फलाममा काठका फ्ल्याक जडान गरेर बेञ्च र टेबल निर्माण गरिएको छ ।  टेबललाई घिर्नीका माध्यमबाट डरलाग्दो भीरमाथी राखेर क्याफेलाई यताउता हिँडाइराखिएको हुन्छ ।
 
ग्रहाकलाई घिर्नीको माध्यमले भीरको मध्ये भागमा पुर्यारउने र त्यसपछि होटलका स्टाफले स्काई साईकिलिङ गर्दै कफी र खाजा सर्भिस गर्ने गरेको द क्लिफका सञ्चालक राजु केसीले बताए । 

यस क्याफेको अनुभव लिन चाहानेहरूले एकमुष्ट ५ हजार रुपैयाँ तिरेपछि  स्काई क्याफेमा बसेर अर्डर अनुसारको खाजा र कफी पनि खान सक्छन् ।  

पूर्ण सुरक्षाको व्यवस्था गरिएको क्याफेमा ग्राहकले यात्रा गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न सक्छन् ।

हाल क्याफेमा दैनिक औसत ५० जनाले स्काई क्याफेको मज्जा लिने गरेको सञ्चालक केसीले अभियानलाई बताए । अहिले शूरूआती चरण भएको र खासै प्रचार प्रसार नगरिएको उनको भनाई छ ।
 
‘हाल सम्म बञ्जी, स्विङ, स्काई साईकिलिङ र रिसोर्टका लागि ४८ करोड रुपैयाँ बढी लगानी भइसकेको छ ।’ केसीले भने, ‘यो स्थानमा धेरै सम्भावना छन्, त्यसैले यहाँ लगानी गरेका छौँ ।’ 

अव द क्लिफले तत्काल लगानी बढाउने भन्दा अन्य व्यवसायी साथीसँग सहकार्य गर्दै प्याकेज ल्याउने योजना बनाएको छ । 

‘भर्खरै केही साथीहरुले जिपलाईन शरु गर्नुभएको छ । यहाँ र्याप्टिङको सम्भावना पनि छ । प्याराग्लाईडिङको कुरा पनि छ । यदि यस्ता खेल शूरू भएमा एकिकृत प्याकेज बनाएर पर्यटन भित्र्याउने योजना छ ।’ केसीले भने ।
 
स्काई क्याफेका लागि मात्रै झण्डै १ करोड रुपैयाँ लगानी  भएको द क्लिफका प्रबन्धक सफल थापाले बताए ।

उनका अनुसार प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क राखिएको छ । तर एक पटकमा दुई जना हुनुपर्ने हुँदा पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ ।
१२० मिटरको लम्बाइका फालमे तारहरू राखेर क्याफे सञ्चालन गरिएको छ ।

अहिले शुरूवात मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउनका लागि अरू विकल्पका वारेमा समेत छलफल भइरहेको सञ्चालक केसीले बताए । 

कोभिडको कारण सुस्ताएको पर्यटन व्यवसायमा विदेशी पर्यटकको चाप कुनै पनि क्षेत्रमा छैन । तर द क्लिफलाई आन्तरिक पर्यटककै कारण व्यवसायमा समस्या भने आएको छैन । 

‘कालिगण्डकी करिडोरसँगै जोडिएको यो कम्पनीले पोखरा आसपासका क्षेत्र र मुक्तिनाथलाई आधार बनाएर पर्यटक आकर्षण बढाउने योजना छ ।’  उनले भने, ‘नेपाली लगायत सार्क मुलुकका पर्यटक अहिले  आईरहनु भएको छ । कोभिड पछि अन्य मुलुकका पर्यटक समेत यस स्थानमा ल्याउन प्रयास गर्छौ ।’  

निषेधाज्ञा भए पनि स्मार्ट लकडाउनका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको र बजार पनि पहिलेको जस्तै ठप्प अवस्थामा नरहेका कारण भिडभाड नहुने गरी साहसिक खेलमा आएका पर्यटकले मनोरञ्जन लिन पाएको कम्पनीको भनाई छ ।
 
रिसोर्ट पनि सञ्चालनमा
यहाँ आउने पर्यटकको सुविधालाई ध्यानमा राखेर द क्लिफले यसै स्थानमा ४० रोपनी क्षेत्रफलमा रिसोर्ट समेत सञ्चालन गरिरहेको छ ।  

२१ वटा टेन्ट रहेको रिसोर्टमा ११ ओटा डिलक्स र १० ओटा स्ट्याण्डर टेन्ट रहेका छन । 

डिलक्स टेन्टको शुल्क प्रति टेन्ट ३ हजार ५०० रुपैयाँ र  स्ट्याण्डर टेन्टको शुल्क प्रति टेन्ट  २ हजार ५०० रुपैयाँ रहेको प्रवन्धक थापाले बताए । 

रिसोटमा विभिन्न प्रकारका खानाका परिकार छन् । तर हाल विदेशी पर्यटक नहुँदा आन्तरिक पर्यटकलाई लक्षित गरि नेपाली खाजा र खानाको व्यवस्था मात्रै भएको पनि उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)