ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यात्रुविहीन रेल चलाउन दैनिक १८ हजार रुपैयाँको डिजेल, कानून नहुँदा यात्रु बोक्न समस्या 

२०७८ चैत, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

चैत ३, काठमाडौं । डिजेलको मूल्य उच्च वृद्धि भएका बेला जनकपुर–जयनगर रेलमार्गमा यात्रुविहीन रेल सीमा वारपार गराउन दैनिक १३० लिटर डिजेल खर्च हुने गरेको छ । 

अहिलेको बजार मूल्यअनुसार यसरी खर्च भइरहेको डिजेलको मूल्य करीब १८ हजार रुपैयाँ पर्न आउँछ । बुधवारको मूल्य समायोजनअनुसार डिजेल प्रतिलिटर रू. १३८ छ । 

दैनिक करीब १८ हजार रुपैयाँ खर्च भइरहे पनि रेलले यात्रु बोक्न भने थालेको छैन । रेलसम्बन्धी कानूनको अभावमा १९ महीनाअघि नेपाल ल्याइएका रेल अहिले यात्रु नबोकी सीमा वारपार गरिरहेका हुन् । 

रेल सञ्चालनका लागि भारतबाट ल्याइएका १६ कर्मचारीलाई पारिश्रमिक पनि दिनु परिरहेको छ । फागुन १ देखि ३० गतेसम्म यात्रुविहीन रेल चलाउँदा डिजेलमा मात्र रू. ५ लाख १८ हजार खर्च भएको नेपाल रेलवे कम्पनी लिमिटेडले जानकारी दिएको छ । लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालन गर्दा दैनिक १३० लिटर डिजेल खर्च भइरहेको बताए । ‘कानून नहुँदा रेल चलाउन सकिएको छैन,’ झाले भने, ‘तर रित्तो भए पनि रेल चलाइरहेका छौं ।’ कानून आएपछि भने रेल यात्रुसहित चल्ने उनको भनाइ छ ।  अहिले कम्पनीमा भारतीयसहित ५८ कर्मचारी कार्यरत छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारी पनि अहिलेको समस्या कानून नहुनुलाई बताउँछन् । ‘कानून नभई रेल सञ्चालन गर्दा रेलले मानिसलाई क्षति पुर्‍याए वा केही गरी ज्यानधनको क्षति भएमा कसैलाई दण्ड जरीवाना गर्नुपर्ला,’ ती अधिकारीले भने, ‘त्यसका लागि बेग्लै कानून चाहिन्छ, त्यो हामीसँग छैन ।’ 

रेल सञ्चालन गर्न कानूनको अभाव भएको र संसद् नचलेका बेला २०७८ वैशाख २३ गते ‘रेलवे अध्यादेश–२०७८’ जारी गरिएको थियो । उक्त अध्यादेश निष्क्रिय भएपछि त्यसको ७ महीना अर्थात् मङ्सिर १६ गते ‘रेलवे अध्यादेश– २०७८’ जारी भएको थियो ।

संसद् चले पनि अध्यादेश पारित हुन सकेन । त्यसैले रेल ल्याएको १९ महीना बित्दासमेत कानून अभाव भएकाले रेलमार्गमा यात्रुसहित रेल सञ्चालन हुन सकेको छैन । 

रेल सञ्चालन, भाडा शुल्क निर्धारण, मालसामान ढुवानीका साथै विलम्ब शुल्क तोक्नेलगायत कार्यका लागि स्वायत्त संस्था ‘नेपाल रेलवे बोर्ड’ स्थापनाको व्यवस्था गर्दै २०७६ पुस १८ गते मन्त्रालयले संघीय संसद्मा ‘रेलवे ऐन–२०७६’ विधेयक दर्ता गरेको थियो । यसबीचमा पटकपटक व्यवस्थापिका–संसद्का बैठक बसे पनि विधेयक पारित हुन सकेन । 

तर, रेल सञ्चालनकै लागि दुईपटक ल्याइएका अध्यादेश पनि निष्क्रिय भएकाले अहिले कानूनकै अभावमा झन्डै रू. १ अर्ब लगानी उपयोगविहीन मात्र बनेको छैन, रेलवे घाटामा सञ्चालन भइरहेको छ । प्रिन्ट संस्करणबाट 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)