ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फेरि प्रस्ताव मागिँदै

२०७८ चैत, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । मुलुककै मुख्य औद्योगिक कोरिडोरमा १४ वर्ष लगाएर तयार भएको सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा लगानीकर्ताको आकर्षण देखिएको छैन । विशेष आर्थिक क्षेत्र प्राधिकरणले दुईपटक आह्वान गर्दा पनि अपेक्षित प्रस्ताव आएको छैन ।

सेजमा अपेक्षाअनुसार उद्योग खोल्ने प्रस्ताव नआएपछि पुनः सूचना निकाल्ने तयारी थालिएको सिमरा सेजका प्रमुख आनन्द भट्टले जानकारी दिए । प्राधिकरणले गत फागुन १५ गते भैरहवा र सिमरा सेजमा उद्योग स्थापना र सञ्चालनको प्रस्ताव पेश गर्न १५ दिने सूचना निकालेको थियो ।

प्राधिकरणले १ वर्षअघि पनि प्रस्ताव आह्वान गरेको थियो । पछिल्लोपटक सिमरा सेजको ए ब्लकमा ६८ ओटा प्लटका लागि प्रस्ताव मागिएको थियो ।

तोकिएको समयभित्र नौजना लगानीकर्ताले २७ ओटा प्लटका लागि मात्रै प्रस्ताव पेश गरेको कार्यालय प्रमुख भट्टले बताए । ‘सेज उद्योग स्थापनाका लागि तयारी अवस्थामा छ । तर, निकै कम संख्यामा प्रस्ताव आएपछि पुनः सूचना निकाल्ने तयारी भइरहेको छ । १/२ दिनभित्रै सूचना आउँछ,’ भट्टले भने । भैरहवा सेजमा भने ४५ ओटा प्लटका लागि आह्वान गरिएकोमा ५५ ओटाको प्रस्ताव दर्ता भएको थियो । सिमरा सेजमा आएका लगनीकर्ताबाट अधिकांश गार्मेन्ट, गाडी एसेम्बल, भान्छाका सामग्री, हिटरलगायत उत्पादनको प्रस्ताव आएको छ ।

निकासीमूलक उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएका सेजमा लगानीकर्ता आकर्षित नभएपछि नीतिगत सुधार गरिएको छ । अहिले दैनिकजसो उद्योगीहरू आउने क्रम बढेको भट्टले बताए । नीतिगत सुधारबारे पर्याप्त जानकारी नपाएकाले आकर्षण नदेखिएको अनुमान उनको छ ।

यसअघि सेजमा स्थापित उद्योगले उत्पादन थालेको पहिलो वर्षमै ६० प्रतिशत निकासी गर्नुपर्ने व्यवस्था भएकोमा संशोधनमार्फत उत्पादनको पहिलो वर्ष २०, दोस्रो वर्षदेखि ४० र त्यसपछिका वर्षमा ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान राख्न लागिएको छ ।

जग्गा लिएको २ वर्षभित्र उद्योग सञ्चालनमा ल्याइसक्नु पर्छ । प्रतिवर्गमीटर भाडा २० रुपैयाँबाट १० रुपैयाँमा झारिएको छ । बारा–पर्साका उद्योगीले सेजमा सबै खालका उद्योगलाई सञ्चालन अनुमति दिनुपर्ने माग गर्दै आएको वीरगञ्ज उद्योग वाणिज्य संघअन्तर्गतको उद्योग समितिका संयोजक हरि गौतमले बताए । सरकारले विगतमा सिमरा सेजमा गार्मेन्ट प्रोसेसिङ जोन (जीपीजेड) तयार पारेर लगानी आह्वान गरेको थियो । गार्मेन्ट उद्योगीले रुचि नै नदेखाएपछि जीपीजेड खारेज भयो ।

सिमरा सेजका पाँचओटा ब्लकमध्ये अहिले ब्लक एमा आवश्यक पूर्वाधार तयार गरिएको भट्टले बताए । ६ हजार ८ सय २२ वर्गमीटरदेखि १२ हजार ३ सय ८९ वर्गमीटरसम्मको प्लट तयारी अवस्थामा रहेको उनले जानकारी दिए । सेजभित्र बाटो, नाला, प्रशासनिक भवन, पानी प्रशोधन केन्द्र, प्रदर्शनी हल, भन्सार, विद्युत्, बैंकलगायत भौतिक संरचना र सेवा पूर्वाधार तयार भइसकेको सेज प्राधिकरणले जानकारी दिएको छ । २०६२ सालमा निर्माण शुरू भएको सेजमा २०७६ सालमा ३ सय ४३ बिगाहा पहिलो ब्लक तयार भएको थियो । कुल ८ सय ३३ बिगाहा रहेको सेजमा आवश्यकताअनुसार अन्य ब्लकमा पूर्वाधार तयार गर्ने योजना भट्टले सुनाए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)