चैत २५, भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–३ मन्त्रीफाँटाका किसान पञ्चराम थारूले यो वर्ष बर्खेधान भित्र्याउन पाएनन् । थारूले एक बिघा खेतमा लगाएको धान काटिसकेका थिए ।
तर, कात्तिक पहिलो साता एकाएक परेको वर्षाका कारण कान्द्रा, काँढा नदीमा बाढी उर्लियो, खेतमै बाढी पस्यो । ३० क्वीन्टल फल्ने अनुमान गरिएको धान बगायो । ‘बर्खा सकिसकेकाले ठूलो पानी पर्दैन ठानेका थियौं, तर ३/४ दिन लगातार पानी परेपछि काटेको धान बगायो,’ थारू भन्छन्, ‘वर्षमा दुई बाली धान भित्र्याउँथे, यो वर्ष चैतेधानको भर छ ।
उनले एक बिघा खेतबाट गहुँ भित्र्याइसके । गहुँ भित्र्याएपछि पनि उनको खेत बाँझो रहेन । ‘चैते धान लगाउन शुरू गरेको छु, अब केही दिनमै रोपाइँ सकिन्छ,’ उनी भन्छन्, ‘असारमा धान भित्र्याएर फेरि बर्खेधान रोपाइँ हुन्छ ।’
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा जेठ अन्तिम साताबाट मनसुन शुरू हुन्छ, त्यसपछि बर्खे वर्षा शुरू भइसक्छ । कैलालीको दक्षिण–पूर्वी क्षेत्रका किसानले बर्खा अघि नै चैते धान भित्र्याइसक्ने गर्छन् ।
पञ्चरामलाई पनि चैते धानतिर डोर्याएको बाढीले नै हो । हरेक वर्ष आउने बाढीले बर्खे धानबाली नष्ट गर्न थालेपछि हैरानी खेपेका पञ्चरामले चैतेधानबारे सुने । ९ वर्ष अघि खेतमा लगाइहेर्दा दोब्बर फल्यो । त्यसपछि उनी हौसिए, हरेक वर्ष चैते धान पनि लगाउन थालेका हुन् ।
सुक्खायाम हुने भएकाले सिंचाइको सुविधा नपुगेको क्षेत्रमा चैतेधान लगाउन सहज भने छैन ।
भजनीका–३ पक्रय्यापुरका सञ्जीव चौधरीले पनि दुई बिघामा चैतेधानको रोपाइँ गर्ने तयारीमा छन् । ‘बर्खाको धान पानीले डुबायो, अब चैतेधानको भर छ,’ उनी भन्छन्, ‘चैत–वैशाखमा बढी पानी चाहिन्छ । तर, सिंचाइको सुविधा नहुँदा समस्या छ ।’ नहर सिंचाइको सुविधा नहुँदा उनी बोरिङको पानीबाट चैतेधान लगाउँछन् ।
कैलालीको दक्षिण–पूर्वी क्षेत्र भएर बग्ने मोहना, कान्द्रा, काँढा, पथरैया लगायत नदीमा हरेक वर्ष आउने बाढी र नदी कटानका कारण यहाँको खेती प्रणाली नै फेरिन थालिएको छ ।
भजनी–३, कन्हैयापुरकै लक्ष्मण चौधरी पाँच वर्षदेखि चैतेधान खेती गर्दै आएका छन् । ‘बर्खे धान खासै उत्पादन हुँदैन। चैतेधान राम्रो उत्पादन हुने गरेको छ’ चौधरी भन्छन्, ‘सिजनको धान त बाढीले डुबाइहाल्छ । कहिले नदीले कटान गर्छ, कहिले डुबाउँछ । त्यही भएर चैतेधान लगाउन थालेको हुँ ।’
चैतेधानखेती शुरू गरेपछि वर्षभरि परिवारलाई खान पुग्ने उनी बताउँछन् । उनका अनुसार थारू समुदायमा बढीजसो भात नै खाइन्छ । रोटी खाने चलन खासै छैन । ‘बिहान, दिउँसो र साँझ भातको जोहो गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यही भएर पनि हामीलाई धेरै चामल चाहिन्छ ।’
कैलालीको दक्षिण–पूर्वी क्षेत्र भएर बग्ने मोहना, कान्द्रा, काँढा, पथरैया लगायत नदीमा हरेक वर्ष आउने बाढी र नदी कटानका कारण यहाँको खेती प्रणाली नै फेरिन थालिएको छ ।
एक दशक अघिसम्म मुख्य बाली बर्खे धान नै रहे पनि बाढीका कारण उत्पादनको टुंगो नहुने भएपछि किसान वैकल्पिक बाटोतिर लागेका हुन् । उनीहरूले चैतेधानलाई पनि मुख्य बालीका रुपमा लगाउन शुरू गरेका छन् ।
गत वर्ष बर्खा र यो वर्ष बेमौसमी बाढीले धानबाली बगाएर खाद्य संकट भोग्नु परेका भजनी क्षेत्रका किसानले खेतमा चैतेधान लगाइरेका छन् । यहाँ चैतमा धान रोपाइँ हुन्छ ।
‘यहाँको अधिकांश क्षेत्र डुबानमा पर्छ, त्यही भएर किसानले बर्खेधानबाट लाभ लिन पाउँदैनन्,’ भजनी नगरपालिका कृषि शाखा प्रमुख कमलप्रसाद चौधरीले भने, ‘किसानलाई चैतेधानतिर आकर्षित गर्न बीऊ पनि निःशुल्क बाँड्न थालिएको छ ।’ नगरपालिकाले कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा १ देखि ९ वडाका २८ कृषक समूहलाई चैते धानको एक सय क्वीन्टल बीऊ निशुल्क उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई धानको बीउ तथा पानी मोटर, पावर टिलरलगायतका कृषि यन्त्र अनुदानमा दिने गरेको छ ।
भजनीमा मात्र चार सय बिघामा चैतेधान खेती हुने गरेको नगरपालिकाको तथ्यांक छ ।
कैलालीकै लम्की–चुहामा रहेको चिनी मिलले उखु खरिद गथ्र्याे । सशस्त्र द्वन्द्वसँग चिनी मिल बन्द भयो । मिल बन्द भएपछि उनीहरूको उखु खरिद गर्ने कोही भएनन् । टाढा बेच्न सकिने अवस्था भएन ।
कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा १ हजार ५० हेक्टरमा चैतेधान खेती हुने गरेको छ । जसमा धेरैजसो भजनी र छिमेकी जोशीपुर गाउँपालिकामा चैतेधान हुन्छ । बाढी प्रभावित क्षेत्रका एक हजारभन्दा बढी किसानले हरेक वर्ष चैतेधान खेती गर्छन् ।
सरकारले पनि चैतेधान प्रवद्र्धनका लागि बीऊ र उपकरणमा सहयोग गरिरहेको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख डा. रामकृष्ण श्रेष्ठले सिंचाइको सुविधा भएका क्षेत्रमा चैतेधान खेती हुँदै आएको र सरकारले विस्तारका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
नेपालमा करिब १४ लाख हेक्टरमा धानखेती हुने गरेको छ । जसमध्ये चैतेधान मात्र १ लाख २१ हजार ५०१ हेक्टरमा हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । गत वर्ष मात्र ५ लाख ६६ हजार ४७५ टन चैतेधान उत्पादन भएको थियो ।
राष्ट्रिय योजना आयोगले ०७६/७७ मा स्वीकृत गरेको १५औँ योजनामा चैतेधान खेती २ लाख ५० हजार हेक्टरमा विस्तार गर्ने लक्ष्य लिइएको छ । ‘चैतेधान पाकिसकेपछि बर्खा शुरू हुन्छ, त्यही भएर बाढी प्रभावित क्षेत्रका लागि यो बाली राम्रो विकल्प हो,’ डा. श्रेष्ठले भने, ‘बढ्दो जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्नको जोहो गर्न यसले सघाउँछ ।’
तर, चैतेधानमा सिंचाइ बढी चाहिने, मलबीउ बढी आवश्यक पर्ने भएकाले लागत धेरै हुने गरेको उनी बताउँछन् ।
नेपालमा आर्थिक वर्ष ०७७/७८ मा कुल ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको थियो । उक्त वर्ष चैतेधान बाहेक ५१ लाख ३० हजार ६२५ टन धान उत्पादन भएको हो । तर, वर्षेनि करिब १० लाख टन चामलको आवश्यकता हुने गरेको कृषि तथा पशुपंछी विकास मन्त्रालयको प्रक्ष्येपण छ । सो परिमाण बराबरको चामल भारत र तेस्रो मुलुकबाट आयात हुने गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८मा मात्रै ५० अर्ब ७८ करोड ६९ लाख ४८ हजार रुपैयाँ बराबरको चामल विभिन्न मुलुकबाट आयात भएको भन्सार विभागको तथ्यांक छ ।
‘हामीलाई १० लाख टन चामलको कमी छ । आयात गरेर खानु परेको छ,’ श्रेष्ठले भने, ‘अर्काेतिर तराईमा बाढीको समस्या बढ्दा उत्पादनमा समस्या भइरहेको छ । बहुबालीमा जानुको विकल्प छैन ।’
आर्थिक वर्ष ०७५/७६ मा नेपालमा बर्खे धानको उत्पादन ५० लाख ६९ हजार ९०५ टन हुँदा चैतेधान ५ लाख ४० जार १०५ टन उत्पादन भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा धानको राष्ट्रिय उत्पादकत्व प्रतिहेक्टर ३.७ टन छ । चैतेधान उत्पादन प्रतिहेक्टर ४.५ टन हुने गरेको छ । यद्यपि, चैतेधान खेती विस्तार हुन सकेको छैन ।
सो वर्ष १३ लाख ७१ हजार ७०६ हेक्टरमा बर्खेधान रोपाइँ हुँदा चैतेधानको खेती १ लाख २० हजार ३८ हेक्टरमा मात्र भएको थियो । कैलालीमा भने चैतेधानको उत्पादकत्व बढी छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.६ टन रहेको छ । कैलालीमा आर्थिक वर्ष २०७५/०७६ मा कुल १ हजार ५० हेक्टरमा चैतेधान खेती भएकोमा उत्पादन ४ हजार ६९७ टन भएको थियो ।
सो आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा कुल २ हजार ४१४ हेक्टरमा चैतेधान भएको थियो । सबैभन्दा बढी कैलालीमा र कञ्चनपुरमा हुने गरेको छ । कञ्चनपुरमा ७ सय हेक्टर क्षेत्रफल र बाँकी दार्चुला, बैतडी र डोटीमा चैते धान खेती हुने गरेको मन्त्रालयको विवरण छ ।
बाढीको कहर : बर्खामा धान फल्दैन, माटो बेच्छन्
कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग तीन कट्ठा खेत छ । बाँकी बटैया (अधियाँ)मा अरूको खेतमा फसल उब्जाउछन् ।
तर, सरदारको साढे तीन कट्ठा खेतमा धान फल्दैन । उनले माटो बेच्न थालेका छन् । ‘उसै त खल्ला (गहिरो)मा खेत थियो, त्यसैमा बाढीले कहिल्यै धान उब्जनी नहुने भएपछि माटो बेच्न थालेका छु,’ सरदारले भने, ‘खेतको १ किलोमिटर नजिकै दोभान छ, बर्खामा खेत डुब्छ ।’
५ सय रुपैयाँ टिपरका दरले २३० टिपर माटो बिक्री गरिसकेको उनले बताए । माटो सडक निर्माणका लागि आयोजनाले किनेको हो । सरदारले अधियाँमा खेती गरेर परिवारको गुजारा चलाउने गरेका छन् ।
अहिले माटो झिकिएको खाल्डो अर्काे वर्ष बाढीले भरिने उनको आँकलन छ । तर, खाल्डो नै रहेमा त्यसमा माछा पालन गर्ने योजना रहेको पनि उनले सुनाए ।
डेढ दशक अघि यो खेतमा धान फल्थ्यो । तर, कैलालीका दक्षिण–पूर्वी क्षेत्र भएर बहने मोहना, कान्द्रा, काँढा र पथरैया नदीमा वर्षेनि बाढी बढ्न थालेपछि खेतीयोग्य जमिन पनि बगरमा परीणत हुन थालेको हो ।
दैलेखी टोलको पीडा : खेत भाडामा दिन्छन् चामल किनेर खान्छन्
बर्दुवाफाँटा सरदारको खेतको पश्चिमपट्टी दैलेखबाट बसाइसराइँ गरेर गएकाहरुको एउटा टोल छ । जसको नाम हो दैलेखी टोल ।
७० वसन्त पार गरेकी लालसरी देउवा ०२४ मा त्यहाँ पुगेकी हुन् । उनलाई सम्झना छ, बर्खामा धान अनि हिउँदमा गहुँ फल्थ्यो । त्यही भएर उनीहरू बसाइँ सरेर भारतसँग सीमा जोडिएको भजनी पुगिन् ।
तर, अहिले अवस्था फेरिएको छ । कैलालीको चुरे क्षेत्र र तराईमा बढ्दो वन विनास, नदीबाट ढुंगा, गिटी बालुवाको अनियन्त्रित उत्खनन्ले दक्षिणी क्षेत्रमा नदीको सतहमाथि उठेको छ । एक रात पानी पर्ने वित्तिकै बाढी खेत पस्छ । देउवा भन्छिन्, ‘डुबान त पहिले पनि हुन्थ्यो । तर पछिल्लो २०–२५ वर्षयता चाँही ह्वात्तै बाढी आएर बर्खे धान त सखापै पार्न थालेको छ ।’ कान्द्रा र मोहोना नदी दक्षिणबाट तथा पूर्वबाट पथरिया नदी, उत्तरबाट काँढा नदी आएर भरिन्छ । त्यसको दोभानमै छ दैलेखी टोल । त्यही भएर टोलका बासिन्दाले बाढीको त्रासले धान–गहुँ खेती गर्न छाडेर उखु खेती लगाए ।
कैलालीकै लम्की–चुहामा रहेको चिनी मिलले उखु खरिद गथ्र्याे । सशस्त्र द्वन्द्वसँग चिनी मिल बन्द भयो । मिल बन्द भएपछि उनीहरूको उखु खरिद गर्ने कोही भएनन् । टाढा बेच्न सकिने अवस्था भएन ।
त्यसपछि यहाँका किसानले सामूहिक रुपमा नै उखु खेती गर्न खेत अरुलाई भाडामा दिए । धनगढीसँग सीमा जोडिएको कञ्चनपुरको पुनर्वासमा चिनी मिल सञ्चालनमा आएपछि एउटा समूहले यहाँका किसानको ६ बिघा खेत भाडामा लिएको छ ।
दैलेखी टोलकी नन्दा देउवा भन्छिन्, ‘धान रोपेर के गर्नु ? बर्खाको भर हुँदैन । बगाएर लैजान्छ । आफैँ उखु लगाएर पनि नजिक बेच्ने ठाउँ छैन । त्यही भएर खेत नै भाडामा दिएका हौं’ नन्दाले भनिन्, ‘हामीले पनि उखु खेती लगाउन शुरू गरेका थियौं। यहाँ बेच्ने ठाउँ भएन, टाढा हामीले बेच्न सक्ने अवस्था भएन । त्यसपछि कन्चनपुरका किसानलाई भाडामा लगाएका छौं।’ उक्त टोलले उखु खेतीका लागि ६ बिघा जमीन भाडामा दिएको छ । जसमध्ये नन्दाको मात्रै १ बिघा छ । ‘६ जनाको परिवार छ, भाडाबाट आएको पैसाले ६–७ क्वीन्टल चामल किनेर खान्छौ,’ उनले भनिन् ।
जलवायु परिवर्तनको असर भनेर सधैंभरि बसिरहन मिल्दैन । हामीले जलवायु अनुसारकै विभिन्न प्रविधि विकास गर्नुपर्छ ।
किसानले वार्षिक प्रतिविघा ३० देखि ४० हजार रुपैयाँमा भाडावापत दिन्छन्। टोलकै गगन कडायत भाडाबाट उठेको पैसाबाट चामल किनेर खाने गरेको बताउँछन्। ‘बाढीले धान त हुँदै, हुँदैन । गहुँ मात्र लगाएर खान पुग्दैन,’ उनले भने, ‘त्यही भएर भाडामा दिएका हौं ।’
उखु बिक्न छोडेपछि दैलेखी टोलका डिल्लीबहादुर देउवाले चैतेधान लगाउने प्रयास नगरेका होइनन् । तर, उनले सोचे जस्तो चैत धानखेती गर्न पनि सहज नहुने बताए । ‘चैत–वैशाखमा त खेत सुक्खा हुन्छ, धानका लागि पानी पुग्दैन’ उनी भन्छन्, ‘सिंचाइको सुविधा छैन, बोरिङ लगाउँदा लागत धेरै पर्छ ।’
राप्ती खोलासहित चार वटा नदीको संगमस्थल भएकाले सबै भन्दाबढी डुबान हुने क्षेत्र बर्दुवाफाँटाँ नै रहेको वडाध्यक्ष विक्रम चौधरी बताउँछन् । ‘सामुहिक उखु खेतीका लागि कृषि ज्ञान केन्द्रसँग परामर्श भइरहेको छ । उखु र लिप्टिस खेती गर्नेबारे सोचिरहेका छौं’ उनी भन्छन् ।
जलवायुको असर कृषिमा झनै छ : सहप्राध्यापक डा. विनोद दवाडी
जलवायु विज्ञान केन्द्रिय विभाग, त्रिवि
एक–दुई वर्षको समस्या भए जलवायु परिवर्तनसँग जोडेर हेर्न मिल्दैन । जलवायु परिवर्तन भनेको हिजो जति तापक्रम थियो, आज त्यति नै, हिजो जति पानी परेको थियो, आज त्यति हुन्छ भन्ने कुरा होइन । सधैं सब्सिच्युट भइराख्ने कुरा हुन् । त्यसकारण कुनै निश्चित ठाउँको समस्या एक दुई वर्षमा भएको हो भने त्यो चाँही जलवायु परिवर्तनसँग जोड्न मिल्दैन ।
यदि १५–२० वर्षदेखि यसै किसिमका क्रियाकलाप भइराखेका छन्, भने चाँही जलवायु परिवर्तनसँग जोडेर हेर्न मिल्छ ।
हाम्रो सन्दर्भमा नार्कले कुनै ठाउँको लागि धानको बिउ सिफारिस ग¥यो भने त्यो ठाउँमा अनपेक्षित रुपमा धेरै गर्मी भयो, वा धेरै जाडो भयो भने, नपर्ने समयमा धेरै पानी पर्यो भने, चाहेको बेला पानी परिदिएन भने कृषिमा, धानको बिउले काम गरिदिँदैन ।
जलवायु परिवर्तनको असर निश्चत एकै ठाउँमा सानो क्षेत्रमा मात्रै पर्दैन । किनभने तापक्रम र पानी त त्यो वरिपरि सबै ठाउँमा एकै किसिमको हुन्छ होला । त्यसको नजिक भएका अरू क्षेत्रमा पनि यसै किसिमका क्रियाकलाप भइराखेका छन् भने त्यसलाई जलवायु परिवर्तनसँग जोड्न मिल्छ । एउटा सानो क्षेत्रमा मात्रै त्यो समस्या हो भने त्यसलाई जलवायु परिवर्तनसँग जोडेर हेर्न मिल्दैन ।
पछिल्लो समय वर्षाको चरित्रमा परिवर्तन आएको छ । हाम्रो तापक्रम बढिराखेको छ । बर्खा सिजन भनेको ४ महिना पानी पथ्र्यो, घटेको छ ।
पछिल्लो समय सामान्य रुपमा मौसम हेर्दा तापक्रम बढ्न थाल्यो एकदमै तातो हुने, घट्न थाल्यो भने एकदमै चिसो हुने भइराखेको छ । हाम्रो यहाँ मात्रै होइन, ग्लोबली पनि त्यस्तो भइराखेको छ । अस्ती कार्तिकमा हिमपहिरो गयो । ग्लोबली हेर्दा जलवायु परिवर्तनको असर एकदमै देखिन्छ । विश्वव्यापी हेर्दा जलवायु परिर्वतनको असर कृषिमा झनै परेको देखिन्छ ।
धानको कुरा गर्दा हाम्रो सन्दर्भमा नार्कले कुनै ठाउँको लागि धानको बिउ सिफारिस ग¥यो भने त्यो ठाउँमा अनपेक्षित रुपमा धेरै गर्मी भयो, वा धेरै जाडो भयो भने, नपर्ने समयमा धेरै पानी पर्यो भने, चाहेको बेला पानी परिदिएन भने कृषिमा, धानको बिउले काम गरिदिँदैन । उत्पादन राम्रो दिँदैन । यसका लागि जलवायु मापन केन्द्रहरु बढाउनु पर्यो । तराई मात्रै भनेर हैन, पहाड मात्रै भनेर हैन, तराईको पनि कुन ठाउँ, पहाडको पनि कुन ठाउँ भनेर हरेक ठाउँमा माइक्रो क्लाइमेट हेर्ने गरी केन्द्रहरु बढाउनु पर्छ ।
जलवायु मापन केन्द्र जति बढी राख्यो, त्यति सहज हुन्छ । त्यो किनभने भने यति तापक्रमदेखि यतिसम्म यस्तो वस्तुको उत्पादन राम्रो हुन्छ भनेको वस्तु ल्याएर त्यो ठाउँमा लाउनसके पो राम्रो उत्पादन दिन्छ ।
जलवायु परिवर्तन अनपेक्षित छ, त्यसले ‘फ्लावरि प्याटर्न’ जस्तै, कृषिमा फुल फुल्ने, परागसेचन प्रक्रिया अवरुद्ध हुने, फल लाग्ने अवस्थामा राम्रो उत्पादन नदिने अवस्था जलवायु परिवर्तनले ल्याउन सक्छ । जलवायु एक ठाउँका नभइकनै ग्लोबल कुरा हो ।
बर्खामा बाढीका कारण किसानले धान नै भित्र्याउन नपाउने अवस्था छ । तर, चैतेधान बर्खा अघि नै पाकिसक्ने भएकाले बाढीको पीर हुँदैन ।
अहिले भारतको हरियाणाका उद्योगहरुबाट निस्क्ने उद्योगहरुको पोलुसन पार्टिकिल्सहरु नेपाल हुँदै, हिमाल पार गरेर तिब्बतसम्मै पुग्यो भन्छन् । ग्लोबली हेर्दाखेरी हाम्रो यहाँ एकदमै सानो मात्रै प्रदुषण उत्पादन हुन्छ । तर, त्यो हामीले मिनिमाइज गर्न चाहेर गर्न सक्ने अवस्था छैन । कसरी हुन्छ वनजंगल हरियाली बनाएर हुन्छ कि? कसरी हुन्छ त्यसलाई एडब गर्नुपर्छ । आएको पोलुसनलाई केही कम गर्न सक्छ । पेलुसनको असर कम गर्न सक्छ । आफ्नो लेबलमा जति हुन्छ, कार्बन उत्सर्जन गर्ने चीजहरुलाई कम गर्नतिर लाग्नुपर्छ । हामीले अलि ठुलो लेबलमा गर्नसक्ने भनेको हरियाली बढाउने नै हो ।
प्रविधि निर्माणमा जुट्नुपर्छ : मिलन सुवेदी
उपप्राध्यापक, त्रिवि कृषि तथा पशु विज्ञान संस्थान
पहिले असार–साउनमा वर्षाको सिजन शुरू हुन्थ्यो । अहिले त्यो बेला पानी पर्न छाडेको छ । अहिले अतिवृष्टि, अनावृष्टि भइरहेको अवस्था छ । कहिले त पानी नै पर्दैन । परे पनि एकैपटक धेरै वर्षा हुन्छ । जलवायु परिवर्तनले कृषिमा असर गरिरहेको छ । कैलालीको भजनी त्यसैको एउटा उदाहरण हो ।
तर, जलवायु परिवर्तनको असर भनेर सधैंभरि बसिरहन मिल्दैन । किनभने हामीले जलवायु अनुसारकै विभिन्न प्रविधि विकास गर्नुपर्छ । किसानलाई कुन समयमा कसरी धान लगाउने भन्ने कुरा जलवायु सम्बन्धित रेडियो प्रसारण प्रभावकारी बनाउने, हाम्रा क्रियाकलापलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि टिकाउन जरुरी छ । एउटा उदाहरणका रुपमा चीनलाई हेर्न सकिन्छ । उनीहरुको समुद्र किनारमा नुनिलो पानी हुन्छ । नुनिलो पानीमा त धान राम्रो हुँदैन । तर, उनीहरुले त्यसका लागि भेरायटी विकास गर्दैछन् । चीनको लागि त्यो उत्पादकत्व साह्रै कम हो । तर, धान फल्दै नफल्ने ठाउँमा अलिअलि मात्रै उत्पादन भए पनि राम्रो हुन्छ भनेर उनीहरु प्रविधि निर्माण तर्फ जुटेका छन् । हाम्रो उत्पादकत्व त उनीहरुको तुलनामा धेरै नै कम हो । यसरी नै धेरै पानी पर्ने ठाउँमा अग्लो अग्लो धानका जात रोप्ने हो कि, अथवा धान रोप्ने समय अलि अगाडि सार्ने, अलि पछाडि सार्ने किसिमको बनाउने हो कि? प्रविधि बढाउन जरुरी छ । यो जलवायु परिवर्तनले गर्दा हो भनेर पञ्छिन चाँही मिल्दैन ।
भजनीको केसमा कस्तो सिच्युएसन छ? नदीभन्दा कति नजिक, कति टाढा त्यस्तो भइरहेको छ ? के कारणले डुबान भइरहेको छ? तटबन्धको आवश्यकता छ कि छैन? ती कुराहरुको अध्ययन गर्नुपर्छ । अध्ययन गरेर त्यही अनुसार समस्या सामाधान गर्नतिर लाग्नुपर्छ । अध्ययन गरेर खोला भन्दा यति नजिकसम्म एक बाली मात्रै लगाऔं, अथवा कुनै किसिमको खोलाले नबगाउने रूख रोप्ने हो कि ? फलफूल खेती गर्ने हो कि खोलाको किनारै किनारमा ? वा अलि बढी लगानी गरेर तटबन्ध निर्माण गर्न सकिन्छ कि ? पानी निकासको राम्रो व्यवस्था गर्ने हो कि ? लगायतका अध्ययन गर्नुपर्छ । प्रविधि निर्माण अनिवार्य भइसकेको छ । कृषिका प्राविधिक भनौं वा नीति निर्माताले जलवायु परिवर्तनका कारणले यस्तो अवस्था आउनु स्वभाविकै हो भनेर पञ्छिन मिल्दैन । प्रविधि निर्माणमा जुट्नैपर्छ ।
चैते धानले खाद्य सुरक्षामा टेवा पुर्याउँछ : रामकृष्ण श्रेष्ठ
प्रमुख बाली विकास तथा कृषि जैविक विविधा संरक्षण केन्द्र
सिंचाइकोे सुविधा भएको ठाउँमा वर्षमा दुईपटक धान बालीको सम्भावना रहन्छ । चैतेधानले खाद्य सुरक्षामा मद्दत गर्छ ।
चैतेधान खेती विषेशगरी बाढी प्रभावित क्षेत्रका लागि लाभदायिक छ । बर्खामा बाढीका कारण किसानले धान नै भित्र्याउन नपाउने अवस्था छ । तर, चैतेधान बर्खा अघि नै पाकिसक्ने भएकाले बाढीको पीर हुँदैन । हामीले बाढी प्रभावित क्षेत्रमा फोकस गरेर चैते धानखेतीलाई विस्तारको लक्ष्य लिएका छौं । स्थानीय तहसँग समन्वय गरेर चैते धानखेतीको बारेमा आवश्यक सहयोग गरिरहेका छौं ।
{नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को डेभलपमेन्ट रिपोर्टिङ फेलोसिप’ अन्तर्गत तयार गरिएको यस सामग्रीको अर्को भाग चाँडै प्रकाशित गरिनेछ ।