काठमाडौं । २४ वर्षअघि प्लाष्टिकको त्रिपालमुनि चाउमिन, मम बेच्ने लक्ष्मण न्यौपाने अहिले झण्डै ७ अर्ब रुपैयाँ लगानीको व्यावसायिक घराना सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी हाँकिरहेका छन् । नेपालको सफल हस्पिटालिटी व्यवसायको रूपमा यसको पहिचान बनेको छ । ग्रुप अध्यक्षमा ५१ वर्षका लक्ष्मण छन् ।
शुरूको पारिवारिक व्यवसायमा अहिले ८० भन्दा बढी साझेदार छन् । वार्षिक २४ प्रतिशत ब्याजमा ५० हजार रुपैयाँ ऋण लिएर टीकापुरमा शुरू गरेका सिद्धार्थ गेष्ट हाउस न्यौपानेको पहिलो भेन्चर थियो । उनका बुबा कहिले भारतको मुम्बईमा सिल्क साडीको व्यापार गर्थे त कहिले आसामको गुवाहाटीमा गाईवस्तु पालेर दूध र खाद्यान्न विक्री गर्थे । बुबासँगै गुवाहाटी बसेका लक्ष्मणलाई त्यहाँ बस्न मन लागेन ।
नेपाल त आए, यहाँ टिक्ने उचित वातावरण देखेनन् । साथीहरूसँग पुनस् भारत फर्किए । यसपटक उनको गन्तव्य आसाम नभई दिल्ली र मुम्बई शहर बन्यो । गुल्मीमा जन्मिएका न्यौपानेको मनमा स्वदेशमा केही गर्नुपर्छ भन्ने हुटहुटी भने जहाँ पुगे पनि मरेन । मुम्बईमा साडी व्यापार गर्दा उनले सुदूरपश्चिममा राम्रो विकास हुँदै गरेको सुने । जनसंख्या कम भएको, कसैले नचिनेको र कसैको सम्पर्क नहुने गुल्मीमै व्यवसाय गर्ने सोच बनाएका उनलाई यो खबरले विकल्प दियो ।
पुन: नेपाल फर्किएका न्यौपानेले कैलालीको टीकापुरलाई कर्मथलो बनाउने निधो गरे । ‘आफ्नै गाउँठाउँमा काम गर्न सहज छैन,’ न्यौपाने भन्छन्, ‘अहिले युवाहरू नेपालमा काम नपाएर विदेश गएका होइनन् । कुल्ली काम गर्नेले पनि यहाँ २५–३० हजार रुपैयाँ कमाउँछ । तर, उनीहरूलाई आफ्नो ठाउँमा काम गर्न अप्ठेरो लाग्छ । काम गर्नेको सम्मान नहुने कारणले यस्तो भएको हो । मैले गुल्मी छाडेर टीकापुर रोज्नुको कारण पनि त्यही थियो ।’
‘अहिले नेपालका व्यावसायिक घराना तथा ठूला बिजनेश हाउसको पृष्ठभूमि हेर्दा पनि उनीहरूले आफ्नो थातथलोमा नभई अन्यत्रै पुगेर प्रगति गरेको देखिन्छ,’ न्यौपाने भन्छन्, ‘नयाँ ठाउँमा जाँदा व्यक्तिको शीप, मेहनत र कामबाहेक अरू कुराको मतलब हुँदैन । जस्तो कि विदेशबाट आउँदा मान्छे र कमाइ हेरिन्छ, के काम गर्थ्यो हेरिँदैन ।’ आफ्नै गाउँठाउँमा व्यवसाय गर्दा धेरै कुराले प्रभाव पार्ने उनको अनुभव छ ।
उनले चर्को ब्याजको ऋण लिएर २०५४ सालमा टिकापुरमा त्रिपालको छाप्रोमा चाउमिन र मम पसल सुरु गर्दा नेपाल भ्रमण वर्ष–१९९८ चलिरहेको थियो । त्यसको दुई वर्षभित्रै, २०५६ सालमा टीकापुरमै नौ कोठे ‘हिमाल गेष्ट हाउस’ शुरू गरे । पछि उनले त्यसको नाम परिवर्तन गरी ‘सिद्धार्थ गेष्ट हाउस’ बनाए । त्यही नामबाट अहिले ‘सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी’ माउ संस्था बनेको छ ।
‘बिजनेश गर्छु र यही क्षेत्रमा सफल बन्छु भन्ने भित्री मनमै थियो,’ उनी भन्छन्, ‘त्यो आत्मविश्वास नभएको भए आज म यहाँ आइपुग्ने थिइनँ, सफल हुन धैर्य र आत्मविश्वास जरुरी हुन्छ ।’
आज नभए, भोलि हुन्छ भन्ने सकारात्मक सोचले आफूलाई सधैं आशावादी बनाएको उनले सुनाए । यो ग्रुपले अहिले देशका विभिन्न भागमा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफे र कटेज सञ्चालन गरिरहेको छ । पहिला बैंकसम्म पुग्न नसक्दा चर्को ब्याजमा ऋण लिएको अनुभव संगालेका लक्ष्मण पैसाभन्दा इमानदारी, काममा लगावलाई सफलताको सूत्र मान्छन् । आफ्नो व्यावसायिक समूहको नाम शान्तिदूत सिद्धार्थ गौतमसँग जोडिएकोले त्यसले खराब काम गरे बुद्धकै नाम कलंकित हुने डर उनलाई छ ।
आत्मविश्वास र धैर्यलाई सफलताको सूत्र मान्ने लक्ष्मण आफ्ना योजना साथीहरुलाई पनि सुनाउने गरेको बताउँछन् । उनको पछिल्लो परियोजना भैरहवामा निर्माणाधीन होटल सिद्धार्थ ६ महीनाभित्र सञ्चालनमा आउँदैछ । पाँचतारे स्तरको उक्त होटल १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा तयार हुनेछ ।
‘दुई वर्षभित्र सञ्चालन गरिसक्ने योजना साथ होटल निर्माण शुरू गरेकोमा कोभिड–१९ ले पछि धकेल्यो,’ उनले सुनाए । नुवाकोटमा पनि सिटी डिलक्स स्तरको होटल खोल्ने न्यौपानेको योजना छ । उक्त ग्रुपको सुर्खेत, नेपालगञ्ज र काठमाडौंको बौद्धमा गरी चारतारे स्तरका ३ होटल सञ्चालनमा छन् । पहिलोपटक भैरहवामा ५ तारे होटल सञ्चालन हुँदैछ ।
जुम्लामा जग्गा किनेको र केही वर्षमा व्यवसाय शुरू गर्ने योजना उनले सुनाए । रारा जाने योजना जग्गाका कारण अन्योलमा परेको उनको भनाइ छ । यसैगरी, कुरिनटारमा क्षमता विस्तार र इलामको कन्याममा काम भइरहेको छ ।
जुम्लामा खस आर्य उद्गमस्थलको पहिचान झल्किने गरी होटलको डिजाइन बनाउँदै गरेको उनले बताए । सिद्धार्थले अहिलेसम्म कसैलाई फ्रेन्चाइज दिएको छैन । यसलाई अन्तरराष्ट्रिय चेन ब्राण्ड बनाउने सपना उनको छ । सोही अनुसार काम भइरहेको अध्यक्ष न्यौपानेले सुनाए ।
सिद्धार्थ ग्रुपले १५ सयभन्दा बढीलाई रोजगारी दिएको छ, जसमा स्थायी कर्मचारी हजार हाराहारी छन् । निर्माणाधीन परियोजनाले पाँच सय हाराहारीलाई रोजागारी दिएको छ । सिद्धार्थ ग्रुपको लगानी कैलाली, नेपालगञ्ज, काठमाडौं (सुन्धारा, तीनकुने, पुरानो बानेश्वर, कोटेश्वर), ललितपुर, रूपन्देही, सुर्खेत, चितवन, झापासम्म विस्तार भएको छ ।