ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुधवार र बिहीवार नेपाल–भारत ऊर्जा बैठक

विद्युत् व्यापारमा केन्द्रित हुने सम्भावना

२०७८ फागुन, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जासचिव स्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक फागुन ११ र १२ गते (बुधवार र बिहीवार) हुने भएको छ । भारतको प्रस्तावमा काठमाडौंमा उक्त बैठक हुन लागेको हो ।

पछिल्लोपटक २०७६ असोजमा भारतको बैङलोरमा यस सम्बन्धमा बैठक भएको थियो । प्रत्येक ६/६ महीना बैठक बस्नुपर्ने प्रावधान छ । तर, कोरोना महामारी शुरू भएपछि २०७६ असोजयता बैठक हुन सकेको थिएन ।

कोरोना महामारी भए पनि नेपालले भारतलाई पटकपटक उक्त बैठक आयोजना गर्न आग्रह गर्दै आएको थियो । तर, भारतले कोरोना कारण देखाउँदै बैठक गर्न अनिच्छा देखाउँदै आएको थियो । अहिले कोरोना जोखिम कम हुँदै गएपछि भारतले बैठक आह्वान गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले फागुन ११ र १२ गते ऊर्जासचिव स्तरीय बैठक हुन लागेको बताए ।

बैठकको मिति नजिकिँदै गए पनि बैठकको प्रस्तावको विषयमा भने अझै टुंगो लागेको छैन । मन्त्रालयका एक अधिकारीले बैठकमा पेश हुने प्रस्ताव अझै तयार नभएको बताए ।

‘दुई देशकै सहमतिमा बैठकमा पेश गर्ने एजेन्डा तय हुने हो । हाम्रो तर्फबाट केही प्रस्ताव पठाएका छौं । सम्भवतः सोमवारको बैठकमा प्रस्तावबारे निर्णय हुन्छ,’ उनले भने, ‘हतारमा बैठक आयोजना हुँदा एजेन्डा फाइनल हुन सकेको छैन । सोमवार नेपालको कानून मन्त्रालय, परराष्ट्र मन्त्रालयसहित भारतका सम्बद्ध मन्त्रालयसँग छलफल हुन्छ ।’

बैठकमा नेपालले विद्युत् व्यापार, विद्युत् आदान–प्रदान तथा अन्तरदेशीय प्रसारणलाइनको विषयमा छलफल गर्न खाजेको छ । सोही विषयमा केन्द्रित रहेर नेपालले आफ्नो प्रस्ताव भारत पठाएको स्रोतको भनाइ छ ।

नेपालमा वर्षाको समयमा ५०० मेगावाट बराबरको विद्युत् खेर जान थालेको छ । तर, भारतले भने त्यो विद्युत् किन्ने सुनिश्चित गरेको छैन । त्यसैले नेपालले विद्युत् व्यापारसँगै विद्युत् आदान–प्रदानको विषयलाई मुख्य प्राथमिकताका साथ छलफल गर्न खोजेको छ । साथै, अन्तरदेशीय प्रसारण लाइनको विषयमा पनि छलफल गर्न खोजिएको स्रोतको भनाइ छ ।

भारतले भने उक्त बैठकमा जलविद्युत् आयोजनामा संयुक्त लगानी र विकासबारे छलफल गर्न चाहेको छ । बैठकको पहिलो दिन नेपाल भारत ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्यसमूहको बैठक हुनेछ । त्यसमा दुवै देशका ऊर्जा सहसचिव उपस्थित हुनेछन् । त्यसमा नेपालबाट ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत सहभागी हुनेछन् ।

दोस्रो दिन भने दुवै देशका ऊर्जा सचिवहरूको बैठक हुनेछ । नेपालका ऊर्जा सचिव देवेन्द्र कार्की र भारतीय ऊर्जा सचिव आलोककुमार उक्त बैठकमा उपस्थित हुनेछन् । बैठकले सहसचिव स्तरीय बैठकबाट टुंगो लागेको विषयलाई अन्तिम रूप दिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)