ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाललाई ऊर्जा संकटमा दोहोरो राहत : भारतीय बिजुलीको मूल्य १३ रुपैयाँ घट्यो, नेपाली उत्पादन बढ्यो

२०७८ चैत, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालले भोगिरहेको ऊर्जा संकटमा एकैपटक दोहोरो राहत मिलेको छ । 

भारतबाट महँगोमा किन्नुपर्ने बिजुलीको मूल्य घटेको छ भने नेपालमा पनि आन्तरिक उत्पादन बढेको छ ।

भारतले बिजुलीको अधिकतम मूल्य २० भारूबाट घटाएर १२ भारू कायम गरेको छ । अर्कोतर्फ नेपालमा पनि हिउँ पग्लेर विद्युत उत्पादन बढ्न शुरू भइसकेको छ । आगामी जेठ/असारमा वर्षा शुरू भइ नेपालको उत्पादन खेर फाल्नुपर्ने अवस्था नै शुरू हुन्छ ।

भारतको केन्द्रीय विद्युत् नियमन आयोगले हालै एक सूचना जारी गरी विद्युत् खरीदविक्री दरको अधिकतम सीमा प्रतियुनिट भारू २० बाट घटाएर भारू १२ कायम गरेको हो । 

यससँगै नेपालले भारतीय विद्युत् एक्सचेञ्ज बजारबाट किन्ने बिजुली सस्तो हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय भारतीय बजारबाट प्रतियुनिट भारू २० (नेपाली रू. ३२) मा बिजुली आयात गरिरहेको जानकारी दिएको छ । 

भारतमा देखिएको ऊर्जा संकटका कारण विद्युत् खरीदविक्री दर उच्च विन्दुमा पुग्दा प्राधिकरण पनि सोही मूल्यमा किन्न बाध्य थियो । ३२ रुपैयाँमा किनेको बिजुली स्वदेशी ग्राहकलाई प्रतियुनिट औसत १० रुपैयाँमा बेच्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने प्राधिकरणको भनाइ छ । 

अब त्योभन्दा सस्तो, प्रतियुनिट भारू १२ (नेपाली १९ रुपैयाँ २० पैसा) मा भारतीय बिजुली पाउने सम्भावना बढेको छ । उक्त दर पहिलाको भन्दा भारू ८ (नेपाली १२ रुपैयाँ ८० पैसा) सस्तो हो । यसबाट प्राधिकरणको नोक्सानीसमेत कम हुनेछ । 

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई भारतले विद्युत् खरीदविक्री दरको अतिकतम सीमा घटाउँदा नेपाललाई समेत फाइदा हुने बताउँछन् । ‘भारतले विद्युत् खरीदविक्री दरको अधिकतम सीमा घटाउनु आफैमा सकारात्मक कुरा हो । यसले हामीलाई पनि राहत हुन्छ । तर, ऊर्जा संकटका बेला त्यो दरमा भारतीय उत्पादकले बिजुली दिन्छन् कि दिँदैनन्, त्यो महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘त्यो दरमा बिजुली पाइन्छ भने राम्रै मान्नुपर्छ ।’

नेपालमा अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । हिउँदमा खोला/नदीमा पानीको मात्रा घट्दा जलविद्युत् आयोजनाको उत्पादन स्वत: घट्छ । यस्तो बेला प्राधिकरणले भारतबाट बिजुली आयात गरेर स्वदेशी बजारमा आपूर्ति गर्दै आएको छ । 

भारतमा कोइलाबाट पनि विद्युत् उत्पादन गरिने हुँदा हरेक समय पर्याप्त पाउन सकिन्छ । तर, पछिल्लो समय कोइला अभावले भारतमा पनि पर्याप्त बिजुली उत्पादन भएको छैन । उत्पादन कम भएपछि भारतीय बजारमा अधिकतम दरमा बिजुली किनबेच भइरहेको हो ।

त्यसको नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै भारत सरकारले अधिकतम दरको सीमा घटाएको बताइएको छ । विशेषगरी, देशको औद्योगिक क्षेत्रमा परेको नकारात्मक असर कम गर्न भारतले विद्युत् खरीदविक्री दरको अधिकतम सीमा घटाएको हो । 

ऊर्जाको मूल्य आकाशिएपछि भारतीय उद्योग, कलकारखाना पनि प्रभावित भएका छन् । उनीहरु पनि महँगो दरमै विद्युत् खरिद गर्न बाध्य छन् । 

नेपालले वर्षामा भारत निकासी गर्ने बिजुलीमा भने यो सीमाले नकारात्मक असर गर्छ । नेपालले भारतबाट भारू २० मा बिजुली किनेको मात्र होइन, बेचेको पनि छ । अब भने अधिकतम भारू १२ मै चित्त बुझाउनुपर्ने हुन्छ ।

प्राधिकरणले भारतमा बिजुली निकासी गर्दा हुने आम्दानी पनि प्रभावित हुन्छ । तर, यस विषयले खास महत्त्व नराख्ने प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन् । ‘भारतीय खुला बजारमा बजारले नै विद्युत्को दर कायम गर्ने हो । त्यो अवस्थामा यसले खास अर्थ राख्दैन जस्तो लाग्छ,’ उनले भने ।

आन्तरिक उत्पादन १४ लाख युनिट थपियो

नेपालमा अहिले विद्युत माग १६०० मेगावाट हाराहारी रहेको छ । विद्युत खपत भने बढेर ३ करोड १६ लाख ५१ हजार युनिट नाघेको छ ।

विद्युत प्राधिकरणका आयोजनाबाट ९७ लाख ९८ हजार युनिट विद्युत उत्पादन हुँदा सहायक कम्पनीबाट ४९ लाख ५८ हजार युनिट विद्युत उत्पादन भइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट पनि ७४ लाख ६२ हजार युनिट विद्युत उत्पादन भइरहेको छ । अहिले भारतबाट आयात हुने विद्युतको हिस्सा ७५ लाख ९३ हजार युनिट छ । १८ लाख ४० हजार युनिट विद्युतको माग भएपनि आपूर्ति दिन सकिएको छैन ।

आज भन्दा १० दिन अघि नेपालको कुल विद्युत् माग १ हजार ५४० मेगावाट रहेको थियो । कुल खपत ३ करोड ५ लाख ४७ हजार यूनिट विद्युत् ऊर्जा खपत हुँदा प्राधिकरणका आयोजनाबाट ९९ लाख युनिट र भारतबाट ९५ लाख ७१ हजार यूनिट विद्युत् आपूर्ति भएको थियो ।

प्राधिकरणका सहायक कम्पनीबाट ३८ लाख ७२ हजार यूनिट ऊर्जा आपूर्ति हुँदा निजी क्षेत्रबाट ७१ लाख ६३ हजार यूनिट आपूर्ति भएको थियो । 

१० दिन अघिको तुलनामा सहायक कम्पनीको उत्पादन १० लाख ८६ हजार युनिट बढेको छ । निजी क्षेत्रको उत्पादन ३ लाख युनिट बढेको छ ।

यो अवधिमा विद्युत खपत ११ लाख युनिट बढेको छ भने भारतबाट आयात हुने हिस्सामा २० लाख युनिट घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)