चैत १८, काठमाडौं । पेट्रोलिय व्यवसायीले शुक्रवारदेखि इन्धनको ढुवानी बन्द गरेका छन् ।
कमिसन वृद्धि गर्नुपर्ने माग गर्दै उनीहरुले डिपोबाट इन्धन नउठाएको आयल निगमले जानकारी दिएको छ । निगमका प्रबक्ता बिनितमणी उपाध्यायले व्यवसायीले डिपोबाट शुक्रवार इन्धन नउठाएको बताए ।
‘सेना, प्रहरी र साझा पेट्रोल पम्पले मात्रै शुक्रवार निगमबाट इन्धन लगेका छन् । अरु निजी क्षेत्रका पम्पले इन्धन उठाएनन्’ उपाध्यायले आर्थिक अभियानलाई भने ।
केही व्यवसायीहरुले थानकोट र अमलेखगन्ज डिपोमा पुगेर केही बेर बिरोध गरेको पनि उपाध्यायले बताए ।
व्यवसायीलाई जेठ मसान्तसम्मको समय मागेर माग सम्बोधन गर्ने आयल निगमले बताउँदै आएको छ । ‘व्यवसायीहरु आफ्नै अडानमा लागेका छन्, जायज माग सम्बोधन गर्नका लागि हामी तयार छौं तर समय दिन भनेका छौं’, उनले भने ।
व्यवसायीले आइतबारदेखि पम्पबाट समेत तेल वितरण नगर्ने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तुमा पर्छ । कानूनअनुसार यस्तो पदार्थको आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन ।
२०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवामा हडताल गर्न नपाइने उल्लेख भए पनि व्यवसायीले उलंघन गरेका छन् ।