ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनावमा उम्मेदवारको बाहेक ४० अर्ब रुपैयाँसम्म खर्च

विदेशी विनिमय सञ्चितिमा चाप थपिने खतरा

२०७८ चैत, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सरकारले आगामी वैशाख ३० गते ७५३ ओटै स्थानीय तहको चुनाव गर्दै छ । चुनाव आउन ३८ दिन बाँकी रहँदा त्यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे विज्ञहरूले विभिन्न कोणबाट टिप्पणी गरेका छन् ।

चुनावमा ठ्याक्कै कति खर्च हुन्छ भन्ने यकिन छैन । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई करिब ९ अर्ब रुपैयाँ बजेट दिएको छ । गृह मन्त्रालयलाई करीब १० अर्ब खर्च गर्न स्वीकृति दिएको छ । गृहले निर्वाचन सुरक्षाका लागि देशभरका मतदानस्थलमा म्यादी प्रहरी खटाउने छ । ती सुरक्षाकर्मीलाई सोही बजेटबाट तलब दिने छ । यी दुई निकायले मात्रै करीब १९ अर्ब रुपैयाँ खर्च गर्नेछन् ।

आयोगले उक्त रकम मतदाता शिक्षा, मतपत्र छपाइ र ढुवानी, निर्वाचन पर्यवेक्षण र मतदानमा खटिने कर्मचारीको तलब, भत्तामा खर्च गर्ने प्रवक्ता शालिग्राम पौडेल बताउँछन् । निर्वाचन आयोग, गृहसहित अन्य निकायको गरी ३० देखि ४० अर्ब स्थानीय तहको चुनावमा सकिने अर्थ मन्त्रालयका एक उच्च अधिकारीको अनुमान छ । चुनावमा सरकारले मात्रै खर्च गर्दैन, पार्टी र उम्मेदवारले समेत ठूलो धनराशी खर्चिन्छन् । निर्वाचन आयोगले एउटा उम्मेदवारले ३ लाख रुपैयाँभन्दा बढी खर्च गर्न नपाउने गरी आचारसंहिता बनाएको छ । तर, त्यो व्यवहारमा लागू नहुने निर्वाचन आयोगका पूर्वसचिव गोपिनाथ मैनाली बताउँछन् ।

‘आचारसंहिता देखाउने दाँतमात्रै हो, आयोगमा दलीय आधारमा पदाधिकारी नियुक्त हुने भएकाले दल र उम्मेदवारले आचारसंहिता मिचेर मनलाग्दी खर्च गरे पनि कारबाही नहुने अवस्था छ,’ उनले भने । चुनावी अर्थतन्त्रको पाटो हेर्दा सकारात्मक र नकारात्मक दुवै रहेको पूर्वसचिव मैनालीको बुझाइ छ । उनका अनुसार दलहरूले प्रचारप्रसारका लागि केही अर्ब खर्च गर्छन् । मतदाता शिक्षामा एनजीओ, आईएनजीओले समेत खर्च गर्न सक्छन् ।

बजेट घाटा बढ्ने तथा विकास खर्च घट्ने जस्ता समस्याबाहेक एक्कासि अर्थतन्त्रमा धेरै पैसा प्रवाह हुँदा महँगी बढ्ने खतरा देख्छन्, अर्थविद् डा. डिल्लीराज खनाल । निर्वाचनले अल्पकालीन रोजगारी सृजना गर्ने उनले बताए । तर, चुनावकै कारण समग्र आर्थिक वृद्धिमा नाप्न सकिने गरी ठूलो असर परेको नदेखिने खनालको बुझाइ छ ।

चुनावले तरलतासँगै उपभोग बढ्ने, आयात बढ्ने र विदेशी विनिमय सञ्चितिमा चाप थप्ने खतरा उनले देखेका छन् । ‘आर्थिक गतिविधि बढ्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा केही सकारात्मक प्रभाव पार्छ ।

तर, अर्थशास्त्रको नियमअनुसार निर्यातले अर्थतन्त्रमा सकारात्मक र आयातले नकारात्मक असर गर्छ,’ उनले भने । चुनावले देशभित्रको उत्पादनमा खासै असर नगर्ने तर आयात बढ्ने भएकाले अर्थतन्त्रमा त्यत्ति ठूलो असर नगर्ने खनालको बुझाइ छ । निर्वाचन आयोगका अनुसार यसअघिको चुनावमा नगरपालिका वा गाउँपालिका प्रमुख पदमा उम्मेदवारी दर्ता गर्दा १ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो । त्यसमा महिला, दलित तथा अल्पसंख्यक समुदायका वा विपन्न उम्मेदवारलाई आधा छूट हुने व्यवस्था छ ।

वडा अध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय रुपैयाँ धरौटीको व्यवस्था आयोगले गरेको थियो । उम्मेदवारले सदर मतको १० प्रतिशतभन्दा कम ल्याए धरौटी जफत हुने व्यवस्था छ । जफत भएको रकम सञ्चित कोषमा जम्मा गर्नुपर्ने नियम छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)