ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युक्रेनमा अनुमान गरिएको भन्दा बढी नेपाली

कागजात नहुनेको संख्या धेरै

२०७८ फागुन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रमा सुवेदी

काठमाडौं । युक्रेनमा यसअघि अनुमान गरिएको भन्दा धेरै नेपाली रहेको देखिएको छ । युक्रेनमा २३०–२४० हाराहारीमा नेपाली रहेको बताइएको भए पनि पछिल्लो समय यो संख्या हजार आसपास रहेको हुन सक्ने विश्लेषण गैरआवासीय नेपाली (एनआरएन) समूहहरूले गरिरहेका छन् । युक्रेन जानेमध्ये १९२ श्रम स्वीकृति लिएर गएकाहरू छन् । ३८ स्थायी बासिन्दाका रूपमा रहँदै आएका छन् । केही विद्यार्थी पनि छन् । तर यस बाहेक ठूलो संख्यामा अनडकुमेन्टेड (कागजपत्र नभएका) नेपाली पनि रहेको बताइएको छ ।

गैरआवासीय नेपाली र अन्य स्रोतका अनुसार अहिलेसम्म ४०२ नेपाली युक्रेन छाडेर स्लोभाकिया, हंगेरी, रोमानिया, माल्दावा लगायत अन्य देशमा पुगिसकेका छन् । यीमध्ये अधिकांश पोल्यान्डमा भएको जर्मनीस्थित नेपाली दूतावासको संयोजकत्वमा गठित रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धार उच्चस्तरीय समितिले बताएको छ । किभमा रहेका सबै नेपालीले युक्रेन छाडेको रूसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले बताएका थिए ।

युक्रेन भएर यूरोपका अन्य देशमा जान त्यहाँ लुकेर बसिरहेका नेपाली धेरै रहेको हुन सक्ने श्रम तथा प्रवास विज्ञ सोम लुइँटेल बताउँछन् । कानूनी रूपमा प्रक्रिया पुर्‍याएर गएकाहरूले आफ्नो अवस्थाबारे सार्वजनिक गरे पनि अनडकुमेन्टेड अवस्थामा रहेकाहरूले समातिने डरमा अझै लुकेर बसेको हुन सक्ने उनको भनाइ छ  । सरकारले कानूनी हैसियत जस्तो भए पनि नेपालीकै सक्रियताले उनीहरूको उद्धार गर्नुपर्ने देखिएको छ ।

युक्रेन छाडेर अन्य देश गएका नेपालीलाई एनआरएनका राष्ट्रिय समितिहरूले उद्धार गरिरहेका छन् । हालका लागि युद्ध पीडित नेपालीलाई एनआरएनएका राष्ट्रिय समितिहरूले खानेबस्ने व्यवस्था मिलाइरहेका छन् । तर सरकारले उनीहरूको उद्धारका साथै खान, बस्न र आर्थिक समस्या सम्बोधन गर्न तत्कालै पहल गर्नुपर्ने लुइँटेल बताउँछन् ।

नेपाल सरकारले युक्रेनका छिमेकी देशहरूसँग सहकार्य गरेर अनडकुमेन्टेड अवस्थामा रहेका नेपालीहरूको ट्राभल डकुमेन्ट बनाइदिने, सम्बन्धित देशहरूसँग वार्ता गरे अस्थायी रूपमै भए पनि बस्ने व्यवस्था मिलाइदिनुपर्ने लुइँटेलले औंल्याएका छन् । द्वन्द्वपीडित नेपाली समूहहरूको प्राथमिकता र आवश्यकता अनुरूप सरकारले उद्धारको योजना बनाउनुपर्ने उनले बताए । युक्रेनमा गैरकानूनी रूपमा बसिरहेका नेपाली धेरै भएको देखिएको अवस्थामा सरकारले प्रथमतः कानूनी रूपमा गएका र गैरकानूनी तवरले बसिरहेका सबैको तथ्यांक संकलन गर्न पहल गर्नुपर्ने देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)