काठमाडौं । सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ ।
यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८/७९ (आव) मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको हो । विकसित मुलुकमा सुरुङमार्ग निर्माण कार्यले तीव्रता पाए पनि नेपालमा सुरुङमार्ग निर्माणले गति लिन सकेको छैन । अहिलेसम्म थानकोट–नागढुंगा सुरुङमार्गको मात्र निर्माण कार्य भइरहेको छ । यद्यपि सुरुङमार्ग निर्माण गर्ने आवाज आजको भने होइन । तत्कालीन सरकारले २०७६ मा ११ सुरुङमार्गको अध्ययन गर्ने लक्ष्य राखेको थियो ।
सुरुङमार्ग निर्माणमा उच्च लागत र प्रविधि आवश्यक पर्छ । एक किलोमीटर (किमी) सुरुङमार्ग बनाउन न्यूनतम रू. ३ अर्ब ५० करोड आवश्यक पर्छ । तर, यस्तो निर्माण कार्यले भौतिक पूर्वाधारको विकास मात्र नभई अर्थतन्त्रलाई समेत टेवा पुर्याउने भएकाले निर्माण गर्नुपर्ने अधिकारीहरू बताउँछन् । सडक विभागका प्रवक्ता शिव नेपाल सुरुङमार्गले अर्थतन्त्रलाई टेवा दिने भएकाले तीमध्ये केही जतिसक्दो छिटो निर्माण गर्न आवश्यक रहेको बताउँछन् ।
ट्राफिक व्यवस्थापन सहज बनाउने कोटेश्वर–जडीबुटी, दाउन्ने–बर्दघाट, खुर्काेट–चियाबारी र धरानको लेउती सुरुङमार्ग निर्माणलाई विभागले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । अन्य सुरुङमार्गको पहिचान र प्रारम्भिक अध्ययन भइरहेको उनले बताए । नेपालका कुन–कुन भागमा सुरुङमार्ग आवश्यकता छ भनी पहिचान गरिएको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सम्भाव्यता अध्ययन अघि बढाइएको जानकारी दिए ।
चालू आर्थिक वर्षमा सुरुङमार्गको अध्ययनका लागि प्रतिआयोजना रू. ३० लाखदेखि रू. ४० लाखसम्म बजेट विनियोजन गरिएको छ । अध्ययन लागत सुरुङमार्ग अनुसार फरक–फरक हुने नेपालले बताए ।
सुरुङमार्गको लम्बाइ, भौगोलिक अवस्थिति जस्ता पक्षलाई ध्यान दिएर अध्ययन बजेटको सीमा राखिएको छ । यिनको प्रारम्भिक अध्ययन मात्रै गरिने र बजेट तथा लगानी सुनिश्चित भएपछि आवश्यकताका आधारमा निर्माण अघि बढाइनेछ ।
आगामी पुसदेखि निर्माण शुरू गरिने सिद्धबाबा सुरुङमार्गसहित अध्ययन अघि बढाइएका सुरुङमार्गमा लामाबगर, धरान–लेउती, टोखा–छहरे–गुर्जेभञ्ज्याङ, कोटेश्वर–जडीबुटी, दुम्कीबास–बर्दघाट छन् । त्यस्तै हेम्जा–नयाँपुल, कुशेपाटन–ब्याउली ढुंगा–इमिलचाखोला, बाग्लुङ–ब्युँ–नरेठाँटी, कुलेखानी–भीमफेदी, खुर्कोट–चियाबारी, मझिम्टार–शक्तिखोर, थानकोट–चित्लाङ, प्रवास–जोर्ते सुरुङमार्गको अध्ययन अघि बढाइएको विभागले जानकारी दिएको छ ।
रसुवागढी–बेत्रावती, बबई–छिन्चु, ताथली–रबीओपी, गोदावरी–मानचौर, दुम्लिङ–वासपाङ (चेपाङमार्ग), फस्रेखोला–छोरेपाटन र राजदुवोल–सुनमाई सुरुङमार्गको अध्ययन पनि अघि बढेको छ ।
विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार यी सुरुङमार्गमध्ये अधिकांशको प्रारम्भिक सम्भाव्यता अध्ययन नेपालले नै गर्नेछ । केन्द्रका सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) सौरभ वज्राचार्यले विभागले अघि सारेका सुरुङमार्गमध्ये केहीको चीन, जापान र स्वीस सरकारको सहयोगमा अध्ययन हुने बताए । रसुवागढी–बेत्रावती र टोखा–गुर्जेभञ्ज्याङको चीन, कोटेश्वर–जडीबुटी र खुर्काेट–चियाबारीको जापानको जाइका, थानकोट–चित्लाङ सुरुङमार्ग स्वीस सरकारले अध्ययन गर्ने उनले जानकारी दिए ।
हाल ठेक्का सम्झौताको तयारीमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण भने आगामी पुसदेखि शुरू हुने भएको छ । वज्राचार्यका अनुसार चाइना स्टेटसँग यो सुरुङमार्ग निर्माणका लागि अबको १ सातामा सम्झौता गरिने भएको छ । द्रुतमार्गमा सुरुङमार्ग बनाउने जिम्मा पाएको चाइना स्टेट कर्पाेरेशनले यसको ठेक्का पाएको छ । कम्पनीले ५ वर्षभित्रमा सम्पन्न गर्ने गरी प्रस्तावित बिडका १३ प्रतिशत कम कबोल गरी रू. ७ अर्ब ३४ करोडमा निर्माणको जिम्मा लिएको छ ।
कम्पनीसँग ठेक्का सम्झौता भएको ९ महीनामा उसले डिजाइन, माटोको अनुसन्धान तथा अन्य अध्ययन गर्नेछ । ५ वर्षमा सुरुङमार्ग बनाइसक्नुपर्नेछ । केन्द्रको इस्टिमेट लागत रू. ९ अर्ब ४ करोड थियो ।