ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल र भारतबीच चार सम्झौता

२०७८ चैत, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिवार दुई मुलुकबीच चारओटा सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका अधिकारीहरूले ती सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त अवसरमा इन्टरनेशनल सोलार एलाइन्समा नेपालको प्रवेश, पेट्रोलियम पदार्थ आपूर्ति र प्राविधिक सहयोगसम्बन्धी छुट्टाछुट्टै दुई र सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग सम्झौता भएको हो ।

सीमा विवादको समाधान संयन्त्रमार्फत शनिवार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले दुई देशबीचको सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने सहमति भएको जानकारी दिनुभयो । ‘मैले मोदीजीलाई सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको छु,’ उहाँले भन्नुभयो । मोदीले पनि सीमा समस्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने सहमति भएको जानकारी दिनुभयो ।

‘हामीले सीमा समस्यामा छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न प्रस्ताव गरेको छु, यसमा दुवै सहमत छौं,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवा र मोदीले हरियो झन्डा देखाएर जयनगर–कुर्था रेल उद्घाटन गर्नुभयो ।

उहाँहरूले सोलु कोरिडोरको प्रसारण लाइन पनि उद्घाटन गर्नुभयो । दुवै प्रधानमन्त्रीले १३२ केभीको ९० किलोमीटर लामो प्रसारण लाइनको भर्चुअल उद्घाटन गर्नुभएको हो ।  

सोलु कोरिडोर प्रसारण लाइन सोलुखुम्बुमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतीय बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको हो । उहाँहरूले भूकम्पपछि पुनर्निर्माण भएका १३२ स्वास्थ्य चौकीको पनि उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाको भ्रमणका बेला पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा पनि छलफल भएको छ । नेपाल र भारत सरकारबीच परियोजना द्विराष्ट्रिय लगानीमा संयुक्त रूपमा सञ्चालन गर्ने निर्णय भएको थियो । परियोजना अघि बढाउन धेरै प्रयास भए पनि अहिलेसम्म खासै प्रगति भएको छैन ।

दुवै देशका प्रधानमन्त्रीबीचको छलफलपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ‘गेम चेन्जर’ भएकाले तीव्र गतिमा अगाडि बढाइने बताउनुभयो । मोदीले विद्युत् निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । ‘नेपालको विद्युत् परियोजनामा भारतीय कम्पनीको अझ धेरै भागिदारीका विषयमा सहमति व्यक्त गरेका छौं,’ मोदीले हैदरावाद हाउसबाट भन्नुभयो, ‘अब नेपालले भारतमा विद्युत् निर्यात गर्दै छ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।’

नेपाल र भारतबीच ऊर्जाक्षेत्रमा सहकार्यका लागि समझदारी पनि भएको छ । संयुक्त वक्तव्यमा नेपालमा संयुक्त लगानीमा बन्ने जलविद्युत् र नवीकरणीय ऊर्जा परियोजना निर्माणका लागि भारतले सहयोग गर्ने उल्लेख छ ।

बीबीआईएन फ्रेमवर्कभित्र ऊर्जा सहकार्य सुदृढ गर्न पनि दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष थप तीन हवाई रूट उपलब्ध गराउन आग्रह गर्नुभएको छ । देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रूट उपलब्ध गराउन माग गर्नुभएको हो । भैरहवास्थित अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्न पनि प्रधानमन्त्री देउवाले भारतलाई आग्रह गर्नुभएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)