ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समुद्रपार व्यापार : रेल रेक बढाउने दबाबमा निजी सेवा प्रदायक

२०७८ फागुन, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । समुद्रपारबाट नेपालका लागि आएका कन्टेनर भारतीय बन्दरगाहमा थुप्रिन थालेपछि निजी रेल सेवा प्रदायकमाथि रेल रेक बढाउने दबाब बढेको छ । नेपालका लागि रेलमार्फत कन्टेनर ढुवानीमा भारतीय निजी कम्पनीको प्रवेशसँगै सरकारी स्वामित्वको भारतीय कन्टेनर निगम (कोन्कर)ले रेक कटौती गरेपछि अन्य कम्पनीलाई यस्तो दबाब बढेको हो ।

केही दिनअघि भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी)ले भारतीय बन्दरगाहबाट नेपालका लागि कन्टेनर ढुवानीमा आबद्ध सेवा प्रदायकलाई रेक संख्या थप्न निर्देशन दिएको थियो ।

बोर्डले कोन्कर, प्रिस्टाइन मेगा लजिष्टिक पार्क र इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फ्रास्ट्रक्चरलाई चाहिनेजति रेक उपलब्ध गराउन भनेको हो । पूर्वाधारका हिसाबले कोन्करको तुलनामा कमजोर मानिएका निजी सेवा प्रदायक रेक बढाउने प्रयासमा तल्लीन देखिएका छन् । कोन्करले यसअघिको तुलनामा रेक आधाभन्दा पनि कम गरेपछि आफूहरू रेक संख्या बढाउन लागिपरेको प्रिस्टाइन भ्याली ड्राइपोर्टका कार्यकारी निर्देशक बी मोहनले बताए । मार्च महीनाभित्र नेपालका लागि कन्टेनर ढुवानीका आवश्यक संख्यामा रेक थप्ने दाबी मोहनले गरे ।

प्रिस्टाइन भ्याली वीरगञ्ज सुक्खा बन्दरगाहको सञ्चालक कम्पनी पनि हो । प्रिस्टाइन मेगा लजिष्टिक पार्क प्रिस्टाइन भ्यालीको मुख्य साझेदार हो । सुक्खा बन्दरगाहमा रेल सेवा सञ्चालन गरेर नाफा कमाउने योजनाअनुसार प्रिस्टाइनले विगतभन्दा दोब्बर रकममा बन्दरगाह सञ्चालनको ठेक्का सकारेको थियो । अन्य निजी सेवा प्रदायकले पनि रेक बढाउने तयारी गरेको मोहनले जानकारी दिए ।

यस्तो छ असहजताको कारण
गत असारमा नेपाल भारत रेल सेवा सम्झौता संशोधन हुनुअघि रेलमार्फत हुने कन्टेनर ढुवानीमा कोन्करको एकाधिकार थियो । एकाधिकार तोडिएसँगै अन्य प्रतिस्पर्धीलाई अप्ठ्यारो पार्न कोन्करले भाडा दर र रेक संख्या दुवै घटाएपछि ढुवानी समस्याग्रस्त बनेको छ । कोन्करले ढुवानी भाडामा ३५ प्रतिशतसम्म कटौती गरेको छ । विगतको तुलामा रेक पनि आधामा झारेको छ ।

नेपालका लागि हुने ढुवानीमा करीब ९० प्रतिशत कारोबार गर्दै आएको कोन्करले रेक कटौती गरेपछि अन्य कम्पनीको क्षमताले रेक ओसार्न भ्याएको छैन । भारतीय रेलवेको मुख्य लगानी रहेको कोन्कर सबैभन्दा बढी रेक भएको कम्पनी हो । अन्य कम्पनी कोन्करको तुलनामा पूर्वाधारमा कमजोर छन् । भाडा कटौतीपछि कोन्करले बढी नाफा हुने अन्य क्षेत्रमा रेक पठाएपछि नेपालका लागि हुने ढुवानी समस्याग्रस्त बनेको छ ।

भाडादर घटाउनुअघि वीरगञ्ज बन्दरगाहसम्मको ढुवानीका प्रतिकन्टेनर १२ हजार भारतीय रुपया (भारू) फाइदा हुने गरेकोमा अहिले यो ५ हजार भारूमा झरेको कम्पनीका अधिकारीहरू बताउँछन् ।

अहिले भारतको विशाखापत्तनम् बन्दरगाहमा कन्टेनर थुप्रिने क्रम बढेको आयातकर्ताले बताएका छन् । कोन्करको तुलनामा अन्य कम्पनीसँग रेल रेक कम भएकाले ढुवानी असहज बनेको आयातकर्ता प्रदीप केडिया बताउँछन् । अहिले कोलकाता बन्दरगाहबाट ढुवानीमा खासै समस्या नभए पनि दोब्बर दूरीको विशाखापत्तम्बाट रेक पाउन कठिन बन्दै गएको आयातकर्ता आशीष लाठ बताउँछन् । विशाखापत्तनम् बन्दरगाहमा २ महीनादेखि करीब ४ हजार कन्टेनर थुप्रिएको आयातकर्ता बताउँछन् ।

कोलकाता बन्दरगाहबाट ढुवानी गर्दा लागत बढी पर्ने भएपछि अहिले अधिकांश आयातकर्ता विशाखापत्तनम्तर्फ केन्द्रित भएका छन् । केही दिनअघि कोलकाता बन्दरगाहमा पनि रेक आपूर्तिमा समस्या देखिएकोमा कोन्करका अधिकारीलाई भनेर सहजीकरण गरिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए । सिपिङ कम्पनीले वीरगञ्ज बन्दरगाहसम्म ढुवानीको जिम्मा लिएकाले भारतीय बन्दरगाहमा हुने विलम्बको प्रत्यक्ष भार (जरीवाना) आयातकर्तालाई नपरे पनि समयमा ढुवानी नहुँदा बैंकको ब्याज र व्यापारमा समयको नोक्सानी बढेको केडियाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)