ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन : नेपाल खण्डको निर्माण गर्न रू. १० अर्ब लाग्ने

२०७८ फागुन, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ ।

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले आयोजनाको सम्भाव्यता अध्ययन सकिएको बताएका छन् । उक्त अध्ययनले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्भव रहेको देखाएको पनि बताए ।

‘उक्त अध्ययनले प्रसारण लाइन बन्ने सम्भावना देखाएको छ । अब वातावरणीय प्रभाव मूल्यांकन र आयोजना विस्तृत प्रतिवेदन (डीपीआर) बनाउने काम अगाडि बढ्छ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको काम चैतको पहिलो सातादेखि शुरू हुन्छ । डीपीआर भने चीनसँग मिलेर संयुक्त रूपमा बनाउँछौं ।’

वातावरणीय प्रभाव मूल्यांकनको काम ७ महीनाभित्र सकिने उनको भनाइ छ । डीपीआरका लागि भने यही महीना (मार्च) मा चीन र नेपालबीच आवश्यक सम्झौता हुने उनले बताए ।

नेपाल खण्डको प्रसारण लाइन ४०० केभीको डलर सर्किटको हुनेछ, त्यसमा २०७ ओटा टावर हुनेछन्, जुन बनाउन १० अर्ब रुपैयाँ लाग्ने देखिएको आत्रेयले बताए । प्रसारण लाइनको लम्बाइ भने ७० किलोमीटर हुने उनको भनाइ छ ।

प्रसारण लाइनको कुल लम्बाइ भने १४९ किलोमीटर रहेको छ । त्यसमा चीनतर्फ ७९ किलोमीटर प्रसारण लाइन पर्नेछ । उक्त प्रसारण लाइनबाट ३ हजार मेगावाट विद्युत् नेपाल–चीन बीच आयातनिर्यात गर्न सकिने उनको भनाइ छ ।

अध्ययनका क्रममा नेपाल खण्डको प्रसारण लाइन २ रूटमा बनाउन सक्ने देखिएको छ । रातमाटेदेखि चिलेमे हब हुँदै केरुङसम्म प्रसारण लाइन बनाउन सकिने देखिएको छ । यस्तै, रातमाटेदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै केरुङसम्म प्रसारणलाइन बनाउन सकिने अध्ययनले देखाएको छ ।

चिलिमे हबबाट प्रसारण लाइन बनाउँदा खर्च बढी लाग्ने देखिएको छ । तर, प्राविधिक रूपमा त्यही रूटबाट प्रसारण लाइन बनाउँदा उपयुक्त हुने देखिएको छ । यता, राष्ट्रिय निकुञ्ज हुँदै जाने प्रसारण लाइन बनाउँदा सजिलो भए पनि उपयुक्त नहुने देखिएको छ । तसर्थ, चिलिमे हबको रूटबाट नै प्रसारण लाइन बनाउने योजना रहेको आत्रेयले बताए । चीनतर्फको प्रसारण लाइनको सम्भाव्यता अध्ययन यसअघि नै सकिएको छ । चीनले आफ्नो खण्डमा केही ठाउँमा प्रसारण लाइन बनाउने कामसमेत गरिरहेको छ । रातमाटेमा  एमसीसी आयोजनाअन्तर्गत बन्ने सबस्टेशनबाट उक्त प्रसारण लाइन तानिनेछ ।

केरुङ (चीनतर्फ) मा भने कन्भर्ट स्टेशन बनाइनेछ । त्यसपछि चीनको जिरोङ काउन्टी भन्ने ठाउँमा रहेको सबस्टेशनमा यो प्रसारण पुर्‍याइनेछ, उक्त सबस्टेशन केरुङ नाकादेखि ७९ किलोमीटरभित्र पर्छ ।

रातमाटेमा बन्ने भनिएको सबस्टेशन नेपालको सबै विद्युत् प्रसारण प्रणालीसँग जोडिएको छ । भारततर्फको अन्तरदेशीय प्रसारण लाइनसँग पनि त्यसको कनेक्शन हुन्छ । त्यो अवस्थामा नेपाल चीन–प्रसारण लाइन बनेमा त्रिदेशीय (नेपाल, भारत र चीन) विद्युत् व्यापार गर्न सकिने पनि अध्ययनले देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)