ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जामा तोकिएको सीमाभन्दा कम कर्जा

२०७८ फागुन, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । वाणिज्य बैंकहरूले ऊर्जाक्षेत्रमा तोकिएभन्दा कम अनुपातमा कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुससम्मको तथ्यांकले यस्तो देखाएको हो ।

वाणिज्य बैंकहरूले ऊर्जाक्षेत्रमा कुल कर्जाको न्यूनतम ६ प्रतिशतको अनुपातमा ऋण लगानी गर्नुपर्ने व्यवस्था छ । तर, समीक्षा अवधिसम्म ऊर्जाक्षेत्रमा प्रवाह भएको कर्जाको अंश त्यसभन्दा कम अर्थात् ५ दशमलव ७६ प्रतिशत देखिएको छ ।

राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको थियो । तर, चालू आवको ६ महीना बित्तिसक्दासमेत त्यो व्यवस्था कार्यान्वयन नभएको राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ ।

राष्ट्र बैंकले ऊर्जाक्षेत्रसहित कृषि र एसएमई क्षेत्रलाई  प्राथमिकताको क्षेत्र तोक्दै तोकिएको अनुपातमा न्यूनतम कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसमा कृषि र एसएमई क्षेत्रमा तोकिएको न्यूनतम अनुपात ११ प्रतिशतभन्दा बढी कर्जा प्रवाह भएको छ । तर, ऊर्जामा भने तोकिएको भन्दा पनि कम कर्जा प्रवाह भएको छ ।

२७ वाणिज्य बैंकले पुस मसान्तसम्म कुल रू. ४१ खर्ब ४३ अर्ब ७० करोड कर्जा प्रवाह गरेका छन् । त्यसमा ऊर्जाक्षेत्रतर्फ रू. २ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको देखिन्छ ।

तथ्यांकअनुसार आधाभन्दा बढी अर्थात् १४ वाणिज्य बैंकले ऊर्जाक्षेत्रमा तोकिएभन्दा कम लगानी गरेका छन् । १३ वाणिज्य बैंकले भने ऊर्जाक्षेत्रमा तोकिएभन्दा बढी नै कर्जा लगानी गरेका छन् ।

एनएमबी, नेपाल इन्भेस्टमेन्ट, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम कमर्शियल, सनराइज, ग्लोबल आईएमई, सेञ्चुरी, नेपाल बंगलादेश, लक्ष्मी, एनसीसी, नेपाल बैंक र सिटीजन्स इन्टरनेशनल बैंकले ऊर्जामा तोकिएभन्दा बढी कर्जा लगानी गरेका छन् । तर, त्यसबाहेक अन्य बैंकले भने तोकिएअनुसार कर्जा प्रवाह नगरेको तथ्यांकमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले ऊर्जाक्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह नभएको बताए । ‘कोरोना महामारीका कारण ऊर्जाक्षेत्रमा तोकिएअनुसार कर्जा प्रवाह हुन नसकिएको देखिन्छ । त्यसैले आगामी असार मसान्तसम्म ऊर्जाक्षेत्रमा तोकिएअनुसारको कर्जा प्रवाह गर्न बैंकहरूलाई समय दिएका छौं,’ उनले भने ।

ऊर्जामा पछिल्लो समय बैंकहरूबाट अत्यधिक मात्रामा कर्जा प्रवाह भएको छ । विशेषगरी आयात तथा उपभोग्य क्षेत्रमा बढी कर्जा प्रवाह भएको बताइन्छ । त्यो अवस्थामा ऊर्जाक्षेत्रतर्फको कर्जाको अंश कम गएको भएको पनि बताइन्छ । तर, ऊर्जाक्षेत्रमा पहिलेदेखि नै तोकिएअनुसार कर्जा प्रवाह नभएको विगतको तथ्यांकमा देखिन्छ ।

प्रतिबद्धताको आधारमा तोकिएको कर्जा प्रवाह भइसकेको छ : बैंकहरू
जलविद्युत् जस्ता ऊर्जासम्बन्धी आयोजनाहरूमा बैंकहरूले ऋण लगानी गर्न डराएका थिए । त्यसैले राष्ट्र बैंकले उक्त क्षेत्रमा न्यूनतम ६ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याएको थियो । तर, त्यो अझै कार्यान्वयन हुन नसकेको बैंकहरू स्वीकार्छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले आगामी असार मसान्तभित्र ऊर्जामा तोकिएअनुसार कर्जा लगानी हुने बताए । ‘ऊर्जाक्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह पुर्‍याउन हाइड्रो बोन्डजस्ता उपकरण जारी गर्ने बैंकहरूको तयारी छ । साथै, बैंक बैंकबीच ऊर्जा तथा कृषिसम्बन्धी कर्जा एकआपसमा एक्सचेन्ज गर्ने काम पनि भइरहेको छ,’ उनले भने, ‘समग्रमा असारसम्म तोकिएको अनुपातमा ऊर्जामा कर्जा लगानी हुने आधारहरू तय भइसकेका छन् ।’ स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई, एभरेष्ट बैंकजस्ता विदेशी लगानी भएका बैंकहरूले अन्य बैंकहरूबाट ऊर्जा तथा कृषिसम्बन्धी कर्जाहरू खरीद गरेको जानकारहरू बताउँछन् ।

यस्तै, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले प्रतिबद्धताका आधारमा ऊर्जामा तोकिएको अनुपातमा कर्जा लगानी भइसकेको बताए । तर, नगद कर्जा प्रवाहलाई मात्र गणना गर्नुपर्ने हुँदा त्यसमा चुनौती देखिएको उनको भनाइ छ ।

‘हामीले ऊर्जासम्बन्धी आयोजनाहरूमा एकैपटक एकमुष्ट कर्जा दिने होइन । सम्झौताअनुसार किस्ता किस्तामा कर्जा दिने हो,’ उनले भने, ‘तर, राष्ट्र बैंकले भने सम्झौताभन्दा पनि दिएको कर्जालाई मात्र गणना गर्न भनेको छ । त्यसैले गर्दा ऊर्जामा तोकिएको अनुपातमा कर्जा प्रवाह नभएको देखिएको हो ।’ पछिल्लो समय बैंकहरू ऊर्जा क्षेत्रमा प्राथमिकताका साथ लगानी गरेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)