ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनसरी मोरङ औद्योगिक कोरिडोर : माग नहुँदा ४० प्रतिशतसम्म घट्यो उत्पादन

२०७८ फागुन, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगले ‘सिजन’मा पनि ६० प्रतिशतभन्दा बढी क्षमतामा उत्पादन गर्न सकेका छैनन् । सामान्य अवस्थामा चौबीसै घण्टा चल्ने उद्योगहरू अहिले १६ घण्टा मात्र सञ्चालनमा छन् । उद्योगीले दशैं, तिहारपछि औद्योगिक पूर्ण क्षमतामै उत्पादन हुने अपेक्षा गरे आधामै खुम्चनु परेको छ ।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य पवन सारडाले सरकारले पूँजीगत खर्च गर्न नसकेकाले निर्माण सामग्रीको बजारसँगै उत्पादन पनि खुम्चिएको बताए । सरकारले पूँजीगत बजेट खर्च गर्न नसक्दा विकासको काम कम हुने र विकासको काम कम हुँदा रड, सिमेन्ट, इँटा लगायतका उद्योगको उत्पादन घट्ने उनको भनाइ छ । त्यसैले उद्योगहरू ६० प्रतिशतभन्दा कम क्षमतामा चल्नुपरेको बताए ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार सरकारले अपेक्षाकृत पर्याप्त विकास खर्च गर्न नसक्दा फलामे डन्डी, सिमेन्ट, प्लास्टिक पाइप, एंगल, च्यानल लगायत निर्माण सामग्रीका उद्योगले उत्पादन घटाएका छन् । रिजालले आफ्नो उद्योगको ‘रिजालको’ ब्रान्डको पाइपको उत्पादन पनि ३० प्रतिशतले कटौती गरिएको बताए । यही बेला बैंकको किस्ता तिर्नुपर्ने र बैंकले ओभरड्राफ्ट तथा टीआर कर्जा दिन अनुदार नीति अपनाएकाले यसको सीधा असर औद्योगिक उत्पादनमा परेको उनको भनाइ छ ।

उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले सरकारी विकास खर्च हुन नसकेपछि पर्याप्त रोजगारी सृजना नभएको बताए । ‘सोहीकारण सर्वसाधारणले गर्ने किनमेलमा असर परेको छ,’ उनले भने, ‘सर्वसाधारणले न्यूनतम आवश्यकताका वस्तुवाहेक अन्य मालवस्तुको खरीद गर्न छाडेका छन् ।’ हिउँद लागेपछि औद्योगिक उत्पादन ९५ प्रतिशतसम्म पुग्नुपर्नेमा यसपटक फागुन लाग्दासम्म ५० देखि ६० प्रतिशतमा रहेको दाबी राठीले गरे । बजारको माग घटेकाले अहिले उद्योगको उत्पादनमा ह्रास आएको उनले बताए । उनका अनुसार बैंकको ऋण प्रवाहमा समस्या, सरकारी खर्चको अभाव र रेमिट्यान्समा कमीले मालवस्तुको माग घट्दै गएको छ ।

कोरोना संक्रमणको तेस्रो लहरले खाद्यान्नलाई समेत असर पुर्‍याएको उनले बताए । ठूला भोज, वनभोज आदि कार्यक्रम हुन नसक्दा खाद्यान्न, खाद्यवस्तु र खानेतेलले पनि उत्पादन घटाएका छन् ।

नेपाल चामल–दाल–तेल उत्पादक संघका केन्द्रीय उपाध्यक्ष नरेश राठीले संघका अध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा गत हप्ता अर्थसचिव मधुकुमार मरासिनीलाई भेटेर खाद्यवस्तुको उत्पादन बढाउन सरकारले बाटो खोज्नुपर्ने आग्रह गरेको जानकारी दिए । चन्द्रशिव राइस एन्ड आयल मिल्सका सञ्चालक समेत रहेका राठीले भने, ‘हामीले चामल उद्योगको उत्पादन ४० प्रतिशतमा झारेका छौं, तेल उद्योग ६० प्रतिशत क्षमतामा मात्र चलिरहेको छ ।’

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ का उपाध्यक्ष नवलकिशोर काबराले देशमा औद्योगिक मन्दी चलिरहेको चर्चा गरे । चाउचाउ, जुस, बिस्कुट र कन्फेक्सनरी जस्ता खाद्यवस्तुको उत्पादनमा २० देखि ३० प्रतिशतले ह्रास आएको उनले बताए । मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजूले एफएमसीजी सेग्मेन्टका उत्पादनलाई अप्ठ्यारो परिरहेको प्रतिक्रिया दिए ।

उद्योगी जाजूले बैंकमा तरलताको अभाव हुँदा उद्योगीले मागेजति ऋण नपाएको र यसको सीधा असर उत्पादनमा परेको बताए । सीमा क्षेत्रबाट हुने खुला तस्करीले पनि नेपालका एफएमसीजी उद्योगलाई असर पारेको गुनासो उनले गरे । नेउवा महासंघ प्रदेश १ का कोषाध्यक्ष रमेश राठीले उद्योगमा बजारबाट माग नभएको बताए । ‘माग भएर कुनै सामान पठायो, त्यसको भुक्तानी आउँदैन । बैंक ऋण बन्द छ । यस्तोमा उधारोमा सामान पठाउन सकिँदैन,’ उनले भने ।

मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्टका सञ्चालक आशिष गोयलले आफ्नो उद्योगले ६ महीनायता सिमेन्टको उत्पादनमा २० देखि ३० प्रतिशतले कटौती गरेको बताए । त्यस्तै नेपाल अल्ट्राटेक सिमेन्टका सञ्चालक मनीष मारूले पनि उत्पादन आधा घटाइरहेको बताए । औद्यागिक उत्पादन र विक्री घटेसँगै यस्ता वस्तुको ढुवानी व्यवसायमा ४० प्रतिशतभन्दा बढीले ह्रास आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)