ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सापटी लिएर सीआरआर, कुन शीर्षकमा कति सापटी ?

२०७८ फागुन, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

फागुन २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू अनिवार्य नगद मौज्दात (सीआरआर) राख्न राष्ट्र बैंकले दिने सापटीमा निर्भर हुन थालेका छन् । 

निक्षेप वृद्धि नभए पनि कर्जा प्रवाहमा आक्रामक भएपछि बैंकहरूले राष्ट्र बैंकले तोकेअनुसारको तरलता व्यवस्थापनका लागि कर्जा लगानीभन्दा बढी रकम सापटीका रूपमा चलाएका छन् । 

फागुन २३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४६ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । फागुन २५ गतेसम्ममा बैंकहरूले राष्ट्र बैंकबाट तरलता प्रवाह गर्ने मौद्रिक उपकरण स्थायी तरलता सुविधा (एसएलएफ), रिपो, ओभरनाइट रिपो र सीधै खरीद सुविधाबाट ४८ खर्ब ८० अर्ब रुपैयाँ सापटी चलाएका छन् । यसमध्ये बुधवार १ खर्ब ७० अर्ब ६३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमै छ । 

बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ३ प्रतिशत रकम सीआरआरका रूपमा राष्ट्र बैंकको खातामै राख्नुपर्छ । अहिले बैंकहरूको कुल निक्षेपको आधारमा करीब डेढ खर्ब रुपैयाँ सीआरआरका रूपमा राख्नुपर्छ ।

बैंकहरूको निक्षेप वृद्धि नभएपछि राष्ट्र बैंकबाट सापटी लिएर तोकिएको सीआरआर राखेका हुन् । 

राष्ट्र बैंकका अनुसार बैंकहरूले चालू आवमा एसएलएफ सुविधाबाट ४४ खर्ब ४६ अर्ब ९ करोड रुपैयाँ चलाएका छन् । ७ दिन अवधिको यो सापटी चलाउँदा बैंकहरूले राष्ट्र बैंकलाई ७ प्रतिशत ब्याज तिर्नुपर्छ । 

राष्ट्र बैंकले पुस १२ गतेबाट एसएलएफको ब्याजदर ५ प्रतिशतबाट वृद्धि गरेको हो । ब्याजदर वृद्धि भए पनि एसएलएफलको प्रयोग घटेको छैन । ब्याज वृद्धिपछि पनि बैंकहरूले लिने एसएलएफ वृद्धि भइरहेको छ । बुधवार एकै दिन बैंकहरूले ६३ अर्ब ४१ करोड रुपैयाँ एसएलएफ लिएका छन् । यो हालसम्मकै उच्च हो । 

यसैगरी चालू आवमा बैंकहरूले रिपोमार्फत २ खर्ब ६० अर्ब, सोझै खरीदबाट ७५ अर्ब र ओभरनाइट रिपोबाट १ खर्ब १८ अर्ब ४३ करोड रुपैयाँ सापटी लिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूलाई अप्ठ्यारो अवस्थामा चलाउने गरी मौद्रिक उपकरण राखिएको भए पनि त्यसलाई नियमित रूपमा प्रयोग गर्नुले बैंकहरूको अक्षमता देखिने राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बताउँछन् । 

‘बैंकहरूलाई अप्ठ्यारो पर्दा तरलता कायम गर्न मौद्रिक उपकरणको व्यवस्था गरिएको हो,’ उनले भने, ‘तर, नियमित रूपमा राष्ट्र बैंकमै भर पर्नु बैंकहरूको कमजोरी हो ।’ बैकहरूले मौद्रिक उपकरणबाट हालसम्मकै धेरै सापटी उपभोग गरेको उनले बताए । 

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय बैंकहरूले एसएलएफलगायत सुविधाबाट पाउने रकम बैंकहरूको आफ्नै पैसा भएकाले नियमअनुसार नै त्यसलाई सदुपयोग गरेको दाबी गर्छन् ।

बैंकहरूले सीआरआरमा राख्नुपर्ने रकममध्ये ७० प्रतिशत रकम दैनिक रूपमा राष्ट्र बैंकमै राख्नुपर्छ । 

यसैगरी वाणिज्य बैंकहरूले कुल स्वदेशी निक्षेपको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र फाइनान्स कम्पनीहरूले ७ प्रतिशत वैधानिक तरलता अनुपात (एसएलआर) कायम गर्नुपर्छ ।  

चालू आवको माघ मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ विस्तार हुँदा कर्जा प्रवाह भने ४ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह बढी भएको र अधिकांश कर्जा आयातलगायत अनुत्पादक क्षेत्रमा प्रवाह हुँदा तरलताको अभाव हुँदै आएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

कुन शीर्षकमा कति सापटी ? 
स्थायी तरलता सुविधा :    ४४ खर्ब ४६ अर्ब ९ करोड
रिपो :                             २ खर्ब ६० अर्ब 
ओभरनाइट रिपो :             १ खर्ब १८ अर्ब ४३ करोड
सोझै खरीद :                    ७५ अर्ब

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)