ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बागमतीमा जनसंख्याभन्दा बढी बीमालेख

बीमा पहुँचमा कर्णाली दोस्रो

२०७८ फागुन, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । अन्य प्रदेशमा बीमाको न्यून सहभागिता भएको अवस्थामा बागमती प्रदेशमा भने जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएको छ ।
 
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ छ । तर, बीमालेख भने त्यो भन्दा बढी अर्थात् ७३ लाख ४३ हजार ७८५ ओटा जारी भएको छ, जुन जनसंख्याको १२० दशमलव ७० प्रतिशत हो । समितिका अनुसार २०७८ माघ मसान्तसम्म बागमतीमा त्यो बराबरको बीमालेख जारी भएको छ । बीमा समितिले पहिलोपटक प्रदेशगत रूपमा बीमालेखको संख्या सार्वजनिक गरेको छ । अभिकर्ता र बीमा कम्पनीहरू राजधानीमा केन्द्रित छन्, यहाँ बसोवास गर्ने केही व्यक्तिहरूले २ पटकभन्दा बढी बीमालेख खरीद गरेका छन् । फलस्वरूप जनसंख्याभन्दा बढी बीमालेख देखिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

अब कम्पनीहरूलाई अन्य प्रदेशमा बीमा गराउन प्रोत्साहन
गरिने उनको भनाइ छ । यस विषयमा बीमा कम्पनीहरूको पनि ध्यान जानुपर्ने उनको भनाइ छ । ‘अन्य प्रदेशमा बीमा सेवाको न्यून पहुँच छ । तर, बागमतीमा भने जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएको देखियो,’ उनले भने, ‘बीमा सेवामा देखिएको प्रदेशगत असन्तुलनमा हाम्रो ध्यान गएको छ ।

अब कम्पनीहरूले पनि ध्यान दिनुपर्‍यो । यस सम्बन्धमा समितिले थप कदम पनि उठाउने छ ।’ बागमतीबाहेकका प्रदेशको तुलनामा कर्णालीमा भने बीमाको पहुँच राम्रो देखिएको छ । त्यहाँ जनसंख्याको २६ प्रतिशतको अनुपातमा बीमालेख जारी भएको छ । १६ लाख ९४ हजार ८८९ जनसंख्या रहेको कर्णालीमा ४ लाख ४२ हजार ६५४ ओटा बीमालेख जारी भएको छ ।

कर्णाली प्रदेशमा बीमाको सबैभन्दा कम व्यवसाय छ । तर, त्यहाँ बीमाको पहुँच भने बढी देखिएको छ ।

यता मधेश प्रदेशमा भने सबैभन्दा कम बीमा पहुँच देखिएको छ । यहाँ जनसंख्याको ९ प्रतिशतको अनुपातमा मात्र बीमा भएको छ । ६१ लाख २६ हजार २८८ जनसंख्या रहेको मधेशमा ५ लाख ६३ हजार १८ ओटा बीमालेख जारी भएको छ ।

तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालभर १ करोड १० लाख ८६ हजारओटा बीमालेख जारी भएको छ । त्यसमा प्रदेश १ मा ९ लाख ६२ हजार, मधेश प्रदेशमा ५ लाख ६३ हजार, बागमतीमा ७३ लाख ४३ हजार, गण्डकीमा ४ लाख ५९ हजार, लुम्बिनीमा ८ लाख ३६ हजारओटा बीमालेख जारी भएको छ । यसैगरी कर्णालीमा ४ लाख ४२ हजार ६५४ र सुदूरपश्चिममा ४ लाख ७८ हजारओटा बीमालेख जारी भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)