ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतसँगै व्यावसायिक कृषिमा पनि प्रवेश गर्‍यो अपि पावर

२०७८ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । विद्युत् उत्पादनमा सक्रिय रहेको अपि पावर कम्पनी व्यावसायिक कृषिमा समेत प्रवेश गरेको छ । अपि ‘लटिनाथ कृषि कम्पनी’ नामको फर्म खोलेर व्यावसायिक कृषिमा प्रवेश गरेको हो । 

अपिले २ महीनाअघि १० करोड पूँजीको उक्त कम्पनी स्थापना गरेको बताएको छ । सोही कम्पनीमार्फत आफ्नो लगानीका विद्युत् आयोजना परिसरमा कृषि व्यवसाय शुरू गरिसकेको अपिले बताएको छ । 

जलविद्युत् र सोलार आयोजनाका लागि लिएको जग्गामा बाख्रापालन, तरकारी र कफीखेती, बेर्ना उत्पादन तथा फलफूलको नर्सरी बनाउने गरी नयाँ कम्पनी स्थापना गरिएको हो । तीमध्ये अधिकांश व्यवसाय शुरु भइसकेको छ । निकट भविष्यमा माछापालन, जडीबुटी उत्पादन जस्ता व्यवसाय समेत थप गर्ने कम्पनीको उद्देश्य छ । विद्युत् आयोजना र कृषि व्यवसायलाई एकअर्काको परिपूरकको रूपमा विकास गर्ने लक्ष्य लिएको अपि पावरका संस्थापक अध्यक्ष गुरूप्रसाद न्यौपानेले बताए । उनका अनुसार जलविद्युत् र सोलार आयोजना परिसरका जग्गा प्रयोगविहीन छन् । आयोजना निर्माणका क्रममा बनाइने सडक, भवन लगायत पूर्वाधार आयोजना बनिसकेपछि प्रयोग नभएको अवस्था छ । यस्तो जग्गामा कृषि व्यवसाय गर्न थालेको संस्थापक अध्यक्ष न्यौपानेले बताए । 

‘अर्बौं खर्च गरेर जलविद्युत् आयोजना निर्माण गरिन्छ । तर, निर्माण सम्पन्न भएपछि प्रसारण लाइन अन्तर्गतका जग्गा, आयोजना प्रभावित जग्गा, सामान स्टोर गर्न बनाइएका भवन, सडक, पावरहाउस परिसरका जग्गा प्रयोगविहीन हुन्छन्,’ उनले भने, ‘त्यसमाथि कर्मचारी पनि यत्तिकै बस्नुपर्ने अवस्था हुन्छ । ती चिजलाई सदुपयोग गर्ने गरी हामीले कृषिलाई परिपूरक व्यवसायको रूपमा अगाडि बढाएका हौं ।’  

कृषि व्यवसाय र विद्युत् आयोजनाबीच अप्रत्यक्षमा रूपमा घनिष्ट सम्बन्ध हुने उनको भनाइ छ । सोहीअनुसार अपिले विद्युत् उत्पादनसँगै कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाएको न्यौपानेले बताए ।

अपिले आफ्नो पनि शेयर भएको पाँचथरस्थित काबेली बी १ जलविद्युत् आयोजनामा बाख्रापालन शुरू गरेको छ । त्यहाँ २ सय बाख्रा पाल्न थालिएको छ । सोही आयोजना परिसरमा कफी खेती समेत शुरू गरिएको कम्पनीको भनाइ छ ।

इनुवाखोला जलविद्युत् आयोजना परिसरमा पनि कफी खेती शुरु गरिसकेको छ । चन्द्रनिगाहपुरस्थित अपि पावरको सोलार प्लान्टमा पनि सय–सय क्षमताको बाख्रा फार्म बनाइएको छ, त्यहाँ पनि क्षमता अनुसार बाख्रापालन गर्न शुरु गरिएको संस्थापक अध्यक्ष न्यौपानेले बताए ।

‘यसरी हामीले विद्युत् उत्पादनसँगै कृषिलाई परिपूरक व्यवसायको रूपमा अगाडि बढाइसकेका छौं । भविष्यमा अन्य आयोजनामा पनि कृषि व्यवसाय शुरू गर्नेछौं । यसको लागि योजनाबद्ध रूपमै काम गरेका छौं,’ उनले भने, ‘यो वर्ष ५० हजार कफीका बेर्ना रोप्ने योजना छ । सुदूरपश्चिममा बन्दै गरेको र बनिसकेको कम्पनीको आयोजना (अपर चमेलिया, नौगढ गाड र अपर नौगढ गाढ) परिसरमा भने जडीबुटी उत्पादनको काम गर्ने योजना छ ।’ 

निकट भविष्यमा कफी निर्यात गर्ने उद्देश्यसहित काम गरिएको उनको भनाइ छ । भविष्यमा थप जग्गा भाडामा ल्याएर पनि कृषि व्यवसाय गरिने उनले बताए ।  हाल कम्पनीले ८ मेगावाटको नौगढ गाड जलविद्युत् आयोजना, साढे ८ मेगावाटको अपर नौगढ गाड जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ । साथै, ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना पनि कम्पनीले निर्माण गरिरहेको छ ।

यसका अलावा कम्पनीले चन्द्रानिगाहपुर लगायत तराई क्षेत्रमा ३ ओटा सोलार प्लान्ट पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले तत्काल थप विद्युत् आयोजना बनाउने योजना बनाएको छैन । अब कृषिलाई नै प्राथमिकताका साथ अगाडि बढाइने न्यौपानेको भनाइ छ । 

‘जलविद्युत् आयोजना निश्चित समयपछि सरकारलाई हस्तान्तरण गर्नुपर्छ । त्यसपछि कम्पनीको आम्दानीको स्रोत नै हुँदैन,’ उनले भने, ‘हामीले अहिलेदेखि नै कृषि व्यवसाय गर्न शुरु गरेमा आयोजना हस्तान्तरण भएपछि पनि कम्पनीको आम्दानी भइरहन्छ ।

किनकि, कृषि व्यवसाय सरकारलाई हस्तान्तरण गर्न पर्दैन । यसरी कम्पनीलाई दीर्घकालीन रूपमा विकास गर्ने लक्ष्यसहित कृषि व्यवसाय अगाडि बढाएका हौं ।’ हालसम्म अन्य कम्पनीले जलविद्युत् आयोजना परिसरमै कृषि व्यवसाय गर्न शुरु गरेको पाइँदैन । यसलाई विद्युत् क्षेत्रकै नयाँ आयामको रूपमा लिनुपर्ने जानकार बताउँछन् । 

न्यौपानेले चैत २५ गतेदेखि विक्रीमा आउन लागेको कम्पनीको हकप्रद शेयरमा ढुक्क भएर लगानी गर्न पनि लगानीकर्तालाई आग्रह पनि गरे । कम्पनीले चैत २५ गतेदेखि १ः३९ (१०० कित्ता बराबर ३९ कित्ता) को अनुपातमा हकप्रद जारी गर्दैछ । त्यसमा लगानी गर्दा उचित प्रतिफल पाइने उनको भनाइ छ । 

‘हकप्रद विक्रीपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ८४ करोड पुग्छ । कम्पनीको सबै आयोजना सञ्चालनमा आएपछि वार्षिक आम्दानी २ अर्ब १० करोड रूपैयाँ पुग्छ,’ उनले भने, ‘जुन चुक्तापूँजीको ५४ प्रतिशतभन्दा बढी हो । त्यसमा खर्चहरू कटाउँदा ४० प्रतिशतभन्दा बढी खुद नाफा कमाउँछौं । त्यो अवस्थामा लाभांश पनि राम्रो नै दिइन्छ । तसर्थ, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)