ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ अर्ब पूँजी पुर्‍याउन नसकेको बीमा संस्थानलाई ५ अर्बको दबाब, ४९ % आईपीओ जारी गर्न सक्ने

२०७८ चैत, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । जीवन बीमा कम्पनीहरूले कायम गर्नुपर्ने साबिककै २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउन नसकेको राष्ट्रिय बीमा संस्थानलाई अबको १ वर्षमा चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउने काम निकै चुनौतीपूर्ण देखिएको छ ।

२०७९ चैतभित्र तोकिएको चुक्ता पूँजी कायम गर्न संस्थानले कमिटी नै गठन गरेर गृहकार्य थालेको छ । संस्थाको आइतवार सम्पन्न सञ्चालक समिति बैठकले पूँजी वृद्धिको योजना बनाउन कमिटी गठन गरेको हो । 

संस्थानका प्रशासक कविप्रसाद पाठकले नियमनकारी निकाय बीमा समितिले यसअघि तोकेको चुक्ता पूँजी नै कायम गर्न नसकेको बेला ५ अर्ब पुर्‍याउनु संस्थानका लागि निकै चुनौतीपूर्ण हुने बताए ।

पछिल्लो वर्षको वार्षिक लेखापरीक्षण सम्पन्न गर्न सके पूँजी वृद्धिका लागि आईपीओसहितको योजना बनाएर अघि बढ्ने उनले बताए ।

यसअघि सर्वसाधारणलाई ३० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सँगै बोनस र हकप्रद शेयरमार्फत पूँजी वृद्धि गर्ने योजना बनाएको संस्थानले ५ अर्ब पूँजी कायम गर्न सर्वसाधारणलाई आईपीओमार्फत विक्री गर्ने शेयरको अनुपात ४९ प्रतिशत पुर्‍याउन सक्ने पाठक बताउँछन् । तर, यी सबै कार्ययोजना संस्थानले गठन गरेको कमिटीले गृहकार्य गरेपछि मात्र सार्वजनिक गर्ने पाठकले जानकारी दिए । 

बीमा समितिले २०७४ सालदेखि नै बीमा कम्पनीहरूको पूँजी वृद्धिमा जोड दिँदै आएको छ । यसअघि समितिले २०७४ साल असार मसान्तसम्म जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । 

समितिले गत चैत १० गते एक निर्देशन जारी गर्दै जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवनलाई २ अर्ब ५० करोड चुक्ता पूँजी कायम गर्न भनेको छ । त्यसका लागि समितिले बीमा कम्पनीहरूलाई आगामी २०७९ चैत मसान्तसम्मको समय दिएको छ । 

यो निर्देशन सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान र निर्जीवनको हकमा सरकारी स्वामित्वकै राष्ट्रिय बीमा कम्पनीलाई बढी चुनौतीपूर्ण देखिएको छ ।

अन्य कम्पनीले यसअघि समितिले तोके बमोजिमको चुक्ता पूँजी कायम गरिसकेका छन् । नयाँ बीमा कम्पनीमध्ये धेरैजसोले आईपीओ जारी गरी तोके बमोजिमको पूँजी कायम गरेका छन् । केही कम्पनीको आईपीओ बाँकी छ । त्यसो त निजीक्षेत्रका बीमा कम्पनीहरूले पनि पूँजी वृद्धिका लागि समितिले तोकेको समयसीमा ज्यादै छोटो भएको गुनासो गरेका छन् । 

संस्थानले पछिल्लो ६ आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा गर्न बाँकी छ । आव २०६८/६९ सम्मको मात्र सभा सम्पन्न गरेको संस्थानले त्यसयताको साधारणसभा यसै आर्थिक वर्षभित्र गर्ने लक्ष्य लिएको छ ।

संस्थानले गत भदौ २६ गते तीन आव २०६६/६७, २०६७/६८ र २०६८/६९ को साधारणसभा संयुक्त रूपमा सम्पन्न गरेको थियो । संस्थानले पुराना हिसाबकिताबको तथ्यांक व्यवस्थित नभएको र कतिपय अभिलेख नै नष्ट गरेकाले पुराना आवको लेखापरीक्षण हुन ढिलो भएको जानकारी दिएको छ ।

हाल संस्थानले वित्तीय व्यवस्थापन डिजिटल प्रविधिबाट गर्दै आएकाले आगामी दिनमा यो समस्या नदोहोरिने अधिकारीहरूको दाबी छ । संस्थानले आव २०६९/७०, २०७०/७१ र २०७१/७२ को लेखापरीक्षण सम्पन्न गरी बीमा समितिबाट स्वीकृति लिइसकेको जानकारी दिएको छ । बीमा समितिले संस्थानको पूँजी वृद्धि योजना अघि बढाउन पछिल्लो आर्थिक वर्षसम्मको यथार्थ वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम पछिल्लो यथार्थ वित्तीय विवरण तयारीमा सक्रियताका साथ काम गरिरहेको संस्थानले बताएको छ ।

संस्थानको चुक्ता पूँजी हाल १८ करोड १० लाख २० हजार रुपैयाँ मात्र छ । संस्थान छुट्टै ऐनबमोजिम सञ्चालन भइरहेको छ । उक्त ऐनमा ५० करोड रुपैयाँ मात्र चुक्ता पूँजी भए पुग्ने व्यवस्था छ । तर, बीमा कम्पनीहरूको नियामक निकायको निर्देशन पालना गर्न संस्थानले आगामी १ वर्षभित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्नेछ । 

पूँजी वृद्धिका लागि संस्थानले आईपीओलाई प्राथमिकतामा राखेको छ । थप पूँजीका लागि बोनस र हकप्रद शेयरलाई माध्यम बनाउने योजना बनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)