ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल हस्तान्तरण

२०७८ चैत, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रतीकात्मक साँचो परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गर्दै चिनियाँ समकक्षी वाङ यी । तस्वीर : रासस
author avatar विजय दमासे

काठमाडौं । चीनले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कामार्फत विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरेका हुन् ।

हालसम्म विमानस्थलको भौतिक प्रगति ९३ र वित्तीय प्रगति ७४ प्रतिशत रहेको छ । नेपाल सरकारले विमानस्थल निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सीएएमसीईलाई दिएको थियो । हालसम्म विमानस्थलको २ हजार ५ सय मिटर रनवे, एप्रोन, ह्यांगर, टर्मिनल भवनलगायत ठूला निर्माणका सम्पूर्ण काम सकिएका छन् ।

 नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलबाट कम्तीमा दैनिक ६ अन्तरराष्ट्रिय र ४८ आन्तरिक उडान गर्न सकिनेछ । हाल उक्त विमानस्थलबाट आन्तरिक उडान मात्र भइरहेका छन् ।

विमानस्थल चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा निर्माण गरिएको हो । चीनबाट लिइएको कर्जाको ब्याजदर दुई प्रतिशत रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ, जुन ब्याजदर अन्य दाताबाट लिइएको भन्दा बढी रहेको भन्दै विरोध हुने गरेको छ । विमानस्थल निर्माणको ठेक्का पनि चीन सरकारकै स्वामित्वमा रहेको सीएएमसीईले पाएको थियो ।

चीनसँग ९ सम्झौता
यसैबीच, नेपाल–चीनबीच काठमाडौं–केरुङ रेलवे परियोजनाको सम्भाव्यता अध्ययनदेखि अरनिको राजमार्ग मर्मतसम्मका ९ ओटा सम्झौता भएको छ । चिनियाँ विदेश मन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काको उपस्थितिमा ती परियोजनाबारे छुट्टाछुट्टै सम्झौता भएका हुन् ।

आर्थिक तथा प्राविधिक सहयोग, चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन, नेपाल–चीन पावर ग्रीड इन्टर–कनेक्सन सम्भाव्यता अध्ययन,  सुरक्षित रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्ने लगायत सम्झौता भएका छन् ।

त्यस्तै, चीनमा निर्यात हुने ९८ वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमय पत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मत सम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ का लागि चीन सहायताअन्तर्गत पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप आपूर्ति हुने पनि सम्झौता भएको छ ।

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउने सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको अर्थ मन्त्रालयले बताएको छ ।

आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी तथा नेपाल–चीन अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि चीनकी राजदूत होउ यान्छीले हस्ताक्षर गरे । नेपाल–चीन पावर ग्रीड इन्टर–कनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की र राजदूत होउले हस्ताक्षर गरे ।

सुरक्षित रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा पशुपक्षी विकास सचिव निरु दाहाल र चिनियाँ राजदूतले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, चीनमा निर्यातका लागि ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमय पत्रमा वाणिज्य सचिव गणेशप्रसाद पाण्डे र चीनको वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङले हस्ताक्षर गरे । अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणसम्बन्धी दस्ताबेजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सहसचिव शेङले हस्ताक्षर गरे ।

सोही कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री खड्काले नेपाल–चीन सीमा नाका सञ्चालन नहुँदा अर्थतन्त्रमा परेको प्रभाव, कोभिड–१९ को महामारीले आर्थिक गतिविधिमा थपेको समस्या, अर्थतन्त्रको पुनरुत्थानमा देखिएको चुनौती, घट्दो विप्रेषण मुलुकले झेल्नुपरेका चुनौतीबारे प्रकाश पारेका थिए ।

उनले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध थप सुदृढ गर्न तथा द्विपक्षीय व्यापार–वाणिज्य प्रवद्र्धनका निम्ति सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण अपरिहार्य भएकाले हिमालय सीमापार सम्पर्क सञ्जाल विस्तार गर्ने विगतको सहमति कार्यान्वयन गर्नेतर्फ चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए । मन्त्रालयमा भएको दुई समकक्षीबीचको भेटवार्तामा विभिन्न आयामका बारे छलफल भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

विदेशमन्त्री वाङ र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको कूटनैतिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)