ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युतको पुनर्बीमा गर्न विदेशी कम्पनीको आनाकानी

२०७८ फागुन, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

फागुन २३, काठमाडौं । जलविद्युत् आयोजना बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको मारमा पर्न थालेपछि विदेशी रि इस्योरेन्स कम्पनीहरूले त्यस्ता आयोजनाको पुनर्बीमा गर्न आनाकानी गरेका छन् ।

बढ्दो प्राकृतिक प्रकोपका कारण पछिल्लो समय जलविद्युत् आयोजना, सडक पूर्वाधारहरू प्रभावित भएका छन् । फलस्वरूप बीमा कम्पनीहरूमा सम्बद्ध आयोजनाबाट आउने दाबी पनि बढ्न थालेको छ । यसरी दाबी बढ्न थालेपछि विदेशी कम्पनीहरूले जलविद्युत्को पुनर्बीमा गर्न आनाकानी गरेका हुन् । 

नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीले विदेशी कम्पनीमा जलविद्युत् आयोजनाको पुनर्बीमा गर्न चुनौती हुने गरेको बताए । विशेषगरी ठूला जलविद्युत् आयोजनाको हकमा यस्तो समस्या भएको उनको भनाइ छ । 

‘बीमा समितिले निर्जीवन बीमाको न्यूनतम दर तोकेपछि साना जलविद्युत् आयोजनाहरूको पुनर्बीमा गर्न केही सहज त भएको छ । तर, ठूला आयोजनाको पुनर्बीमा गर्न भने अप्ठ्यारो छ,’ उनले भने, ‘पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रबाट आउने दाबी बढ्दो छ । सडकबाट आउने दाबी पनि बढेको छ । फलस्वरूप सडक र जलविद्युत् आयोजनाको पुनर्बीमा गर्न चुनौती भएको हो ।’

विदेशी कम्पनीहरूले पुनर्बीमा गर्न दिएको मापदण्ड पूरा गर्न नसकिएको उनको भनाइ छ । ‘उनीहरू पनि नाफामूलक कम्पनी हुन्, त्यसअनुसार उनीहरूले पनि सुरक्षित व्यवसाय गर्न खोज्नु स्वाभाविक हो,’ उनले भने, ‘त्यो अवस्था यहाँको जलविद्युत् क्षेत्र बढी जोखिमपूर्ण हुँदा यस्तो समस्या आएको छ । हामी महँगो दर तिरेर पुनर्बीमा गर्न बाध्य छौं ।’

केही समयअघि नेपाली बीमा कम्पनीहरूले व्यवसाय ल्याउन सस्तो दरमा जलविद्युत्को बीमा गर्ने गरेका थिए । त्यस बेला विदेशी कम्पनीहरूले पुनर्बीमा गर्न छोडिसकेका थिए । त्यसपछि बीमा समितिले त्यस्तो बीमाको न्यूनतम दर तोकेको थियो । त्यसपछि जलविद्युत् आयोजनाहरूको पुनर्बीमा गर्न केही सहज भएको थियो । तर, ठूला आयोजनाको हकमा भने अझै समस्या भएको कम्पनीहरूको भनाइ छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यूनतम दर तोकेपछि विदेशी कम्पनीहरूले पुनर्बीमा गर्न थालेको बताए । यद्यपि, ठूला आयोजनाको हकमा भने अझै समस्या हुन सक्ने उनको भनाइ छ । 

विदेशी कम्पनीहरूले जलविद्युत् आयोजनाको पुनर्बीमा लिन नमानेको अवस्थामा ऊर्जा व्यवसायीहरू भने बीमाको न्यूनतम बीमा दरको विरोध गरिरहेका छन् ।

बीमाक्षेत्रको प्राविधिक समस्या बुझेर ऊर्जा व्यवसायीहरूले न्यूनतम दरलाई स्वीकार्नुपर्ने उनको भनाइ छ । 

विदेशी कम्पनीहरूले पुनर्बीमा गर्न नमानेको अवस्थामा बीमाशुल्क अझै बढाउनुपर्ने अवस्था आउन सक्ने सरोकारवालाहरू बताउँछन् । 

बीमा कम्पनीहरूले आफूले लिएको जोखिम अर्थात् व्यवसाय सबै आफैले वहन गर्न सक्दैनन् । त्यो व्यावहारिक रूपमा जोखिमपूर्ण मानिन्छ । तसर्थ, बीमा कम्पनीहरूले आफ्नो व्यवसायको पनि बीमा गर्नुपर्छ, जसलाई बीमाको भाषामा पुनर्बीमा भनिन्छ । 

नेपालका कम्पनीहरूले आफूले वहन गर्ने सक्ने जोखिम राखेर बाँकी नेपाली तथा विदेशी रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गर्दै आएका छन् । सोही क्रममा जलविद्युत्सम्बन्धी बीमा व्यवसायको पुनर्बीमा गर्नुपर्ने अन्तरराष्ट्रिय अभ्यास तथानियम छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)