ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बगरफाँट–बेनी जोड्ने बेलिब्रिज निर्माण गरिँदै

२०७८ फागुन, ८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं २ तथा ३ बगरफाँट र म्याग्दीको सदरमुकाम बेनी जोड्ने बेलिब्रिज निर्माण गरिने भएको छ । बगरफाँट जोड्ने सडक बाढीले बगाएपछि सवारीसाधनमार्फत यात्रा र सामान ढुवानी गर्न आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्न बाध्य हुनुपरेको स्थानीयको गुनासोपछि बेलिब्रिज निर्माण गर्न थालिएको हो । कालीगण्डकीमा आएको बाढीले गत असारमा माटेपानीमा एक सय मिटर सडक कटान गरेर बगाएपछि बेनीदेखि बगरफाँट जोड्ने सडक आठ महीनादेखि अवरुद्ध छ ।

पहाडको फेदीमा बाँध बनाएर सडक बनाउँदा म्याग्दीतर्फ कटान गर्ने र बाढीले सडक बगाएर लगानी खेर जाने भएपछि सडक पुनर्निर्माण भएको छैन । यसअघि पनि वर्षेनि हिउँदमा सडक बनाउने र बर्खामा बाढीले बगाउने गरेको थियो ।

प्राविधिक हिसाबले माटेपानीको भीरमा सडक निर्माण सम्भव नदेखिएपछि कालीपुलदेखि बगरफाँट जोड्ने पक्की मोटरेबल पुल र बेलिब्रिज जडानका लागि पहल गरिएको जलजला गाउँपालिका–३ का वडाध्यक्ष रवि भण्डारीले बताए ।

‘बगरफाँटको यातायात समस्या लिएर म आफै प्रधानमन्त्री कार्यालय र राष्ट्रियसभा अध्यक्षकहाँ पुगेर आएको छ,’ उनले भने ‘प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियरहरूको टोलीले शुक्रवार बेलिब्रिज निर्माण स्थलको सम्भाव्यता अध्ययन गरेको छ ।’

तीन सयभन्दा बढी घरधुरीको बसोबास रहेको जलजला गाउँपालिकाका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटका बासिन्दा म्याग्दी आवत जावत गर्ने कालीपुल जोड्ने झोलुंगे पुल पनि जीर्ण बनेको छ । मानिस झोलुंगे पुलबाट आवत जावत गरे पनि निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भएको बगरफाँटका बासिन्दा राम रकालले बताए ।

‘बेनीबाट बगरफाँट सामान ढुवानी गर्न मल्लाज–बाँसखर्क हुँदै आठ किलोमिटर घुमाउरो सडक प्रयोग गर्दा महँगो भाडा तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘निर्माणाधीन निजी घर र सामुदायिक विकास आयोजनाको लागत बढेको छ ।

यसैबीच, सडक डिभिजन कार्यालय बागलुङका प्रमुख बलिराज मल्ल, इञ्जिनियर विजय शर्मा लगायतको टोलीले बेलिब्रिज राख्ने सम्भावित ठाउँको निरीक्षण गरेको छ । निर्माणस्थलमा जग्गा विवाद नभएको प्रतिबद्धता र प्राविधिक रूपमा उपयुक्त भएमा बजेट व्यवस्थापन गरेर बेलिब्रिज जडानको प्रक्रिया अघि बढाउने डिभिजन मल्लले जानकारी दिए।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)