ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चौधरी ग्रूपको पहिलो उद्योग बन्द, भारतीय अवैध आयातले बजार गुमाउँदै नेपाली उद्योग

२०७८ चैत, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

चैत १७, विराटनगर । व्यावसायिक घराना चौधरी ग्रूपको पहिलो उद्योग पशुपति बिस्कुट १५ दिनका लागि बन्द गरिएको छ । स्टक बढी भएको र बजारमा माग कम भएको भन्दै उद्योगले सूचना प्रकाशित गरी उत्पादन बन्द गरेको जानकारी दिएको छ । 

पछिल्लो समय खुला सिमानाबाट अवैध रुपमा भारतीय बिस्कुट भित्रिँदा घरेलु बजारमा स्वदेशी बिस्कुटको माग घटेको छ । 

अल्पकालीन रूपमा उत्पादन बन्द गरिए पनि स्टकमा रहेको बिस्कुट विक्री गर्ने तथा प्रशासन र अन्य शाखा सञ्चालनमा रहने उद्योगका प्रशासन प्रमुख भरत सिलवालले बताए । विद्युत् आपूर्तिमा देखिएको समस्या र कच्चा पदार्थ घिउलगायतमा भएको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै जानु र बजारमा भारतीय बिस्कुटको अवैध आयात निर्बाध हुनुले नेपाली बिस्कुटको बजार खुम्चँदै गएकाले केही दिनलाई उत्पादन रोक्नुपरेको सिलवालले बताए । उनले ६० हजार कार्टुन स्टक रहेकाले केही दिनलाई उत्पादन बन्द गरेको जानकारी दिए । 

सूचना नै प्रकाशित गरेर उद्योग बन्द गरिएको यो पहिलोपटक हो । ४८ वर्षअघि २०३० सालमा चौधरी ग्रूपका संस्थापक लुनकरणदास चौधरीले यो उद्योग स्थापना गरेका थिए । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा उद्योग स्थापनाको स्वर्णिम समयमा खुलेको पशुपति बिस्कुटको नेपाली बजारमा झन्डै ८० प्रतिशत वर्चस्व थियो । पशुपति बिस्कुट उद्योग वसन्त चौधरीको भागमा परेको छ । यो उद्योग उनैले सञ्चालन गर्दै आएका छन् । उद्योग अल्पकालीन बन्द भनिए पनि बजार खुम्चँदै र कच्चा पदार्थ महँगिँदै गएकाले लामो समय बन्द हुन सक्ने स्रोतले बताएको छ । स्रोत भन्छ, ‘पशुपति मात्रै होइन, बैंकले तनाव नदिने हो भने अहिलेको परिवेशमा ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा छन् ।’

सिलवालले श्रम ऐन २०७४ को दफा १५ बमोजिम चैत १६ देखि लागू हुने गरी १५ दिनका लागि उद्योगको उत्पादन रोकिने सूचना गरेका छन् । ‘उक्त अवधिबीच उद्योग पूर्ण वा आंशिक रूपमा सञ्चालन गर्नुपर्ने भएमा त्यसको अग्रिम सूचना दिइनेछ । प्रशासन, सुरक्षा, लेखा र विक्री विभागसम्बन्धी कार्य आवश्यकताअनुसार सञ्चालनमा रहनेछ,’ सूचनामा भनिएको छ । 

सिलवालले श्रम तथा रोजगार कार्यालयको स्वीकृति लिएर नियमअनुसार नै उत्पादन स्थगित गरिएको बताए । उनले बन्दाबन्दीको अवधि र त्यसभन्दा पहिले उद्योग २४ घण्टा सञ्चालन भइरहेको स्मरण गरे । बन्दाबन्दी खुलेपछि भारतबाट चोरी पैठारी भई आएका बिस्कुटसित प्रतिस्पर्धा गर्न गाह्रो भएकाले उद्योग सञ्चालन ८ घण्टामा झार्नुपरेको उनले सुनाए ।

उनका अनुसार उद्योग ८ घण्टा सञ्चालनमा ल्याइए पनि लामो समयदेखि अर्डर आएको छैन । ‘उत्पादित वस्तुले उद्योगका सबै गोदाम भरिएका छन् । करोडौंको बिस्कुट गोदाममा थन्क्याउनुपरेको छ । बजारमा रहेको पैसा नउठ्ने समस्या पनि विकराल छ । कसैसित १० लाख लिनु छ भने दशौंपटक फोन गरेपछि बल्लबल्ल २५ हजार पठाइदिन्छ । यस्ता अवस्थामा कसरी चलाउन सकिन्छ उद्योग ?’ सिलवालले भने ।

उत्पादन बन्द गरिएको १५ दिनमा सारा शक्ति लगाएर उधारो उठाउने र गोदाममा थन्किएको माल विक्री गर्ने योजना रहेको उनले बताए । ‘गोदामको माल नघटी उद्योग खोल्ने अवस्था हुँदैन,’ उनले भने । उद्योगको नेपाल ट्रेड युनियन कांग्रेस उद्योग एकाइका सभापति हीरा यादवले ८ घण्टा चलेको र बन्दको सूचना जारी भएको पुष्टि गरे । उद्योगले सबैको भुक्तानी गरेर नियमअनुसार नै बन्द गरेको हो,’ उनले भने, ‘हामी कसैले पारिश्रमिक लिन बाँकी छैन । हामी छिट्टै उत्पादन शुरू होला भन्ने आशामा छौं ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)