ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महँगो भयो भान्सा, दैनिकी कष्टकर बन्दै 

२०७८ फागुन, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

फागुन २४, काठमाडौं । पछिल्लो समय महँगी चुलिएको छ ।

१ महीनाअघि प्रतिलिटर २३० रुपैयाँमा पाइने सूर्यमुखी तेलको भाउ अहिले २ सय ८०/ ९० रुपैयाँसम्म पुगेको छ । भटमासको तेल लिटरमै ३० रुपैयाँ बढेर २६० पुगेको छ । चामलको भाउ पनि बोरामा २०० सम्म बढेको छ । सिजनका केही तरकारी सस्तो भए पनि अरू तरकारी छोइसक्नु छैन । 

‘३ जनाको परिवारका लागि मासिक एकमुष्ठ ९/१० हजारको सामान किन्दा महीना दुखजिलोले टथ्र्यो । तर, अहिले १२र१३ हजारले पनि छोप लाग्दैन,’ कीर्तिपुर ट्याङ्गला फाँटकी स्थानीय बासिन्दा सृजना दाहालले भनिन् । 

सिजनका केही तरकारीको भाउ ठीकै भए पनि अन्य तरकारी खाइ नसक्नु भएका छन् । तरकारी, आलु, प्याज, फलफूलको खर्चसमेत जोड्दा आफूलाई महीना टार्न साह्रै गाह्रो हुन थालेको दाहालको भनाइ छ । खाद्यवस्तु मात्रै नभएर डाइपरलगायत अखाद्य सामान पनि महँगो बनेपछि श्रीमान्को तलबमा आश्रित दाहाललाई अहिले भातभान्सा चलाउन सकस भएको छ । 

गेडागुडी, दाल, चामल, पिठोलगायत अधिकांश खाद्यवस्तुको भाउ १ महीनाको बीचमै १० देखि २५ प्रतिशतसम्म महँगो भएको बल्खुको होलसेल पसलमा मासिक सामान किन्न आएका चोभारका मदन ढोडारीले बताएका छन् । घरभान्सा श्रीमतीले हेर्ने भए पनि महीनाभरिलाई पुग्ने सामान किन्न भने उनी नै जान्छन् । ‘अघिल्लो महीनाको तुलनामा दाल, चामल, पिठो, चिउरा, तेल सबै खाद्यवस्तु महँगो भएछ,’ उनले भने । 

भान्सा चलाउन भान्साकै सामानमा मात्रै नभएर लत्ता कपडा, दैनिक पाकेट खर्च र घुमफिरलगायत अन्य मासिक खर्च कटौती गर्नुपर्ने अवस्थामा आफू पुगेको पाटनमा एउटा एनजीओमा काम गर्ने ढोडारीले बताए । पेट्रोलको भाउ बढेपछि मोटरसाइकल नै चढ्न नसक्ने भएको अवस्थामा दैनिक उपभोग्य सामानको पनि भाउ बढेपछि अहिले उनलाई काठमाडौंमा कोठाभाडा तिरेर २ सन्तान पढाउन हम्मेहम्मे परेको छ । 

इमाडोलकी लक्ष्मी शर्माको कथा पनि यस्तै छ । महँगी बढेपछि दुई जनाले दुःख गरेर कमाउँदा पनि ७ जनाको परिवार पाल्न शर्मा दम्पतीलाई समस्या भइरहेको छ । ‘बजारमा सबै सामानको भाउ बढेको छ, कोरोना भाइरसको महामारी शुरू भएदेखि नै भातभान्सा टार्न सकस हुन थालेको थियो, फागुन लागेपछि महँगी आकाशिएर छोइ नसक्नु भएको छ,’ शर्माले भनिन् । समग्रमा महँगी २५ प्रतिशतसम्म बढेको अनुभव शर्माको छ । 

कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय महँगी निरन्तर उकालो लागिरहेको थियो । फागुनको महीनाको शुरूमा दूधको भाउसमेत बढेको थियो । त्यसपछि दुग्धजन्य सबै पदार्थको भाउ बढेको छ । 

रूसले युक्रेनमा आक्रमण गर्नुअघि नै पेट्रोलियम पदार्थको भाउ बढेको आडमा व्यापारीहरूले सामानको भाउ मनलाग्दी बढाइरहँदा यसको असर आम नेपालीको भातभान्सामा पुगेको थियो । 

रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर सन् २००८ यताकै उच्चस्तरमा उक्लिएको छ । युद्धको प्रभावस्वरूप रूस र युक्रेन मुख्य उत्पादक रहेका खाद्यान्नको भाउ त बढेको छ नै आपूर्ति शृंखलामा आएको अवरोध र ढुवानी लागतमा भएको वृद्धिका कारण समग्रमा सबै खालको उपभोग्य वस्तुको भाउ वृद्धि भएको छ । 

युक्रेनी संकट मत्थर हुने कुनै संकेत नदेखिएको अहिलेको अवस्था विश्व बजारमा कच्चा तेल र गहुँ, भटमास, मकै, सूर्यमुखीका दानालगायत सामानको भाउ आगामी दिनहरूमा झनै बढ्ने देखिएको छ । यसको प्रभाव स्वरूप महँगी झनै बढेर सर्वसाधारणलाई भातभान्सा टार्न थप कठिन हुने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)