ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकको बढ्दो संख्या : विदेशी मुद्रा सञ्चितिमा सकारात्मक अपेक्षा

२०७८ चैत, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सन् २०२२ को शुरूदेखि नेपाल आउने विदेशी पर्यटकको संख्या बढिरहेको छ । पर्यटक आगमनमा सुधारसँगै विदेशी मुद्रा आर्जनमा पनि टेवा पुग्न थालेको देखिएको छ । अर्थतन्त्रको बिग्रँदो अवस्थाबीच पर्यटक आगमन बढ्दा विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । 

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२२ को मार्चमा मात्रै ४२ हजार ६ विदेशी नेपाल आएका छन् । सन् २०२१ को मार्चमा यस्तो संख्या १४ हजार ९ सय ७७ थियो । कोभिडपछि पर्यटक आगमनमा सुधार देखिएको बोर्डका  निर्देशक मणिराज लामिछानेले बताए । उनले पर्यटकबाट मार्चमा ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भएको बताए । 

बोर्डका अनुसार छिमेकी भारतलगायत देशबाट मार्चमा १७ हजार ६ सय ६१ पर्यटक नेपालमा आएका छन् । यूरोपबाट आउनेको संख्या पनि उल्लेख्य बढेको छ । मार्चमा यूरोपेली मुलुकबाट ११ हजार २ सय ७७ पर्यटक नेपाल आए । पोहोर मार्चमा यो संख्या जम्मा १ हजार ७ सय ९० थियो । अमेरिका र क्यानडाबाट ५ हजार ६ सय ४६ पर्यटक आएका छन् । 

उत्तरको छिमेकी चीनबाट आउने पर्यटक संख्या भने घटेको छ । मार्चमा ४ सय ३१ जना पर्यटक मात्र चीनबाट नेपाल आएका छन् । पोहोर मार्चमा चीनबाट १ हजार २ सय ७ जना नेपाल आएका थिए । सामान्य अवस्थामा पर्यटनबाट राम्रो आम्दानी हुने हुँदा विदेशी मुद्रा आर्जनमा यस क्षेत्रले योगदान गरेको लामिछानेको भनाइ छ । सन् २०१९ को तुलनामा कोभिड महामारीका २ वर्ष सन् २०२० र २०२१ मा आम्दानी क्रमशः २० र १५ प्रतिशतमा खुम्चिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार कोरोनाअघिको आर्थिक वर्ष २०७५/७६ मा नेपालले ७५ अर्ब ३७ करोड रुपैयाँ बराबर वैदेशिक मुद्रा आर्जन गरेको थियो । उक्त आम्दानी भने कोभिडपछि स्वाट्टै घट्यो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनामा पर्यटनबाट ११ अर्ब ३५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन भएको छ । गतवर्षको यही अवधिमा जम्मा ३ अर्ब ८९ करोड रुपैयाँ आम्दानी थियो । 

पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अहिलेको अर्थतन्त्रलाई भरथेग गर्न पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन् । ‘नेपालमा वैदेशिक मुद्राका स्रोतमध्ये छिट्टै असर देखाउने भनेको पर्यटन क्षेत्र हो,’ उनले भने, ‘पर्यटक आगमनमा सुधार हुनासाथ यो क्षेत्रले अर्थतन्त्रमा १५ देखि २० प्रतिशतसम्म योगदान दिन सक्छ ।’ 

सामान्य अवस्थामा नेपालले पर्यटन क्षेत्रबाट अर्बौं आम्दानी गरेको भन्दै उनले कोरोना र द्वन्द्वबीचमा पनि पर्यटक नेपाल आउन उत्साहित भएकाले तत्काल केही काम गर्न गर्नुपर्ने उनले बताए ।

सरकार तथा सम्बद्ध निकायले पर्यटक ल्याउने एयरलाइन्स कम्पनीलाई प्रोत्साहित गर्नुपर्ने, स्रोत बजारसम्म प्रचारप्रसार र नेपाल घुम्नलाई सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने जोशीको सुझाव छ । पर्यटक आगमनलाई व्यवस्थित गर्न जरुरी रहेको भन्दै उनले थपे, ‘पछिल्लो अर्थतन्त्रलाई भरपर्दो आधार दिने भनेको पर्यटन क्षेत्रले नै हो, अन्य स्रोतबाट तत्काल राहत हुँदैन ।’

नेपालमा खासगरी विदेशी मुद्रा ल्याउने स्रोतमा रेमिट्यान्स (विप्रेषण), वैदेशिक लगानी, पर्यटकले गर्ने खर्च र वैदेशिक सहायता तथा ऋण हो । तर, अहिले विप्रेषण र पर्यटकबाट हुने आम्दानीले मात्रै अर्थतन्त्रलाई टेवा दिन सक्ने देखिएको छ । वैदेशिक लगानी प्रतिबद्धताका रूपमा आउने भएकाले तत्काल राहत नदिने जोशीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)