ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि कर्जा : तोकिएको लगानी पुर्‍याउनै हम्मेहम्मे

२०७८ फागुन, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं । कृषिमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जामध्ये निश्चित प्रतिशत कृषिक्षेत्रमा लगानी गर्न अनिवार्य गरे पनि यो प्रावधान पूरा गर्न बैंकहरूलाई हम्मे परेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जाको १५ प्रतिशत कृषिमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पालना गर्न राष्ट्र बैंकले तालिका बनाएरै लक्ष्य निर्धारण गरिदिएको छ । तर, बैंकहरूले तोकिएको लक्ष्यअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् ।

राष्ट्र बैंकले बैंकहरूलाई कृषिकर्जा १५ प्रतिशत पुर्‍याउन २०८० असार मसान्तसम्मको समय दिएको छ । २०७८ असार मसान्तसम्ममा ११ प्रतिशत, २०७९ असारसम्ममा १३ प्रतिशत पुर्‍याउनुपर्ने गरी लक्ष्य निर्धारण गरेको छ । २०७८ पुस मसान्तसम्म पाँचओटा बैंकको मात्र कृषि कर्जा १३ प्रतिशत नाघेको छ ।

बैंकहरूले २०७८ असारमसान्तमै कृषिकर्जा ११ प्रतिशत पुर्‍याउनुपर्ने भए पनि पुससमान्तसम्ममा १० ओटा बैंकले तोकिएको लगानी गर्न सकेका छैनन् ।

कृषिक्षेत्रमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले कृषिकर्जामा ब्याज अनुदानको व्यवस्था गरेको छ । यस सुविधाअन्तर्गत चालू आवको पुससम्ममा बैंकहरूबाट ५१ हजार ७५६ ग्राहकले ऋण सुविधा लिएका छन् । उनीहरूले १ खर्ब ३६ अर्ब ऋण लिएका छन् । यसैगरी कृषिमा ऋण प्रवाह गर्न नसक्ने बैंकहरूका लागि कृषि ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

ऋणपत्रसमेत विक्री भएन
बैंकहरूको कृषिक्षेत्रको कर्जा प्रवाह बढाउन राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमा कृषि विकास बैंकलाई कृषिको विशेष बैंकका रूपमा अघि बढाउने घोषणा गर्दै कृषि बन्ड जारी गर्न स्वीकृति दिएको थियो ।

राष्ट्र बैंकले कृषि विकास बैंकलाई १८ अर्बको कृषि ऋणपत्र जारी गर्न स्वीकृति दिए पनि १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्र मात्र विक्री भएको बैंकका प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)