काठमाडौं। अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिका कारण पेट्रोल तथा डिजेलको मूल्य नेपालमा हालसम्मकै उच्च छ ।
पेट्रोलिमय पदार्थको मूल्य यतिविधि महँगो हुँदा पनि नेपाल आयल निगम भने चरम घाटामा गएको बताइएको छ ।
निगमका अनुसार फागुन मसान्तसम्म मात्रै निगमको घाटा २८ अर्ब रुपैयाँ नाघ्ने उल्लेख छ ।
यस्तो अवस्थामा निगमको नेतृत्व गर्न आएका छन्, उमेश प्रसाद थानी । गत बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले निगमको कार्यकारी निर्देशक नियुक्त गरेका थानीले शुक्रवारदेखि कार्यभार पनि सम्हाली सकेका छन् ।
तर उनको कार्यकालमा घाटामा गएको निगमलाई नाफामा लैजाने देखि उपभोक्तालाई सस्तो मूल्यमा पेट्रोलियम दिने लगायतका चुनौति देखिन्छन् ।
पहिलो चुनौती- निगमको घाटा पूर्ति
थानीले कार्यभार सम्हाल्दै गर्दा निगम लामो समयपछि घाटामा गइसकेको थियो । उक्त घाटा तत्काल थामिने संकेत पनि छैन । फागुन मसान्त सम्म २८ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपपण गरेको निगम यो भन्दा धेरै मूल्य बढाउन सक्ने अवस्थामा पनि छैन ।
पेट्रोलियम पदार्थको मूल्य नबढाए सरकारले लिने कर घटाए मात्रै निगमको घाटा थामीन सक्छ ।
तर अहिले भने निगमले मूल्य स्थिरीकरण कोषको रकम समेत खर्च गरिरहेको छ । यसरी संस्थानको घाटा बढेर सञ्चिति कोषको रकम खर्च हुँदै जानु र अत्यधिक मूल्य बढाउँदा पनि संस्थानले घाटा नै बेहोरिरहेको अवस्था नै व्यवस्थापनको मूख्य चुनौती रहेको निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बताउँछन् ।
दोस्रो चुनौति- उपभोक्ता मूल्य घटाउने दवाब
इन्धन भनेको समग्र देशकै अर्थतन्त्र हाँक्ने पदार्थ भएकाले घाटाको व्यापार गर्न नहुने तर उपभोक्तामुखी समेत बन्नुपर्ने पूर्वकार्यकारी निर्देशक पौडेलको सुझाव छ ।
‘संस्था पनि घाटामा नजाने र उपभोक्ता महँगी समेत नबढ्ने गरी चलाउनुपर्छ’ पौडेल भन्छन्, ‘त्यसको उपाय भनेको पेट्रोलको मूल्य जतिसक्दो बढाउनु पर्छ र डिजेलको मूल्य जतिसक्दो कम राखेर ब्यालेन्स गरेर जानुपर्ने नै देख्छु ।’
सरकारले लिने कर हटाएर भएपनि उपभोक्तालाई राहत दिनुपर्ने उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बताए ।
‘सरकारले लिने कर हटाएर हुन्छ कि, निगमका कर्मचारीले पाउने सेवा सुविधा कटौती गरेर हुन्छ, उपभोक्ता मूल्य बढाउनु हुँदैन ।’ महर्जनले भने, ‘अहिलेको मूल्यबाट पनि घटाउनुपर्छ ।’
तेस्रो चुनौति- पेट्रोलियम व्यवसायीका बखेडा
पछिल्लो समय निगम सम्बद्ध पेट्रोलियम व्यवसायीले पनि विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।
पेट्रोलियम व्यवसायी, पेट्रोलियम ढुवानी व्यवसायी र ग्यास व्यवसायीले ६ बुँदे माग राख्दै माग सम्बोधन नभए चैत ६ गतेदेखि कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् ।
पेट्रोलियम ढुवानी गरेको भाडा बढाउनुपर्ने, ग्यास तथा पेट्रोल विक्रीवापतको कमिशन बढाउनु पर्ने र गत १९ चैतमा खारेज गरिएको कमिशन प्रतिशत यथावत राख्न व्यवसायीले माग गरेका छन् ।
माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका व्यवसायीले आपूर्ति व्यवस्था खल्बल्याउन सक्छन् । आपूर्ति व्यवस्थामा समस्या नआउने गरी व्यवसायीलाई मनाउनुपर्ने चुनौति पनि थामी सामु छ ।
बुधवारको पत्र कुर्दै निगम
फागुन १६ मा इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट आएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डिजेलमा प्रतिलिटर ११ रुपैयाँ ७८ पैसा नोक्सान बेहोरिरहेको निगमले उलेख गरेको छ ।
सो अनुसार निगमले १६ फागुनदेखि फागुनमसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ नोक्सानी बेहोर्ने प्रक्ष्येपण गरेको थियो । यद्यपि त्यसको हिसावकिताब सार्वजनकि गरिसकेको छैन । हरेक १५ दिनमा आइओसीबाट नयाँ मूल्यसूची आउने चलन अनुसार बुधवार नयाँ मूल्यसूची आउने छ । त्यसपछि निगमले फेरि आगामी १५ दिनको नोक्सान प्रक्ष्येपण गर्ने छ ।
अहिले निगमको घाटा बढेका कारण मूल्यस्थिरिकरण कोष लगायतका सञ्चिति कोषको रकम प्रयोग गर्दै आएको छ ।
गत २३ फागुनमा विज्ञप्ति जारी गर्दै निगमले अघिल्लो दिन मात्रै मूल्यस्थिरिकरण कोषबाट ४ अर्ब २५ करोड रुपैयाँ आइओसीलाई भुक्तानी गर्ने निर्णय गरेको थियो । यसअघि गत माघमा पनि १ अर्ब ८० करोड रुपैयाँ उक्त कोषबाट निगमले आइओसीलाई भुक्तानी गरेको थियो ।