ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्याप्त रेक उपलब्ध गराउन भारतको निर्देशन

२०७८ फागुन, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । नेपालका लागि तेस्रो मुलुकबाट आएका कन्टेनर भारतीय समुद्री बन्दरगाहमा थुप्रिन थालेपछि त्यहाँको सरकारले मातहतका निकायलाई सहजीकरणको निर्देशन दिएको छ । भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) ले भारतीय बन्दरगाहबाट नेपालका लागि कन्टेनर ढुवानी गर्ने सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको हो ।

बोर्डले भारतीय कन्टेनर निगम (कोन्कर), प्रिस्टाइन मेगा लजिस्टिक पार्क र इन्टरनेशनल कार्गो टर्मिनल एन्ड इन्फ्रास्ट्रक्चरलाई गत हप्ता निर्देशन दिएको छ । बोर्डले नेपालका लागि ढुवानी हुने कार्गोका लागि आवश्यक रेल रेक उपलब्ध गराउन भनेको हो ।

नेपाल–भारत रेल सेवा सम्झौता संशोधनपछि कन्टेनर ढुवानीमा निजी कम्पनीको प्रवेशसँगै पारवहन लागत घट्ने अपेक्षा गरिएको थियो । तर, यस्ता सेवा प्रदायकबीच अस्वस्थ प्रतिस्पर्धा बढेपछि यतिबेला स्वदेशी आयातनिर्यात त्यसको मारमा परेको छ ।

गत असार १५ मा रेल सेवा सम्झौता संशोधन भएको थियो । भदौ ३० मा पहिलोपटक भारतीय निजी रेल वीरगञ्ज सुक्खा बन्दरगाहमा आएको थियो । त्यसअघि नेपालका लागि कन्टेनर ढुवानीमा कोन्करको एकाधिकार थियो ।

अहिले भारतीय बन्दगाहबाट कोन्करसहित चारओटा कम्पनीले ढुवानी सेवा दिइरहेका छन् । प्रतिस्पर्धी कम्पनी भित्रिएपछि कोन्करले भाडा र रेल रेक संख्या स्वात्तै घटाएपछि ढुवानी समस्याग्रस्त बनेको हो ।

भारत सरकारको लगानी रहेको कोन्करले रेल भाडा ३० देखि ३५ प्रतिशतसम्म घटाएको थियो । त्यसअघि कोन्करकै हाराहारीमा भाडा तोकेका अन्य निजी कम्पनी पनि भाडा घटाउन बाध्य भए ।

तर, पूर्वाधारमा निजी कम्पनीभन्दा निकै बलियो कोन्करले रेक संख्या पनि घटाइदिएपछि ढुवानी समस्याग्रस्त बन्न पुगेको हो । अहिले पनि तेस्रो मुलुकबाट आउने कन्टेनरमध्ये ९० प्रतिशत ढुवानी कोन्करको हातमा छ ।

प्रतिस्पर्धी निजी कम्पनीको पूर्वाधार कोन्करको तुलनामा निकै कमजोर मानिन्छ । कोन्करले रेक कटौती गर्ने र प्रतिस्पर्धीले आवश्यकताजति उपलब्ध गराउन नसक्दा भारतीय बन्दरगाहमा कन्टेनर थुप्रिएको समाचार आर्थिक अभियान दैनिकले गत माघ २३ गतेको अंकमा प्रकाशित गरेको थियो ।

ढुवानीमा प्रतिस्पर्धा बढेपछि पारवहनले त्यसको लाभ लिने अपेक्षा गरिएको अवस्थामा रेक नपाएर डेढ/दुई महीना बन्दरगाहमै कन्टेनर रोकिने अवस्था आएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलगायत निकायमा पत्राचार पनि गरेका छौं । तर, अहिले पनि समस्याको अपेक्षित निकास छैन,’ गुप्ताले भने । नेपालले समुद्रपार व्यापारमा भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाह प्रयोग गर्दै आएको छ । अहिले रेल रेकको अभावमा ती बन्दरगाहमा कन्टेनर थुप्रिने समस्या बढेर गएको छ ।

केही दिनअघि कोलकातामा भोगेको यस्तो समस्या आयातकर्ताले अहिले विशाखापत्तनममा झेलिरहेको गुनासो संघका सचिवसमेत रहेका आयातकर्ता आशिष लाठले गरे ।

एक महीनाअघि कोलकातामा देखिएको समस्यामा कोन्करका अधिकारीहरूसँग समन्वय गरेर समाधान निकालिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए । नेपालका लागि आउने कुल कन्टेनरमध्ये अधिकांश अंश ढुवानी गर्ने कोन्करले रेक संख्या घटाएपछि समस्या भएको पौडेलको पनि बुझाइ छ ।

नेपालका लागि वर्षमा करीब सवा लाख कन्टेनर मालसामान भित्रिन्छ । अहिले विशाखापत्तनम् बन्दरगाहमा करीब ४ हजार कन्टेनर रोकिएका छन् । कोलकाताको तुलनामा दोब्बर दूरीमा रहेको यो बन्दरगाह अहिले आयातकर्ताको पहिलो रोजाइ बनेको छ ।

दूरी बढी भए पनि ठूला पानीजहाज आउने भएकाले समय र लागत कम पर्दा आयातकर्ता उतै आकर्षित भएका हुन् । तर, अहिले ढुवानी सेवाप्रदायकबीचको तानातानले आयात समस्याग्रस्त बनेको आयातकर्ता प्रदीप केडिया बताउँछन् ।

अन्य कम्पनी प्रतिस्पर्धाका आउनुअघिसम्म बढी नाफामा काम गरिरहेको थियो । निजी कम्पनी भित्रिनुअघि वीरगञ्ज बन्दरगाहसम्मको ढुवानीमा कोन्करले प्रति कन्टेनर भारतीय रुपयाँ (भारू) १२ हजार नाफा कमाउने गरेको थियो ।

प्रतिस्पर्धी कम्पनीलाई दबाबमा राख्न भाडा कटौतीले नाफा पनि खुम्चिएको छ । अहिले प्रति कन्टेर भारू ५ हजारमात्रै नाफा हुने ती कम्पनीहरूले बताएका छन् ।

कोन्करले बढी नाफा हुने भारतकै अन्य क्षेत्रमा रेक पठाएर नेपालका लागि कटौती गरेको हो । ‘पहिला ढुवानीमा हाम्रोमात्र जिम्मेवारी हुँदा जसरी पनि रेक पठाउनुपर्ने बाध्यता थियो । अब हाम्रोमात्रै दायित्व रहेन । त्यसैले अब स्वाभाविक रूपमा जता बढी नाफा हुन्छ, त्यतै रेक दिन्छौं,’ कोन्करका एक उच्च अधिकारीले भने ।

यसअघि कोन्करले नेपालका लागि महीनामा ६५ रेकसम्म उपलब्ध गराएकोमा गत जनवरीमा अन्य कम्पनीसहित कुल संख्या आधामा झरेको थियो । फेब्रुअरी महीनामा आइतवारसम्म तारीखसम्म यो संख्या ३८ पुगेको थियो ।

अहिले चारओटा कम्पनीले कन्टेनर ल्याउँछन् । अन्य निजी कम्पनी नेपालका लागि रेक थप्ने दबाबमा छन् । प्रिस्टाइनले यही महीनामा रेक थपेर १३ ओटा पुर्‍याउने प्रस्टाइन भ्याली ड्राइपोर्टका कार्यकारी निर्देशक बी मोहनले बताए । प्रिस्टाइन मेगा लजिस्टिक पार्कको मुख्य लगानी रहेको प्रिस्टाइन भ्यालीले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको छ

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)