ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगमा अघोषित लोडशेडिङ : सिमेन्ट र डन्डी उत्पादन ५० प्रतिशत कटौती

२०७८ चैत, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोभिड–१९ कम भएपछि लयमा फर्किन थालेका सिमेन्ट तथा डन्डी उद्योग फेरि लोडशेडिङको मारमा परेका छन् । यी वस्तुको उत्पादन र माग बढ्ने विकास निर्माणको मुख्य सिजनमा नियमित बिजुली नपाउँदा उत्पादन नै कटौती गर्न थालेको उद्योगीहरूले बताएका छन् ।

नेपालले हिउँदमा भारतबाट विद्युत् आयात गर्छ । तर, यसपटक भारतीय बजारमै विद्युत्को अभाव देखियो । विशेषगरी कोइलाको अभाव भएपछि भारतमै बिजुली उत्पादन कम भई मूल्य आकाशिएको छ । त्यसले गर्दा नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको दरमा विद्युत् किन्न पाएन । अहिले भने प्राधिकरणले अधिकतम दरमै भए पनि बिजुली किन्ने गरी मूल्य प्रस्ताव गर्न थालेको बताएको छ । तैपनि मागअनुसार बिजुली नपाउँदा उद्योगहरूमा आपूर्ति नियमित हुन नसकेको बताइन्छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णु अग्रवालले उद्योगहरूले नियमित बिजुली नपाएको बताए । प्राधिकरणले महँगो/सस्तो जुन दरमा भए पनि नियमित र गुणस्तरीय बिजुली दिनुपर्ने उनी बताउँछन् । ‘विद्युत् आपूर्तिमा समस्या हुँदा स्थानीयका साथै वैदेशिक लगानीकर्ता हतोत्साहित हुन सक्छन्,’ अग्रवालले भने, ‘उत्पादनको लागत बढेको छ, यसलाई कम गर्न सरकार तथा प्राधिकरण जिम्मेवार हुनुपर्छ ।’

यसैगरी, नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले उद्योगहरूले १२/१३ घण्टा लोडशेडिङ झेलिरहेको बताए । ‘एकातिर लोडशेडिङ छ, अर्काेतिर ६ मेगावाट बिजुली चाहिने उद्योगले ३ मेगावाट मात्र पाइरहेको छ,’ पोखरेलले भने, ‘बिजुली आधामात्र पाएकाले उद्योग नै धराशयी हुने देखियो ।’ बिजुली नपाउँदा उत्पादन र विक्री चक्र बिग्रने हुँदा बैंक ब्याज बढ्नुका साथै तरलता अभाव हुने अवस्था आएको उनले बताए ।

दुई सातादेखि विद्युत् आपूर्तिमा नियमितता नभएको उनले बताए । ‘कोभिडपछि उत्पादनले आकार लिइसकेको थियो,’ उनले भने, ‘विकास निर्माणका कामले गति लिन थालिसकेको अवस्थामा देखिएको ऊर्जा समस्याले पुनः अप्ठ्यारोमा पारेको छ ।’ नेपालमा वर्षा याममा बिजुली खेर जाने तर हिउँदमा बिजुलीकै अभावमा उद्योगहरू धराशयी हुने अवस्था आएको उनको भनाइ छ ।

अग्नि सिमेन्टका प्रबन्ध निर्देशकसमेत रहेका पोखरेलले बिजुली नपाउँदा अहिले सिमेन्ट उत्पादकले ५० प्रतिशत उत्पादन घटाएको बताए । अहिले बिजुलीको शुल्क नबढे पनि बिजुली नै पाउन नसकेको अवस्थामा उद्योगीहरू छन् । सरकारले दीर्घकालीन रूपमा यस्तो समस्या समाधान गर्न जलाशययुक्त आयोजना बनाउने र बिजुली कति आवश्यक पर्छ भन्ने कुरामा बेला छँदैमा हेक्का राख्नुपर्ने पोखरेलको सुझाव छ ।

अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपानेले रोलिङ मिलहरूमा विद्युत् कटौतीले निकै समस्या पारेको बताए । केही समयदेखि नै उद्योगहरूले नियमित रूपमा बिजुली नपाएको भन्दै उनले अहिले कारखानाहरूले उत्पादन ५० प्रतिशतले कटौती गरेको बताए । ‘पावर छैन, भए पनि नियमित छैन,’ न्यौपानेले भने, ‘सिमेन्ट र डन्डी उद्योग ठूलो मर्कामा परेका छन् । सामग्री सप्लाई गर्नै सकिएको छैन ।’ अहिले निर्माणको सिजन भएको र सोहीअनुसार माग भइरहे पनि उत्पादन कम गर्नुपर्दा मागअनुसार सामग्री दिन नसकेको उनको भनाइ छ ।

विद्युत् प्राधिकरण भने आफूले प्रस्ताव गरेको दरमा बिजुली नपाएको खण्डमा मात्रै उद्योगहरूलाई मागअनुसार आपूर्ति नदिएको दाबी गर्छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बिड अस्वीकृत भएका बेला मात्रै बिजुली उपलब्ध गराउन नसकिएको बताए । ‘उद्योगीले भने जस्तै लोडशेडिङको अवस्था होइन,’ भट्टराईले भने, ‘बुधवार पनि नियमित रूपमा बिजुली उपलब्ध गराएका थियौं ।’

पछिल्लो समय रूस–युक्रेनबीच द्वन्द्वले अन्तरराष्ट्रिय रूपमै औद्योगिक कच्चा पदार्थको मूल्य बढेको छ । कोइलाको मूल्य बढ्दा भारतबाट नेपाल आउने विद्युत्मा समस्या देखिएको छ भने नेपालकै सिमेन्ट र डन्डीको मूल्य पनि निकै बढेको छ । अहिले सिमेन्टको मूल्य पनि बढेको छ । ओपीसी र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले बढेको संघले जानकारी दिएको छ ।

अहिले औसतमा ओपीसी सिमेन्ट प्रतिबोरा ६४० र पीपीसी सिमेन्ट प्रतिबोरा ५४० पुगेको पोखरेलले बताए । बिजुली महसुल नबढे पनि डिजेलको मूल्य बढेकाले सिमेन्टको मूल्य प्रभावित भएको उनले बताए । यता, फलामे डन्डीको मूल्य पनि उल्लेख्य बढेको छ । प्रतिकेजी ७०/७५ आसपास रहेको डन्डीको भाउ अहिले प्रतिकेजी १३० रुपैयाँसम्म पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)