ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजी बढाउन नसक्ने बीमा कम्पनीले मर्जरमा जानुपर्ने, मर्जरका लागि तयार छन् कम्पनी ?

२०७८ चैत, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा कम्पनीको चुक्ता पूँजी बढाउने क्रममा आइपर्ने समस्यामा पूँजी वृद्धिको योजना पेश भएपछि मात्र छलफल गर्ने नियमनकारी निकाय बीमा समितिले स्पष्ट पारेको छ ।  

बीमा समितिले १ वर्षभित्र चुक्ता पूँजी दोब्बरभन्दा बढी पुर्‍याउन निर्देशन दिएको विषयमा छलफल गर्न बीमा कम्पनी सञ्चालक र संस्थागत लगानीकर्ता बिहीवार समिति पुगेका थिए । भेटमा समितिका अध्यक्ष सूर्य सिलवालले पहिले पूँजी वृद्धिको योजना पेश गर्न आग्रह गर्दै त्यसपछि समस्या देखिए छलफल गर्ने आश्वासन दिए । 

समितिले पूँजी बढाउन निर्देशन दिएपछि बीमा कम्पनीका सञ्चालकहरूले तत्काल त्यो सम्भव नभएको बताइरहेका छन् । समितिले गत बिहीवार बीमा कम्पनीहरूलाई परिपत्र गरी आगामी २०७९ चैतभित्र चुक्ता पूँजी बढाएर जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन दिएको थियो । 

अहिले जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था छ । समितिले ३० दिनभित्र चुक्ता पूँजी बढाउने योजना पेश गर्न पनि निर्देशन दिएको छ । बीमा कम्पनी सञ्चालकहरूले कोरोना महामारी र तरलता अभावको अवस्थामा छोटो समयमै पूँजी वृद्धि गर्न नसकिने तर्क गरेका छन् । 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूबाट पूँजी वृद्धिको योजना आएपछि मात्र व्यावहारिक समस्या थाहा हुने र छलफल गर्न सकिने बताए । ‘बिहीवार बीमा कम्पनी सञ्चालक र लगानीकर्ता पूँजी वृद्धि गर्न समस्या हुने देखियो भनेर छलफल गर्न आउनुभएको थियो । त्यस क्रममा हामीले पूँजी वृद्धिको योजना आएपछि ती विषयमा छलफल गर्ने भनेका हौं,’ आर्थिक अभियानसँग उनले भने, ‘यस विषयमा उहाँहरू पनि सकारात्मक हुनुहुन्छ ।’

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल पनि आफूहरू पूँजी वृद्धिको योजना पेश गर्न तयार रहेको बताउँछन् । ‘बिहीवारको छलफलमा क्यापिटल प्लान आएपछि मात्र समस्यामाथि छलफल गर्ने सहमति भएको छ,’ उनले भने, ‘त्यसमा हामी सकारात्मक छौं । हामी छिट्टै नै पूँजी वृद्धिको योजना समितिमा पेश गर्नेछौं ।’ अध्यक्ष मल्लले पूँजी वृद्धिको विषयमा कम्पनीहरू सकारात्मक भएको पनि बताए । तर, समयसीमा एकदमै कम भएको उनको भनाइ छ ।

‘कम्पनी बलियो बनाउनुपर्छ, पूँजी ठूलो बनाउनुपर्छ भन्नेमा हामी सकारात्मक छौं । तर, अहिले अनेक कारणले आर्थिक संकट जस्तै छ । त्यो अवस्थामा एकैपटक भन्दा पनि विस्तारै पूँजी बढाउन पाए सजिलो हुन्थ्यो,’ उनले भने, ‘तसर्थ, यसमा समितिलाई केही सहजीकरण गर्न भनेका हौं । पूँजी वृद्धिको योजना पेश भएपछि त्यसमा सुनुवाइ होला भन्ने आशा छ ।’

समितिका अधिकारीहरूले पूँजी बढाउन नसक्ने कम्पनीलाई मर्जरमा जान सुझाव दिएका छन् । त्यसो त समितिले बीमा कम्पनीहरूलाई मर्जरमा जान दबाब दिने उद्देश्यले नै पूँजी बढाउने निर्णय गरेको जस्तो देखिन्छ । सोहीबमोजिम समितिले पूँजी बढाउन नसक्ने कम्पनीलाई मर्जरमा जान आग्रह गरेको हो ।

यसमा पनि कम्पनीहरू तयार हुन सक्ने नेपाल चेम्बर अफ कमर्शमा समेत अध्यक्ष रहेका मल्लले बताए । ‘परिआए हामी मर्जरमा जान पनि तयार छौं । तर, समितिले त्यसमा सहजीकरण गर्नुपर्छ,’ उनले भने । 

छलफलका क्रममा समिति अध्यक्ष सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास बढाउने उद्देश्यले चुक्ता पूँजी वृद्धिको निर्णय लिएको बताए । धेरै लामो गृहकार्य गरेरै बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको सिलवालको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)