ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एमसीसी अनुमोदनपछिको पूँजीबजार : जलविद्युतका लगानीकर्ताले धेरै गुमाए

२०७८ फागुन, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित भएपछि जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक प्रभाव पर्ने आशाविपरीत सोमवारको कारोबारमा जलविद्युत् समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जलविद्युत् समूहको सर्वाधिक ३ दशमलव  शून्य ९ प्रतिशत घट्यो । यस दिन सर्वाधिक मूल्य घट्ने १० कम्पनीमध्ये नौ कम्पनी जलविद्युत् समूहका नै रहे । तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले घट्यो ।

समूहगत रूपमा सर्वाधिक रकमको कारोबार हुनेमा पनि जलविद्युत् समूहअन्तर्गतकै कम्पनीहरू रहे । अपि पावर सर्वाधिक रकमको कारोबार हुनेमा पहिलो छ भने अरुणभ्याली हाइड्रोपावर दोस्रो नम्बरमा छ । अपि पावरको १६ करोड ९ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुणभ्याली हाइड्रोको १४ करोड ९४ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जलविद्युत् समूहअन्तर्गतका ४५ सूचीकृत कम्पनीको १ अर्ब ६२ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको ३४ लाख ४ हजार ३१३ कित्ता शेयर कारोबार भएको छ । जलविद्युत् समूहको कुल कारोबारमा ४४ दशमलव २९ प्रतिशत अंश रहेको छ ।

फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन भएको एमसीसी सम्झौताबाट आगामी ५ वर्षभित्रमा विद्युत् प्रसारण लाइन र सडक निर्माण गर्ने कार्यक्रम छ । नेपालले एमसीसीमार्फत प्राप्त गर्ने अनुदानमध्ये करीब ४५ अर्ब रुपैयाँ विद्युत्को अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च हुने मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले जानकारी दिएको छ । एमसीसी सम्झौताअन्तर्गतको अधिकांश अनुदान विद्युत् क्षेत्रमै लगानी हुने भएकाले यसले जलविद्युत् क्षेत्रका कम्पनीहरूको शेयरमूल्यमा सकारात्मक प्रभाव पर्ने अनुमान लगानीकर्ताले गरेका थिए ।

पछिल्लो समय सर्वाधिक कारोबार हुँदै आएको जलविद्युत् समूहका कम्पनीहरूको शेयरमूल्य एमसीसी पारितपछि बढ्दा यसले समग्र बजार नै माथि लैजाने अनुमान विश्लेषकहरूको थियो ।

शेयर लगानीकर्ता एवम् नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले एमसीसी पारित भए पनि लगानीकर्ता उत्साहित हुन नसक्नुको पछाडि यसअघिका नीतिगत परिवर्तन रहेको बताए । एमसीसी र यसले बजारमा पार्ने प्रभावका विषयमा धेरैजसो लगानीकर्ता अन्योलमै रहेकाले बजार सकारात्मक बन्न नसकेको उनको प्रतिक्रिया छ । मौद्रिक नीतिको समीक्षा, बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य पूँजीको अभाव र ब्याजदर बढेका कारण उदास बनेका लगानीकर्ता एमसीसी पारित भएपछि पनि उत्साहित बन्न नसकेको रौनियारको विश्लेषण छ ।

अर्का शेयर लगानीकर्ता केशव कोइरालाले एमसीसी सम्झौतासँग जलविद्युत् कम्पनीको शेयर कारोबारलाई जोड्न नहुने बताउँछन् । केही समयदेखि एमसीसी सम्झौतालाई जोडेर जलविद्युत् कम्पनीको शेयरमूल्य बढाउने काम भएको आरोपसमेत उनले लगाए । पछिल्लो समय कारोबारको सर्वाधिक अंश ओगट्दै आएको जलविद्युत् कम्पनीको शेयर विक्री चाप एकैपटक परेकाले यो समूहका लगानीकर्ताले सर्वाधिक गुमाउन पुगेको कोइरालाको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)