ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मलखादको भाउ कीर्तिमानी उचाईमा, ग्यास महँगिएको भन्दै उत्पादनमा कटौति, खाद्य संकटको चेतावनी !

सामान्य समयमा समेत मल नपाइने नेपालमा रूस-युक्रेन युद्धपछि झनै भयाबह अवस्था आउन सक्ने

२०७८ फागुन, २९  
उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । विश्व बजारमा मलखादको भाउ यस अघि कहिलेइ नदेखिएको कीर्तिमानी स्तरमा उक्लिएको छ । अमेरिकादेखि ब्राजिलसम्म सबैतिर मलखादको अभाव देखिन थालेको छ ।

विश्वको कुल मलखाद आपूर्तिमा १५ प्रतिशत हिस्सा ओगटेको रूस र बेलारुसमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउने क्रम बढेसँगै यसको प्रभाव विश्वभर मलखादको मूल्य र उपलब्धतामा पनि देखिएको छ । 

शुक्रवार ग्रिन मार्केट्स नर्थ अमेरिका फर्टिलाइजर इन्डेक्स बढेर १ हजार १४० डलरमाथि उक्लिएको छ । यो अहिलेसम्मकै उच्च बिन्दु हो । यूरियाको मूल्य २२ प्रतिशतले बढेर कीर्तिमानी स्तरमा उक्लिएको छ । पोटासको भाउले पनि नयाँ उचाई छोएको छ ।  

रूस र बेलारुस विश्वको प्रमुख मलखाद निर्यातकर्ता हुन् । रूसले यही महीनाको शुरूमा घरेलु मलखाद उत्पादकहरूलाई निर्यात घटाउन अनुरोध गरेको थियो ।

युक्रेनमाथि हमलाको प्रतिकारमा विश्वभर रूसी उत्पादनमाथि प्रतिबन्ध लगाउने क्रम बढेको छ । यसले पनि विश्व बजारमा मलखादको भाउ चुलिएको हो । युक्रेनले शनिवार मलखाद निर्यातमा रोक लगाएको छ । यसको प्रभावका कारण आगामी दिनमा भाउ झनै बढ्ने विश्लेषण गर्न लागिएको छ । 

रूस र युक्रेनबीचको युद्धका कारण प्राकृतिक ग्यासको भाउमा भएको वृद्धिले समस्या झनै बढाइरहेको छ । यूरिया लगायत नाइट्रोजनमा आधारित मलखाद बनाउन रूस र बेलारुस बाहिरका मलखाद उत्पादकलाई प्राकृतिक ग्यास चाहिन्छ । प्राकृतिक ग्यासको भाउ बढेपछि केही यूरोपेली उत्पादकहरुले उत्पादन नै बन्द गरेका छन् ।

मलखाद उत्पादक कम्पनी यारा इन्टरनेशनलले यूरोपमा आफ्नो अमोनिया र यूरियाको उत्पादन क्षमता ४५ प्रतिशतलले घटाएको छ । 

के छ नेपालको अवस्था ? 
कोरोना भाइरसको महामारीदेखि विश्व बजारमा मलखादको भाउ बढ्न थालेको थियो । पछिल्लो समय रूस र युक्रेनबीचको युद्धका कारण अन्तरराष्ट्रिय बजारमा भाउ बढेपछि यसको असर नेपाली बजारमा पनि देखिएको फर्टिलाइजर एशोसियशन अफ नेपालका अध्यक्ष चन्द्र कान्त डल्लाकोटीले बताएका छन् । 

नेपालले रूस र बेलारुसबाट खासै धेरै मलखाद ल्याउने गरेको छैन । तर रूस र युक्रेनबीच युद्धको प्रभाव विश्वभर देखिदै गर्दा नेपालमा पनि आपूर्तिको समस्या देखिएको हो ।

नेपालमा मोरक्को, कतार, कुवेत, भारत, चीन, साउदी अरब, इजिप्ट लगायत देशहरुबाट मलखाद आउने गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो ७ महीनामा नेपालले कुल १ करोड १ लाख रुपैयाँ बढीको मलखाद आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २० दशमलव ३ प्रतिशत कम हो । 

अहिले कृषि सामाग्री कम्पनी लिमिटेडसँग २०० टन मात्रै यूरिया छ । भर्खरै इजिप्टबाट २० हजार ४०० टन बराबरको डीएपी आएको बताइएको छ । यसको वितरण भने शुरू भइनसकेको कृषि सामाग्री कम्पनी लिमिटेडका कायम मुकायम प्रवन्ध निर्देशक राजेन्द्र बहादुर कार्कीले बताए ।

रूस र युक्रेनको युद्धले मलखादको उपलब्धतामा बयान गर्नै नसक्ने प्रभाव पारेको कार्कीको भनाइ छ । रूसले हमला गर्नु अगाडि नै हिडेको पोटास केही दिनमा कलकत्ता आइपुग्ने उनले बताए ।

अन्य प्रभाव
हालैका दिनमाविश्वभर खाद्यान्नको भाउ बढेको छ । युक्रेनी संकटका कारण गहुँदेखि चामल र खानेतेलसम्मका सबै खाद्यान्न महँगिएका छन् । पछिल्लो समय मलखादको भाउमा  भएको वृद्धिले खाद्यअभाव  झनै चुलिने चेतावनी  आइरहेको छ । युक्रेनी संकटका कारण विश्वभर खाद्यान्न र दानाको भाउ ८ प्रतिशतदेखि २० प्रतिशतसम्म बढ्ने चेतावनी एफएओले यही  शुक्रवार दिएको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)