ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राधिकरणले भारतबाट विद्युत् लिन सकेन

२०७८ चैत, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । भारतीय खुला बजारमा विद्युत्को मूल्य आकाशिएपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् आपूर्तिमा समस्या परेको छ ।

प्राधिकरणले बिडिङमा प्रस्ताव गरेको दरभन्दा भारतीय खुला बजारमा कायम हुने दर बढी भएपछि यस्तो अवस्था आएको हो ।

हिउँदमा प्राधिकरणले भारतीय खुला बजारबाट बिडिङमार्फत विद्युत् किनेर स्थानीय बजारमा आपूर्ति गर्दै आएको छ । पछिल्लो २ दिन (मंगलवार र बुधवार) बिडिङमा प्रस्ताव गरेको दरभन्दा खुला बजारको मूल्य बढी हुँदा प्राधिकरणले भारतबाट बिजुली पाउन नसकेको हो  ।

बुधवार प्रतियुनिट १२ रुपैयाँ ८ पैसामा विद्युत् किन्ने गरी प्राधिकरणले बिड गरेको थियो । तर, भारतीय खुला बजारमा बिजुलीको औसत मूल्य प्रतियुनिट झन्डै १८ रुपैयाँ (भारतीय ११ रुपैयाँ २० पैसा) पुग्यो । फलस्वरूप, दर नमिल्दा प्राधिकरणले भारतीय खुला बजारबाट विद्युत् खरीद गर्न सकेन ।

प्राधिकरणले बिहीवारका लागि १९ रुपैयाँ २० पैसामा बिडिङ गरे पनि पाउन नसकेको प्रवक्ता सुरेश भट्टराईले बताए । बिहीवारका लागि विद्युत्को अधिकतम मूल्य प्रतियुनिट ३२ रुपैयाँ (२० भारू) रहेको उनको भनाइ छ ।

प्राधिकरणले भारतबाट विद्युत् किन्न अघिल्लो दिनमै बिड प्रस्ताव गर्नुपर्छ । प्राधिकरणले भोलिपल्टका लागि अघिल्लो दिनमै ९६ ओटा बिड प्रस्ताव गर्र्ने गर्छ । ‘बिहीवारका लागि पनि सोहीअनुसार बिड प्रस्ताव गरेका थियौं । तर, त्यसमा आठओटा मात्र स्वीकृत भयो,’ भट्टराईले भने । यतिखेर भारतका जलविद्युत् आयोजना पूर्ण क्षमतामा नचलेको र  त्यसमा विद्युत् उत्पादन गर्ने प्रमुख माध्यम मानिएको कोइलाको समेत अभाव भएकाले मूल्य बढेको बताइन्छ ।

अहिले प्राधिकरणले औसतमा प्रतियुनिट १० रुपैयाँमा आफ्ना ग्राहकलाई विद्युत् विक्री गर्दै आएको छ । यस्तोमा प्रतियुनिट ३२ रुपैयाँसम्म लगानी गरेर विद्युत् आपूर्ति गर्दा प्राधिकरणलाई समस्या हुने भट्टराई बताउँछन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रका लागि महँगोमा  भए पनि विद्युत् किन्ने बताए । ‘अन्य ग्राहकलाई विद्युत् पुग्दो नै छ । तर, उद्योग क्षेत्रका लागि विद्युत् आपूर्ति गर्न चुनौती भएको छ,’ उनले भने, ‘तर, उद्योगका लागि महँगो दरमा भए पनि विद्युत् ल्याएर आपूर्ति पूरा गर्छाैं ।’

प्राधिकरणकै एक अधिकारी भने नेतृत्वले नाफा कायम राख्न खोज्दा विद्युत् खरीदमा समस्या परेको दाबी गर्छन् । ‘वर्षभरि खरीद गर्दा कहिले घाटा कहिले नाफा हुन्छ नै,’ उनले भने,  ‘अहिले पनि मूल्य बढ्यो भन्दैमा खरीदमा आनाकानी गर्दा आपूर्तिमा समस्या आयो ।’ नेपालको विद्युत् जलप्रवाहमा आधारित छ ।

हिउँदमा खोलामा पानी घट्दा विद्युत् उत्पादन कम हुन्छ र भारतबाट आयात गर्नुपर्छ । वर्षात्मा भने विद्युत् खेर जान्छ । त्यसबेला नेपालले भारतमा विद्युत् निर्यात गर्ने गरेको छ । अहिले नेपालमा ८०० मेगावाट हाराहारी विद्युत् उत्पादन भएको छ । तर, माग भने १६०० मेगावाटको गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)