ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्दो इन्धन मूल्यले विकास निर्माण प्रभावित

२०७८ चैत, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

चैत ४, काठमाडौं । पछिल्लो समयमा गति लिएको पूर्वाधार निर्माण क्षेत्र इन्धन तथा निर्माण सामग्रीको मूल्य बढेपछि प्रभावित बन्न थालेको छ । 

इन्धन, बिटुमिन र डन्डीको मूल्यमा उल्लेख्य वृद्धिले पछिल्लो समय निर्माण व्यवसायीहरूले कामको गति घटाउन थालेका छन् । 

विकास निर्माणको मुख्य याममै इन्धन, बिटुमिन र डन्डीको मूल्य वृद्धिले विकास निर्माण प्रभावित बन्न थालेको सरकारी अधिकारी र निर्माण व्यवसायीहरू तर्क गर्छन् । 

मूल्य वृद्धिका कारण निगमका नयाँ विकासका योजनाहरू स्थगित गर्ने नेपाल आयल निगमले समेत उल्लेख गरेको छ । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले इन्धनको मूल्य बढ्दा विकास आयोजनाको लागत पनि बढ्ने बताए । 

‘अहिलेसम्म निर्माण व्यवसायीहरूबाट लिखित जानकारी नआए पनि मौखिक रूपमा मूल्य वृद्धिले निर्माण प्रभावित भएको जानकारी आएको छ,’ उनले भने, ‘मूल्य वृद्धिले निर्माण व्यवसायीहरूको लागत बढाउँछ भने उनीहरूले बढेको मूल्यअनुसार लागत दाबी गर्छन् र यसले अन्तत: आयोजनाकै लागत बढाउँछ ।’ पछिल्लो समय इन्धनको मूल्य बढ्दा निर्माण व्यवसायीहरूले काम ढिलो गर्न थालेको नेपालले बताए । 

सार्वजनिक खरीद नियमावलीअनुसार मूल्य वृद्धि उच्च भई लागत बढेमा ठेक्का सम्झौताको अवस्था हेरेर बढीमा २५ प्रतिशतसम्म रकम सम्बद्ध निकायबाट उपलब्ध गराउने प्रावधान छ । सोहीअनुसार निर्माण व्यवसायीको दाबी परेमा मूल्यांकन गरेर थप लागत भुक्तानी गर्नुपर्ने नेपालले उल्लेख गरे । 

विकास निर्माणका सामग्रीहरू इन्धन, बिटुमिन र डन्डीको मूल्य बढेसँगै यसको भार अन्तत: सरकारलाई नै पर्ने उनको भनाइ छ । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मूल्य वृद्धिका कारण काम गर्न नै समस्या भएको र लागत पनि बढ्दो क्रममा रहेको बताए । चर्को मूल्यमा डन्डी, बिटुमिन किनेर निर्माण गर्न नसकिने भन्दै उनले मूल्य वृद्धि निर्देशिका जारी गर्न आग्रह गरे । 

प्रतिकेजी रू. ६० पर्ने डन्डीको मूल्य अहिले बढेर प्रतिकेजी रू. १२६ सम्म पुगेको र अन्य निर्माण सामग्री पनि मूल्य बढेकाले निर्माण लागत महँगो पर्न आएको उनले बताए ।

महासंघको २३ औं साधारणसभामा पनि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मूल्य वृद्धिलाई सम्बोधन गर्न भनिएको उनले बताए । अहिलेसम्म सरकारबाट ठोस पहल नभएको भन्दै उनले शुक्रवार मुख्यसचिव शंकरदास वैरागीसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए । मूल्य वृद्धि सम्बोधनका लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्र बुझाउने उनले उल्लेख गरे । 

एक सातामा आफ्ना माग सम्बोधन नभए  देशभरकै काम रोक्ने चेतावनी उनले दिएका छन् । कालिका कन्स्ट्रक्शन कम्पनीका कार्यकारी निर्देशक निकोलस पाण्डेले बढ्दो इन्धनको मूल्यले निर्माण व्यवसाय क्षेत्र निकै अप्ठ्यारो अवस्थामा रहेको बताए । 

‘काम समयमै सम्पन्न नगर्दा उल्टो जरीवाना तिर्नुपर्छ भने अर्कोतिर सम्झौता म्याद सकिएमा आयोजनाको म्याद थप्न नै जटिल हुन्छ,’ पाण्डेले भने, ‘अहिले अवस्था अप्ठ्यारो रहेकाले काममा ढिलाइ गर्ने अवस्था आएको छ ।’

उनले ठेक्काहरूमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण २० देखि ३० प्रतिशतसम्म कममा ठेक्का पाएको अवस्थामा मूल्य वृद्धिले थप समस्यामा पार्ने बताए । बढ्दो मूल्यका कारण निर्माण व्यवसायीहरू नै समस्यामा पर्न सक्ने र अहिले व्यवसायीहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको उनको भनाइ छ ।

विकास निर्माण रोक्नुभन्दा पनि सरकारसँग छलफल गरेर उपयुक्त बाटो अपनाउन आवश्यक भएको उनले बताए । नेपाल आयल निगमले बुधवार प्रेस विज्ञप्ति जारी गरेर निगमका नयाँ विकास निर्माणका सबै काम रोक्ने सोचमा रहेको उल्लेख गरेको छ । रूस–युक्रेनको जारी तनावका कारण अन्तरराष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)