ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुर–जयनगर रेल शनिवारदेखि यात्रुसहित गुड्ने

प्रतियात्रु भाडा ९० देखि ४५० रुपैयाँसम्म

२०७८ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । १९ महीनाअघि भारतबाट ल्याइएका दुई थान रेल आगामी शनिवारदेखि यात्रुसहित गुड्ने भएका छन् । चैत १९ गते शनिवार रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रेलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटर खण्डमा यात्रुसहित रेल चल्न थाल्नेछ । चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने कार्यक्रम छ । देउवा भारत भ्रमणमा रहेका बेला नै रेल उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । ‘दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेल उद्घाटन गर्नुहुनेछ,’ झाले भने, ‘नेपालबाट उक्त रेलमार्गमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री लगायतको भौतिक उपस्थिति हुनेछ ।’

२०७७ असोजमा ल्याइएका दुई थान रेल माघ अन्तिमसम्म पार्किङमै थिए । कानून, कर्मचारी र बजेटको अभाव देखाउँदै रेल सञ्चालनको तिथि पटक–पटक सारिएको थियो । कानूनी बाधा फुकाउन भन्दै तेस्रोपटकसम्म सरकारले रेलवे अध्यादेश ल्याइसकेको छ । गत साता तेस्रोपटक अध्यादेश जारी भएको थियो । गत बुधवारको नेपाल राजपत्रमा पछिल्लो अध्यादेश प्रकाशित भएको छ । अध्यादेशमार्फत कानूनी बाधा फुकाइएपछि प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेला रेल उद्घाटन गर्ने बाटो खुलेको हो ।

लामो समयदेखि पार्किङमा रहेका ती रेल फागुन १ गतेदेखि यात्रु नबोकी गुडिरहेका थिए, अब भने रेलमा यात्रा गर्न पाइनेछ । सिटमा बसेर र उठेर ती रेलमा करीब २ हजार ६०० यात्रुले एकैपटक यात्रा गर्न सक्छन् । झाले रेलको भाडासमेत तोकिएको जानकारी दिए । त्यसअनुसार सामान्य सिटका लागि प्रतियात्रु ९० र एसी भएकोमा ४५० रुपैयाँ भाडा तोकिएको छ ।

नेपाल–भारतका सीमावर्ती क्षेत्रका प्रमुख गन्तव्यलाई रेल लिंकले जोड्ने उद्देश्यले विभिन्न पाँचओटा लिंक बनाउने घोषणा गरिएको छ, त्यसमध्ये पहिलो चरणमा जनकपुर–जयनगरमा रेल चल्न लागेको हो । सरकारले गतवर्ष १ अर्ब रुपैयाँ लगानीमा भारतीय रेलवे कम्पनी कोंकणबाट रेल किनेको थियो । रेल चलाउन भारतबाट २६ जना कर्मचारी आएका छन् । नेपाली कर्मचारी ५६ जना छन् ।

काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन छिट्टै
सरकारले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले चीनबाट हुने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला नेपाल र चीनबीच यो रेलमार्गको अध्ययन अघि बढाउने समझदारी भएको थियो । चीन सरकारको सहयोगमा प्रारम्भिक अध्ययन भइसकेको रेलमार्गको अब विस्तृत सम्भाव्यता अध्ययन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले जानकारी दिए । चीनको सहयोगमा अध्ययन हुने यो रेलमार्गको अध्ययन छिट्टै हुने भनिए पनि चीनमा पुनः देखिएको कोरोनाका कारण कहिले शुरू हुन्छ भन्ने यकिन नभएको शर्माले बताए । यसअघि पनि कोरोनाकै कारण यो रेलमार्गको बाँकी काम रोकिएको थियो । चीन सरकारको सहयोगमा भएको प्रारम्भिक अध्ययनले ९ वर्षमा काठमाडौं–केरुङ रेलमार्ग निर्माण गर्न २ खर्ब ५७ अर्ब लगानी आवश्यक पर्ने देखाएको थियो । २०७५ वैशाखदेखि काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन थालिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)