ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगहरूको उत्पादन प्रभावित

२०७८ चैत, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर ।  नेपाल विद्युत् प्राधिकरणले विनाजानकारी एक मेगावाटभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगहरूको विद्युत् काटिदिएपछि औद्योगिक क्षेत्रमा अन्योल छाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष तथा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले प्राधिकरणले उद्योगहरूलाई विकल्पको व्यवस्था गर्ने समय नदिईकनै एक्कासि विद्युत् आपूर्ति बन्द गरेको बताए ।

उनले भने, ‘कम्तीमा उद्योगहरूलाई सार्वजनिक रूपमा जानकारी दिएर विद्युत् आपूर्ति बन्द गरिनुपर्थ्यो, एक्कासि विद्युत् आपूर्ति बन्द गरेर प्राधिकरणले उद्योगमा एक किसिमको आतंक सृजना गर्‍यो ।’

कोरोनाका कारण थलिएका उद्योगहरू लयमा फर्कने बेलामा विद्युत् कटौती भएपछि उद्योगीहरू समस्यामा परेका छन् । डिजेल प्लान्टबाट उद्योग चलाउनुपर्ने अवस्था आउँदा उत्पादनको लागत मूल्यसमेत बढ्ने राउतले बताए । सरकारको गैरजिम्मेवारीपनको नमूना विद्युत् आपूर्ति कटौतीले देखिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले बताए ।

उनले भने, ‘सरकारले भारतसँग १ दिनका लागि विद्युत् बिड गर्न नसक्नु लाजमर्दो विषय हो ।’

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले मन्त्री तथा विद्युत् प्राधिकरणले पटकपटक विद्युत् पर्याप्त छ, खपत बढाऔं भन्ने अनि सानो समस्या आउँदा उद्योगहरू घण्टौं बन्द गर्नुपर्ने अवस्था आउनु सरकारको नालायकीपन भएको बताए । प्राधिकरणले पूर्वसूचना नदिएर सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा करोडौंको क्षति गराएको उनले बताए । विद्युत् आपूर्ति जस्तो संवेदनशील क्षेत्रमा सरकार गैरजिम्मेवार हुनु अन्यन्त दुःखद भएको उनको भनाइ छ ।

रूस युक्रेन युद्धका कारण पत्थर कोइलाको मूल्य बढेकाले भारतले सञ्चालन गर्दै आएको थर्मल प्लान्टबाट उत्पादित विद्युत्को लागत बढ्न गएपछि नेपालमा विद्युत्को आपूर्ति एक्कासि बन्द गरिदिएको हो । दुहबी ग्रीडका प्रमुख राजेश रेग्मीले विहारको कटैया पावर हाउसबाट १९० मेगावाट विद्युत् आपूर्ति भइरहेकोमा मंगलवारबाट शून्यमा झरेको बताए । ‘बुधबार दिउँसो ३० मेगावाट विद्युत् कटैयाबाट आएकाले वितरण गरिए पनि साँझ फेरि कटौती भएको छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)