चैत १०, काठमाडौं। विद्युतीय संकट निम्तिएको भन्दै नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा प्रयोग हुने विद्युत्को मूल्य बढाउने तयारी गरेको छ ।
त्यसका लागि प्राधिकरणले बिहीवार उद्योगी व्यवसायीसँग छलफल पनि गरेको छ । बिहीवार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ लगायत संस्थाका पदाधिकारीसँग छलफल गर्दै प्राधिकरणले भारतबाट आयात भएको विद्युत्को मूल्य सोही अनुसार बढाउने विषयमा प्रस्ताव गरेको थियो ।
सो विषयमा उद्योगीले छोटो समयका लागि उत्पन्न संकटलाई हेरेर मूल्य बढाउन उपयुक्त नहुने धारणा राखेका थिए ।
उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णु अग्रवालले प्राधिकरणले विद्युत्को मूल्य बढाउन खोजेको भन्दै छोटो समयका लागि उत्पन्न परिस्थितिमा मूल्य बढाइहाल्न आवश्यक नरहेको बताए ।
‘प्राधिकरणले भारतबाट महंगोमा विद्युत् खरीद गर्ने स्थिति आएकाले औद्योगिक क्षेत्रमा प्रयोग हुने विद्युत्को मूल्य बढाउन खोजेको छ’ सीएनआई अध्यक्ष अग्रवालले अभियानलाई भने, ‘छोटो समयका लागि उत्पन्न परिस्थतिमा मूल्य बढाइहाल्नु पर्दैन । त्यसले उत्पादन लागत महंगो बनाउने र समग्र मूल्यवृद्धि बढाएर उपभोक्तालाई नै मारमा पार्ने हुन्छ।’
अग्रवालले विद्युत् प्राधिकरण नाफा कमाउने संस्था नभएर सेवा मुलक संस्थ भएकाले नाफा प्रयोग गरेरै भएपनि तत्काल औद्योकि क्षेत्रलाई चल्तीकै मूल्यमा विद्युत् उपलब्ध गराउनुपर्ने बताए ।
यसअघि भारतबाट आयातित विद्युत् मंगलवार र बुधवार महंगो परेको भन्दै प्राधिकरणले उद्योगहरुमा विद्युत् आपूर्ति घटाएको थियो । त्यसपछि उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर विद्युत् आपूर्ति नियमित गर्नका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
नेपाल विदुत् प्राधिकरणले भारतबाट आउने विद्युत् महंगो परेको भन्दै उद्योगहरुमा विद्युत्को आपूर्ति घटाएपनि बिहीवार रातीदेखि नियमित विद्युत् आपूर्ति हुने जानकारी गराएको छ ।
बिहीवार दिउँसो पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अन्तरराष्ट्रिस्तरमै विद्युतीय संकट उत्पन्न भएकाले समाधानका लागि पहल भइरहेको जानकारी गराएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीवार उद्योगी व्यवसायीहरुसँग समेत छलफल भएकाले कुनैपनि हालतमा विद्युत् कटौती नहुने बताए । यद्यपि उद्योगी व्यवसायीहरुसँगको छलफल सकारात्मक रहेको घिसिङको भनाई थियो ।
पछिल्लो समय भारतबाट आयात गर्नुपरेको विद्युत् महंगो भएकोले केही दिन समस्या आएपनि समस्या दीर्घकालीन नरहने कार्यकारी निर्देशक घिसिङले विश्वास व्यक्त गरे ।
‘विद्युत् संकट नेपालमा मात्रै होइन । अन्तरराष्ट्रिय संकट हो । भारतका उत्पादन हुने विद्युत्को करीब ७० प्रतिशत कोइलामा निर्भर छ । भारतबाट नेपालले आयात गर्न पाउने भनेको त्यही कोइलाबाटै उत्पादन हुने बिजुली मात्रै हो’ कार्यकारी निर्देशक घिसिङले भने, ‘कोइलाबाट मात्रै उत्पादन गरेको बिजुली नेपालमा सप्लाई गर्न पाउने व्यवस्था भारतमा रहेका कारण नेपालले खरीद गर्ने बिजुली महंगो भएको हो ।’
पछिल्लो समय विद्युत्को माग बढेको नेपाल विदुत प्राधिकरणको भनाई छ । अहिले ३ सय देखि साढे ३ सय मेगावाट विद्युत् आयात गरी आपूर्ति गर्दै आएको प्राधिकरणले वर्षायाममा समस्या नहुने बताएको छ ।
जेठ महीनापछि नेपालको विद्यत् उत्पादन बढ्ने भन्दै आगामी वर्ष नेपालको विद्युत् उत्पादन नै २२ सय देखि २३ सय मेगावाट हुने घिसिङले बताए ।
वर्षामा ४ देखि ५ सय मेगावाट स्पिल हुने घिसिङको भनाई थियो । अहिले १६ सय मेगावाट विद्युत् माग भएकोमा ३ देखि साढे ३ सय मेगावाट कमी रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
प्राधिकरणले भारतबाट ३८ रुपैयाँ युनिटका दरले विद्युत् खरीद गरेर नेपालमा सस्तोमा बेच्दा घाटा बढ्ने बताएको छ । अहिले भारतबाट खरीद गरेर उपलब्ध गराइरहेको मूल्य अनुसार विद्युत्को कारोबार गर्दा आगामी ३५ दिनमा ८ अर्ब रुपैयाँ घाटा बेहोर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ ।