ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रूस–युक्रेन तनावको असर : नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने

२०७८ फागुन, ११  
उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ ।

युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने हो कि भन्ने त्रासमा छन् ।

युक्रेनका कम्पनीहरूलाई चाँडो माल पठाइदिन अनुरोध गर्दा त्यहाँका जहाज कम्पनीहरूले विलम्ब गरिरहेको व्यवसायीहरूले बताएका छन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले एलसी खोलेर सामान मगाइएको तर सम्भावित युद्धका कारण त्यहाँबाट त सामान डिसप्याच नभएकाले चिन्ता थपेको बताए । उनले भने, ‘युद्ध शुरू भइहाल्यो भने त्यहाँको कम्पनीले सामान पठाउँदैन, यहाँका उद्योगहरूको करोडौं रुपैयाँ डुब्न सक्छ ।’

दुवै देशबीच बढ्दो तनावले तोरीको मूल्य प्रतिटन ३० डलर बढेको छ । नेपालमा युक्रेनबोहक अस्ट्रेलियाबाट पनि तोरीको दाना आयात गरिन्छ । युक्रेनमा भएको तनावपछि अस्ट्रेलियाबाट तोरी मगाइएको र माग बढेपछि त्यहाँबाट ढिला ढुवानी हुने देखिएको उद्योगीले बताएका छन् । अस्ट्रेलियामा समेत तोरीको मूल्य प्रतिटन ६० डलर बढेको छ । यसको असर नेपाली बजारमा केही समयपछि नै देखिने उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का उपाध्यक्ष कृष्णकुमार अग्रवाल रसिया र युक्रेन बीचको युद्धको तनावका कारण नेपालका तेल उद्योगहरूले युक्रेनको सट्टा अस्ट्रेलियाबाट तोरी मगाउन थालेकाले कच्चा पदार्थको अभाव नभए पनि बजारमा खानेतेलको मूल्य वृद्धि हुने बताए ।

कोभिड महामारीका कारण तोरी, सूर्यमुखी र भटमासको तेलमा १ वर्षदेखि मूल्य बढेको छ । तोरीको तेलमा लिटर १ सयका दरले बढेको मूल्य थप बढ्ने देखिएको छ । तोरी लिटरको खुद्रा मूल्य अहिले २ सय ८० रुपैयाँ छ । सूर्यमुखी २ सय ३० र भटमासको तेलको मूल्य २ सयको हाराहारीमा छ ।

मोरङ व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवानीले सिपमेन्ट नरोकिएकाले अहिले युक्रेनबाट आउने तोरी, गहुँ र सूर्यमुखीको कच्चा पदार्थ आयात भइरहे पनि केही दिनमा त्यहाँबाट हुने आयात रोकिने बताए ।

उनले भने, ‘युद्ध शुरू भएमा त्यहाँबाट आउने सामानहरू रोकिन्छन् । तर, अस्ट्रेलियालगायत मुलुकबाट आउने भने रोकिँदैन ।’ नेपाली उद्योगहरूलाई कच्चा पदार्थको अभाव नहुने भए पनि मूल्य भने बढ्ने उनले बताए । उनले अहिले नै पहिलेको तुलनामा एक टनमा ३० देखि ६० अमेरिकी डलर मूल्य वृद्धि भएकाले त्यसको असर नेपाली बजारमा पनि पर्ने बताए ।

युद्ध भएमा पेट्रोलियमको समेत मूल्य बढ्ने भएकाले त्यसले ढुवानीको लागत समेत बढ्ने उनको भनाइ छ । युक्रेन र रसिया बीचको युद्धको त्रासले नेपालका बैंकहरूले केही समयदेखि एलसी खोल्न आनकानी गरिरहेका छन् ।

दुई महीनामा अन्तरराष्ट्रिय बजारमा ६० डलर प्रतिटनमा तोरीको मूल्य बढेको नेपाल चामल, दाल, तेल उत्पादक संघका उपाध्यक्ष नरेश राठीले बताए । चन्द्रशिव राइस एन्ड आयल मिल्सका सञ्चालकसमेत रहेका राठी भन्छन्, ‘मैले २ महीनाअघि टनको ७ सय ५५ डलरमा खोलेको एलसीको तोरी अहिले कोलकाता आइपुगेको छ ।

तर, यतिबेला अस्ट्रेलियामा तोरीको मूल्य टनको ८ सय २० डलर पुगिसकेको छ । यही तोरीको मूल्य गतवर्षको माघ महीनामा टनको ५ सय ८० देखि ६ सय डलरसम्म थियो ।’

पूर्वी युक्रेनस्थित पृथक्तावादीहरूको पकड रहेका दुईओटा क्षेत्रलाई रूसले राज्यका रूपमा मान्यता दिएसँगै त्यहाँको सङ्कट थप गहिरिएको हो । ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनी भूमिमा प्रवेश गर्न आदेश दिएका छन् । नेपाल सरकारले युक्रेनमा रहेका नेपालीहरूको विषयमा चासो दिएर उनीहरूको लगत संकलन थालेको छ । यूरोपेली मुलुक र अमेरिकाले रूसी कदमको आलोचना गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)