ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक आगमन सुधारोन्मुख

२०७८ फागुन, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ ।  नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महीनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए ।

फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यस्तै जनवरी महीनामा नेपालमा १६ हजार ९७५ पर्यटक आएका छन् । गतवर्षको सो महीनामा ८ हजार ८७४ पर्यटक नेपाल आएका थिए ।

कोरोना संक्रमण घट्दै जाँदा पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ । बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) धनञ्जय रेग्मीले पछिल्ला महीनामा पर्यटक बढ्दै गएको बताए । पर्यटक आगमन बढाउन यूरोप, अमेरिकाभन्दा पनि भारत तथा सीमा क्षेत्रलाई लक्षित गरेर कार्यक्रम ल्याइनुपर्ने उनको भनाइ छ ।

भारतका विभिन्न शहरबाट पत्रकार, व्यवसायी लगायतलाई बोलाएर ‘टुरिजम मार्ट’ सञ्चालन गरिने उनले बताए । सोहीअनुसार मार्च १०, ११ र १२ मा नेपालगञ्ज, मार्च २५, २६ र २७ तारिखमा धरानमा कार्यक्रम कार्यक्रम आयोजना गरिने जानकारी उनले दिए । बोर्डका अनुसार भारतीय सीमा क्षेत्र लक्षित पर्यटन प्रवर्द्धनका लागि अप्रिलमा धनगढी र मेमा भैरहवामा यस्तो कार्यक्रम गरिँदै छ ।

‘विशेषगरी नेपाल–भारत सीमा क्षेत्रको २०० किलोमिटरभित्र रहेका भारतका प्रमुख शहरहरूलाई लक्षित गरेर काम गरिनेछ,’ रेग्मीले भने, ‘अहिलेको पर्यटक आगमनको अवस्था हेर्दा पनि भारत र बंगलादेशबाट आउने संख्या बढी देखिएको छ, भने हामीले बंगलादेशमा बढी प्रचारप्रसार पनि गरिरहेका छौं,’ सीईओ रेग्मीले भने ।

चीनतर्फ पनि डिजिटल माध्यमबाट नेपालको पर्यटकीय प्रचारप्रसार गरिने उनले बताए । अन्य देशमा भने भौतिक रूपमै उपस्थितिमै पर्यटन प्रवर्द्धन तथा बजारीकरणका काम गरिने उनको भनाइ छ ।

होटेल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोभिड संक्रमण घट्दो अवस्थामा विश्व पर्यटन बजार नै प्रतिस्पर्धी बन्ने बताए । हरेक देशले पर्यटक भित्त्याउन चाहने लक्ष्यअनुसार विभिन्न रणनीति बनाउने र नेपालले पनि सोहीअनुसार अबको मार्ग पहिल्याउनुपर्नेमा उनले जोड दिए ।  ‘नेपाल आउँदा अझै पनि पीसीआर रिपोर्ट, क्वारेन्टाइन जस्ता व्यवस्थामा पर्यटक अल्झिनु परेको छ,’ शाहले भने, ‘नीतिगत रूपमा सुधार नहुँदासम्म पर्यटक आगमन प्रभावित हुन्छ ।’ व्यवसायीले आ–आफ्नो तरिकाबाट नयाँ प्रडक्ट, रणनीति बनाइरहेको भन्दै उनले पर्यटकलाई व्यवसायीले मात्र नभई सरकारले पनि औपचारिक रूपमा बोलाउनुपर्ने बताए ।

नेपाल अहिले पनि ‘रेड जोन’मा रहेको भन्दै शाहले भने, ‘यसलाई हटाउन सरकारले पहल गर्नुपर्छ, सरकार–व्यवसायीबीच समन्वय गरेर स्पष्ट कार्यदिशा बनाउन आवश्यक छ ।’ नेपाल भ्रमण वर्ष जस्तै नेपालको प्रचारप्रसार गर्न ठूलो कार्यक्रम ल्याउनु आवश्यक भएको पनि उनले बताए । नेपाल आउन पर्यटकले चासो दिएको र बुकिङ हुने क्रम पनि बढेकाले थप पर्यटक भित्र्याउन सघाउने ठूलो कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । बोर्डका अनुसार सन् २०२१ मा विभिन्न मुलुकबाट नेपालमा १ लाख ५० हजार ९६२ पर्यटक आएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)