ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सोलार प्लान्टको पीपीए दर घट्यो

प्राधिकरणले भनेकै ठाउँमा प्लान्ट हुनुपर्ने थप शर्त

२०७८ चैत, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्ट (सौर्य विद्युत) आयोजनाको विद्युत् खरीद विक्री अर्थात् पीपीए दर प्रतियुनिट १ रुपैयाँ ३६ पैसाले घटाएको छ । 

प्राधिकरणले यसअघि प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा सोलार प्लान्टसँग पीपीए गर्दै आएको थियो । अब अधिकतम ५ रुपैयाँ ९४ पैसामा पीपीए गर्नेगरी आधार दर तोकिएको छ ।

प्राधिकरणले सोलार प्लान्टको पीपीए खुला प्रतिस्पर्धामार्फत गर्नेगरी यसअघि नै निर्णय गरेको थियो । तर, पीपीएको आधार दर भने तोकिएको थिएन । सोही प्रयोजनका लागि बनेको एक कार्यदलले त्यस बराबरको पीपीए दर तोकेको हो । 

यो पनि अधिकतम आधार दर हो । अब खुला प्रतिस्पर्धामा सहभागी हुने सोलार प्लान्टहरूले त्यो वा त्यो विन्दुभन्दा तलको दर राखेर बोलपत्र पेश गर्नुपर्ने छ । त्यसअनुसार सोलार प्लान्टको पीपीए दर थप घट्ने देखिएको छ । 

प्र्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले सोलार प्लान्टसँग पीपीए गर्न ५ रुपैयाँ ९४ पैसा आधार दर तोकेको बताए । अब पीपीए गर्न आह्वान गरिने टेन्डरमा सहभागी कम्पनीहरूले उक्त विन्दु वा त्यो भन्दा तल रहेर बोलपत्र पेश गर्नुपर्ने उनको भनाइ छ । 

यस्तै, पीपीएमा सहभागी हुने कम्पनीहरूका लागि केही मापदण्ड पनि तोकिएको छ । ‘अब हामीसँग पीपीए गर्ने सोलार प्लान्टहरू हामीले भनेको ठाउँमा बनेको हुनुपर्ने छ,’ उनले भने, ‘हामीले भनेको ठाउँमा प्लान्ट छैन भने पीपीए गर्दैनौं ।’ 

प्राधिकरणको प्रसारण लाइन, विद्युत् माग हुने क्षेत्रलगायत प्राविधिक पक्षलाई दृष्टिगत गर्दै यस्तो मापदण्ड राखिएको उनको भनाइ छ । 

यस्तै, अन्तरराष्ट्रिय बजारको दररेटको आधारमा सोलार प्लान्टको पीपीए दर घटाएको उनले बताए । ‘सोलार प्लान्ट बनाउन लगानी कम लाग्छ । त्यसमाथि यसबाट दिउँसोको समयमा मात्र विद्युत् उत्पादन हुने हो,’ उनले भने, ‘जुन समयमा भारतसँग नेपाली ३ रुपैयाँ २० पैसामा विद्युत् किन्न सक्छौं । यसै पनि अन्तरराष्ट्रिय बजारमा सोलार विद्युत् सस्तो छ ।’

यता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले प्राधिकरणले तोकेको आधार दरको बिश्लेषण गरिने बताए । त्यसपछि मात्र यस विषयमा ऊर्जा व्यवसायीहरूको धारणा सार्वजनिक गरिने उनको भनाइ छ । प्राधिकरणले विद्युत् महसुललाई सर्वसुलभ बनाउने तथा अन्तरराष्ट्रिय प्रचलनअनुसार बनाउने नीतिअनुरूप सोलार प्लान्टको पीपीए खुला प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको थियो ।

अब आवश्यक प्रक्रिया पूरा गरेर सोलार प्लान्टको पीपीए गर्न टेन्डर आह्वान गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले कुल जडितक्षमतामा सोलार प्लान्टको अंश १० प्रतिशत नबढ्ने गरी पीपीए गर्नुपर्ने छ । कुल जडितक्षमतामा सौर्य आयोजनाको विद्युत्को अंश १० प्रतिशत हुनुपर्ने सरकारको ऊर्जा सम्मिश्रणको अवधारणा छ । 

हाल राष्ट्रिय ग्रीडमा विद्युत्को जडितक्षमता झन्डै २२०० मेगावाट छ । त्यसअनुसार प्राधिकरणले तत्काललाई २२० मेगावाट विद्युत सौर्य आयोजनाबाट ल्याउन सक्नेछ । त्यसमा पनि प्राधिकरणले हालसम्म १५० मेगावाटको हाराहारीमा विद्युत् किन्न सौर्य आयोजनाहरूसँग पीपीए गरिसकेको छ । बाँकी कोटाका लागि आवश्यक प्रक्रिया पुर्‍याएर टेन्डर आह्वान गरिने बताइएको छ । राष्ट्रिय ग्रीडमा विद्युत्को जडितक्षमता बढेमा त्यसकै अनुपातमा सौर्य ऊर्जाको कोटा पनि बढ्दै जानेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)